arrow

कर्मशील हातहरु: सङ्घर्षबाट खारिएका महिलाहरु

साइकलबाटै अहिले दिनमा रु ४-५ सय कमाइ हुन्छ सोमियाको

logo
नारायण ढुँगाना
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Working_hand.jpg.jpeg
रत्ननगर (चितवन)। पञ्चर टाल्नका लागि साइकलको चक्का र टायरको जोरमा फलामको अङ्कुशे घुसाएर टिउ निकाल्दै हुनुहुन्छ मेघौलीकी सोमिया चौधरी । कुनै पुरुष साइकल मिस्त्रीभन्दा कम हुनुहुन्न । पश्चिम चितवनको मेघौलीस्थित पिपरा गाउँकी ३५ वर्षीया सोमिया चौधरीलाई अहिले भ्याइनभ्याई छ । प्रहरी तथा स्थानीय गाउँलेका साइकल मर्मतमा उहाँ सक्रिय हुनुहुन्छ । 
 
तीन वर्षदेखि गाउँमा साइकल मर्मत गर्ने नमुना काममा लाग्ने उहाँ पहिलो महिला हुनुहुन्छ । श्रीमान्लाई समेत उहाँले साइकल बनाउन सिकाउनुभयो ।“सुरु सुरुमा यो काम गर्दा महिलाले नै छि छि कालो लाग्ने काम गरेको भनेर जिस्काए, अहिले उनै महिला मेरो काम देखेर खुसी हुन्छन्, साइकल बनाइदिनु पर्‍यो भन्दै आउँछन्,” सोमियाले भन्नुभयो । 
 
मेघौलीको जीतपुर बजारमा उहाँले साइकल बनाउने काम सिक्नुभयो । साइकलबाटै अहिले दिनमा रु ४-५ सय कमाइ हुन्छ सोमियाको । केयर नेपालको सहयोगमा कालिका सामुदायिक महिला विकास केन्द्रमार्फत बनेको ‘सक्षम कार्यक्रम’ले उहाँलाई साइकल बनाउन सक्षम बनाएको हो । 
 
सक्षम कार्यक्रमकी फिल्ड अधिकृत सरस्वती अधिकारीले श्रीमान्लाई समेत साइकल बनाउन सिकाएर गाउँमै नमुना महिलाको रुपमा सोमियाले पहिचान बनाएको जानकारी दिनुभयो । अहिले उहाँ सिर्जना महिला छलफल केन्द्रकी सदस्य हुनुहुन्छ । महिनामा रु २० बचत गर्ने गरिएको छ । समूहबाट रु १० हजार ऋण लिएर उहाँले साइकल पसलमा र्‍याक थप्नुभयो । 
 
रु चार हजारमा केही अपुग सामान थपियो । सिकेको बेलामा एकसरो मर्मतका सामान रिङ, टायर, तार, रेन्ची, निप्पल, धुरालगायत संस्थाले नै दिएको उहाँको भनाइ छ । 
 
सुरुमा दुई महिनाको सामान्य तालिम र पछि फेरि दुई महिनाको विशेष तालिम लिएपछि साइकल बनाउन पोख्त हुनुभएकी सोमियाले भन्नुभयो – “म जस्तोसुकै बिग्रिएको साइकल पनि बनाउन सक्छु । अझ अहिले त श्रीमान्लाई समेत सिकाइसकेकी छु ।” आफूलाई श्रीमान्ले पनि सघाउने उहाँले भनाइ छ । 
 
“पहिले महिलाले कालो हात बनाउनभन्दा घरमै बसेको ठीक भनेर कति गिल्ली गर्थे, केटाले जिस्काउँथे, अहिले सबै राम्रो भन्छन्,” उहाँले विगत सम्झँदै भन्नुभयो । 
 
बाटोमा साइकल बिग्रिएर डोर्‍याउँदै हिँडेको मान्छे देखिए बोलाएरै उहाँ साइकल टालिदिने गर्नुहुन्छ । उहाँ मोटरसाइकलको पञ्चर समेत टाल्न सक्ने बन्नुभएको छ । 
 
आएको आम्दानीमध्ये उहाँले साना किसानमा मासिक रु २००, अर्को सहकारीमा रु २०० र विभिन्न समूहमा रु १०० गरी मासिक रु ५०० बचत गर्ने गर्नुहुन्छ । साइकल बनाउन लिएको ऋणसमेत तिरिसकिएको छ । स्थानीय शिला परियार यस्ता केही गर्छु भन्ने महिलाका लागि यहाँ अवसर भएको बताउनुहुन्छ । सोमियाको पौरखलाई अहिले सबैले प्रशंसा गर्ने गरेको परियारले बताउनुभयो । 
 
सोमिया जस्तै सङ्घर्ष गरेर सफलता पाउनेमा ३८ वर्षीया जितरानी थरुनी (महतो) पनि हुनुहुन्छ । नारायणी नगरपालिका–२ की जितरानीका सुरुका कथा सम्झँदा आँसु चुहिन्छ । छोटो कुराकानीमै उहाँ भक्कानिनुभयो । 
 
बिहे भएको केही वर्षमै परिवारले घरबाट निकाली दिए । उहाँलाई केही समय केराघारीमा बस्नुपर्‍यो । पछि माइतीबाट समेत साथ नपाएपछि अर्काको घरमा आश्रित भएर ज्याला मजदुरी गर्न पुग्नुभयो । फेरि आफ्नो पुख्र्याैली क्षेत्रमा फर्किएर उहाँको पुनः सङ्घर्ष सुरु भयो । “गाउँमा खुलेको शान्ति महिला छलफल केन्द्रले मेरो जीवन नै परिवर्तन गरिदियो,” जितरानीले भन्नुभयो – “अहिले भने टेलर गरेर आफ्नो परिवार सजिलै पाल्न सक्ने भएकी छु ।” 
 
कालिका संस्थामार्फत खुलेको छलफल केन्द्रले उहाँलाई सिलाइकटाइ सिकायो । बोल्न र अधिकारको कुरा गर्न सिकायो । 
 
सुरुसुरुमा हँसियाले काटेर भोटा सिउने अनुभव थियो जितरानीसँगै । त्यही अनुभवले तीन महिनामा सिलाइकटाइ सिक्न गाह्रो नभएको उहाँको प्रतिक्रिया छ । अहिले तीन वटा कल घरमा राख्नु भएको छ । लक मेसिन पनि छ । “गाउँलेको कपडा सिलाउन भ्याइनभ्याई छ,” जितरानीले सन्तोष मान्दै भन्नुभयो – “दुःखका दिन गएजस्तो लाग्छ अहिले ।” 
 
फरक जीवन कथा भए पनि उस्तै सङ्घर्ष भोग्नुभएको छ मेघौली जीतपुरकी मीना बोटले पनि । विपन्न परिवारकी बोटलाई केही वर्ष अघिसम्म अरुसँग राम्ररी बोल्न आउँदैनथ्यो । 
 
विसं २०६८ मा नमुना महिला छलफल केन्द्र गठन भयो । डराइडराई सो केन्द्रमा पुग्नुभएकी मीना अहिले गाउँकी अगुवा महिला भएर निस्कनुभएको छ । उहाँ अहिले बाटो ग्राभेल उपभोक्ता समितिमा सचिव, मेसजाली उपभोक्ता समितिमा सदस्य, शौचालय व्यवस्थापन समितिमा कोषाध्यक्ष, जनजाति महासङ्घमा सदस्य र महिला सञ्जालमा सदस्य हुनुहुन्छ । 
 
सरकारी कार्यालयमा कहाँकहाँ र कसरी बजेट आउँछ भनेर पनि आफूले पूर्ण जानकारी राख्ने गरेको उहाँले बताउनुभयो । यसरी गाउँमा छलफल केन्द्रकै माध्यमबाट आठ वटा समूहमा मेघौलीका १८३ महिला सङ्गठित भएका छन् । अधिकांशका जीवनमा सङ्घर्ष पछिको सफलता देख्न सकिन्छ । 
 
विपन्नमध्येका पनि अतिविपन्नलाई छानेर सुरु गरिएको सक्षम कार्यक्रम प्रभावकारी भएको देख्दा खुसी लाग्ने कार्यक्रमकी फिल्ड अधिकृत सरस्वती अधिकारी बताउनुहुन्छ । 
 
ती महिला हरेक समूहमा बचतसमेत सङ्कलन गरेर आइपरेका समस्या आफैँ समाधान गर्न र ऋण लगानी गर्नसमेत सक्षम छन् । रासस 



नयाँ