arrow

सिक्टाको नहरमा बाख्रा चर्दै

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
KRS_Bake_061919_SiktaNahar(3).JPG

बाँके । निर्माण  शुरु भएको करिब १५ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको सिक्टा सिँचाइ आयोजनाको नहर पछिल्लो समयमा बाख्रा चरण क्षेत्रका रुपमा परिणत ।

आयोजनाको कामले सोचेअनुरुप गति लिन नसक्दा बाँकेका किसानलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भएको छ । 

कृषि उत्पादन वृद्वि गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजनाको (दायाँ) (४५ किमी लम्बाइ) निर्माण भए पनि मूल नहर सञ्चालन नगरिएका कारण उक्त भेगका किसान सिँचाइका लागि सधै आकासतर्फ हेर्न बाध्य छन् । आयोजनाको (बायाँ) तर्फको ५४ किमी लम्बाइका साथै सिक्टाको कूल लम्बाइ ९९ किमी छ । दुबैतर्फको सिँचाइ आयोजना सञ्चालनमा ढिलाइ भएकाले राज्यले वार्षिक रु एक अर्ब १५ करोड ३१ लाख ९३ हजार २२० घाटा व्यहोर्नुपरेको छ । 

पैँतालिस किमी लम्बाइको नहरको दुई स्थानमा प्राविधिक त्रुटी, ठेकेदारको लापरवाही र सरकारको फितलो अनुगमनका कारण मूल नहर सञ्चालन अगाबै लगभग २५ मिटर क्षेत्रफल भत्किएकाले नहर सञ्चालनमा ढिलाइ भएको सम्बद्ध किसान बताउँछन् । त्यसैगरी आयोजनास्थलबाट करीब २५ किमी मुनि बालापुर आसपासको तीन किमी क्षेत्रमा घुलनशील माटोका कारण नहरलाई असर पुग्ने प्राविधकको भनाइ छ । त्यस्तो माटो भएका स्थानलाई बलियो बनाउन जिपसम (क्याल्सियम) मिसावट गरेर कम्प्याक गरी पुनःनिर्माण गर्नुपर्ने बताइन्छ । 

पछिल्लो पटक खेतबारी बाँझिएकाले अन्नको आयात ह्वात्तै बढेको छ । राज्यले प्रतिवर्ष रु २४ अर्बको चामल आयात गर्छ तर सिँचाइ क्षेत्रको सर्वाधिक चर्चामा रहेको बहुप्रतिक्षित राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणमा ढिलासुस्ती र नहर सञ्चालनमा विभिन्न निकायका अलग÷अलग बहानाबाजीले कृषि क्षेत्रको दिगो विकासमा अङ्कुश लागेको छ । राज्यले आगामी पाँच वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी पाँच वर्षपछि नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । अहिले धानको सरदर उत्पादन वार्षिक ५२ लाख मेट्रिक टन छ । नेपालीको मुख्य खाना भात हो । 

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सिँचाइ आयोजना शुरु गरिएको हो । अगैयाबाट (दायाँ) कोहलपुर र नेपालगञ्ज नगरपालिकालगायत साविक ३४ गाविस र (बायाँतर्फ बिनौना, फत्तेपुर, गङ्गापुर, मटेहिया, नरैनापुर, कटकुईया, कालाफाँटा, बैजापुर र लक्ष्मणपुर गरी नौ साविक गाविस पर्छन् । 

सिँचाइ सुविधा नपुग्दा बाँकेवासीको सरदर प्रतिव्यक्ति आम्दानी रु एक हजार ४९२ छ । जमीनमा सिँचाइ पुग्दा प्रतिव्यक्ति आम्दानी रु दुई हजार ५६५ पुग्नुका साथै बाँझो जमीन पुनःप्रयोगमा समेत आउछ । यहाँका ४६ हजार ७१५ घरधुरीका चार लाख ४९ हजार ५८८ जनसङ्ख्याको जीवनको आधार कृषि हो । 

यो आयोजना प्रदेश नं ५ अन्तर्गतको बाँके जिल्लामा निर्माण भइरहेको छ । अन्नको भण्डार नामले परिचित बाँके उर्वरभूमि हो । उत्पादनका लागि पानी प्रमुख र अपरिहार्य वस्तु मानिन्छ । कृषि प्राविधकका अनुसार सिँचाइ सुविधा पुगेको जमीनमा उत्पादन दोव्वर हुन्छ । 



नयाँ