arrow

हरिनाशको चिसापानीमा घरघरमा धारा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार ७ शनिबार
harinas-khanepani.jpg

स्याङ्जा। कुनै बेला हरिनाश गाउँपालिका ३ चिसापानीकी जमुना शर्माले खानेपानी लिनका लागि धेरै टाढा जानु पर्ने अवस्था थियो। खानेपानीका लागि मिर्मीरेमा उठेर कुवा सम्म पुगेर पानी ल्याउदा घण्टौ समय लाग्ने गथ्र्यो शर्मालाई। तर अहिले घरमै पानी आएपछि शर्मा विगत विर्षेर खुशी भएकी छन्।

“पहिले पहिले पानीको लागि एक घण्टा लगाएर कुवा, खोल्सा र सार्वजनिक धारामा धाउनुपथ्र्यो।” उनले भनिन्, “अहिले घर–घरमै धारा भएपछि घरको काममा समेत सहज भएको छ।” सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३ चिसापानीका स्थानीयले अब भने मुक्ति पाएका छन्। ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत गाउँमा सबैका घर–घरमा धारा जडान भएपछि स्थानीयलाई  खानीपानी सहज भएको छ।

शर्मा जस्तै अर्का सोमनाथ लम्साल पनि घर—घरमा धारा आएपछि खुशी भएका छन्। गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा धारा जडान गरिएपछि खानेपानीको सहजता भएको हो। खानीपानी घर–घरमा धारा जडान भएपछि स्थानीयले सरसफाइदेखि करेसाबारीसम्म पानीको प्रयोग गरेका छन्। “पानीको लागि खर्च गर्ने समयमा वचत हुँदा अन्य काम गर्न पनि सहज भएको छ स्थानीय लम्सालले भने, “घर–घरमा पानी आएपछि स्थानीयले अहिले सरसफाइ मात्र नभएर तरकारीसमेत लगाउन थालेका छन्।” घरमै पानी आउँदा अन्य काम गर्न समय अभाब नभएको लम्सालले अनुभव सुनाए। 

गाउँपालिकाको ३२ लाख तथा परियोजनाको ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको जनश्रमदानमा गरी १ करोड २६ लाखको लागतमा निर्माण भएको हो। योजनामा सम्पन्न गर्नमा स्थानीयले ९३ दिन जनश्रमदान गरेका हुन्। चिसापानीका २ सय २ घरधुरीका १ हजार १ सय ५८ जनसंख्या पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिकाले जनाएको छ।

चिसापानीबाट झण्डै ६ किलोमिटर टाढा रिपसुंवारा मूलबाट पानी ल्याएर चार टयाङ्की र चार च्याम्बरको सहायताले प्रत्येक घरमा पानीको धारा जडान गरिएको हो। स्थानीय कालिका प्राथमिक विद्यालय र वडा कार्यालयमा समेत सो पानी जडान गरिएको छ। आकाशे पानीको भरमा बाचेका यहाँका स्थानीय घर—घरमा पानीको व्यवस्था भएपछि खुशी देखिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ