arrow

को होला पौडेल पक्षको उम्मेदवार ?

सिंह र महतलाई “साईज”मा राखिरहन पनि उम्मेदवार बनाउन नहुने

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
NC-leader.jpg.jpeg
काठमाडौं । आगामी तेस्रो हप्तामा हुने नेपाली काँग्रेसको संसदीय दलको नेताको निर्वाचनमा दुई पक्षका विचमा सहमति हुने संभावना न्युन रहेकाले दुई जना उम्मेदवार हुने संकेत देखिएको छ । 
 
यसअघि पनि पटक पटक संसदीय दलको नेताको निर्वाचनमा पराजित हुदै आएका पार्टीका सभापति शेरबहादुर देउवा यस पटक पनि आफ्नो पक्षको निर्विकल्प उम्मेदवार देखिएका छन् भने पौडेल पक्षको उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । 
 
पौडेल पक्षका प्रकाशमान सिंह, डा. रामशरण महत लगायतका केही नेताहरु पौडेल पक्षबाट संसदीय दलको नेताको उम्मेदवार आफु हुन पाउनु पर्ने दावी गर्दैै आईरहेकाले उम्मेदवारको टुङ्गो लाग्न नसकेको हो । 
 
पौडेल पक्षका नेता डा. महतले दुई पक्षका विचमा सहमति नभएको अवस्थामा पौडेल पक्षबाट पौडेल वाहेक अन्य कोही उम्मेदवार हुन सक्ने स्पष्ट पारे । उनले भने “सहमति नहुने भएपछि पौडेलजी नै उम्मेदवार बन्नुहुन्छ भन्ने छैन, उहाँ वाहेक अरु नै कोही उम्मेदवार हुन सक्छ ।” उनले घुमाउरो तरिकाले आफु पनि उम्मेदवार हुन चाहेको बताए । 
 
पौडेल पक्षकै अर्का नेता प्रकाशमान सिंहले पनि आफु संसदीय दलको उपनेता भईसकेकाले अव आफ्नो पालो भएको तर्क गरेका छन् । उनले पौडेलजीका नाममा सहमती हुन्छ भने ठिकै छ, होईन भने म उम्मेदवार हुन पाउनु पर्दछ भन्दै पौडेल पक्षका प्रभावशाली नेताहरुसंग छलफल गरिरहेका छन् । 
 
तर नेता पौडेल भने अहिले सम्म पनि आफ्नै नाउमा सहमती गराउने कसरतमा लागिरहेका छन् । उनले आफ्नो नाममा सहमति जुटाउनका लागि छलफल गर्न भन्दै हिजो सिंह र महतलाई देउवा निवास बुढानिलकण्ठमा पठाएका थिए । 
 
बुढानिलकण्ठमा जानु अघि सिंह र महत दुवैले पौडेलसंग सहमति नभएमा आफु संसदीय दलको नेताको उम्मेदवार बन्न पाउनु पने शर्त राखेको श्रोतले जनाएको छ । उनीहरुको शर्तका बारेमा पछि छलफल गर्ने भन्दै पौडेलले दुवै जनालाई देउवासंग छलफल गर्न पठाएका थिए । देउवासंग भएको छलफल उत्साहजनक नभएपछि पौडेलले अहिले सहमती नभएमा संसदीय दलको नेताको उम्मेदवार आफै बन्ने की सिंह र महत मध्ये कसैलाई बनाउने भन्ने बारेमा आफ्ना घनिष्टहरुसंग परामर्श गरिरहेका छन् । 
 
पौडेललाई सुझाव दिनेहरुले प्रधानमन्त्रीको निर्वाचनमा १८ पटक हारेको र केहीदिन पहिले पार्टीको सभापतिमा हारेकाले पराजयबाट डराउन नहुने भन्दै आफै उम्मेदवार बन्नु पर्ने तर्क गरेका छन् । सिंह र महतलाई “साईज”मा राखिरहन पनि उनीहरुलाई उम्मेदवार बनाउन नहुने पौडेलका सुवेच्छुकहरुको सुझाव छ । निर्वाचनमा उम्मेदवारी दिएपछि हुने आन्तरिक चलखेलले परिणाम आफ्नो पक्षमा पनि आउन सक्ने संभावना रहने उनीहरुको झिनो आशा छ । केही गरी पराजित नै भएपनि आफ्नो नेतृत्व र राजनितिक उचाई थप हुने भन्दै पछाडी नहड्न पौडेललाई दवाव परेको छ । 
 
सुवेच्छुकहरुको सुझावका आधारमा नेता पौडेलले उम्मेदवारी दिने बेला सम्म आफ्नै नाममा सहमतिको प्रयास गरिरहने र सहमति नभएमा आफैले उम्मेदवारी दिने संभावना रहेको पौडेल निकट एक नेताले जानकारी दिए । 
 
दोस्रो संविधान सभाको निर्वाचनपछि काँग्रेस संसदीय दलको नेतामा निर्वाचित सुशिल कोईरालाको निधन भएकाले काँग्रेसमा अहिले संसदीय दलको निर्वाचन गर्न लागिएको हो । 
 
२०७० साल माघ १२ गते आइतबार भएको निर्वाचनमा कांग्रेस सांसदहरुको १९४ मतमा कोइरालाले १०५ मत ल्याएका थिए । उनका प्रतिष्पर्धी शेरबहादुर देउवाले ८९ मत ल्याएका थिए । व्यवस्थापिका संसदको आधिकारीक वेभसाईटका अनुसार काँग्रेसका अहिले १ सय ९८ जना सांसद रहेका छन् । ति मध्ये १ सय ६ जना प्रत्यक्ष निर्वाचित सांसद हुन भने ९२ जना समानुपातिक तर्फबाट भएका सांसद हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ