arrow

केबी गुरुङको असन्तुष्टी र असन्तुष्टहरुको घेरावन्दीमा देउवा

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
deuba-gurung.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाकालागि आगामी दिनहरु चुनौतीले भरिएका छन् भन्ने त उनलाई थाहै थियो होला तर आफैलाई सहयोग गरेका काँग्रेसका पाका नेताको असन्तुष्टीबाट शुरु हुन्छ भनेर आंकलन सायद गरेका थिएनन्। 
 
धेरै लामो समय नेपाली काँग्रेसको राजनिती गरेर महामन्त्रीसम्म भइसकेका कुल बहादुर गुरुङको असन्तुष्टी सार्वजनिक भएको छ। सभापति जिताउन सहयोग गरेका ८० बर्षिय गुरुङलाई बरिष्ठ नेताको पदवी नदिने कुरा थाहा पाएपछि गुरुङले आफ्नो असन्तुष्टी सार्वजनिक गरेका हुन्। आफ्ना निकट नेता कार्यकर्ता एवं केही सञ्चारकर्मी सामु उनले असन्तुष्टी पोखेका हुन्। तत्कालिन संस्थापन पक्षबाट देउवा समुहमा आफ्ना विश्वासिला पात्रहरुसँग सभापतिमा देउवालाई सहयोग गर्न क्याम्प फेरेका आफ्नो समुहसँग देउवाले सहमती तोड्न सक्ने सुचना पाएपछि आफ्नो असन्तुष्टी सार्वजनिक गरेका हुन्।
 
देउवाले गुरुङ नजिक केही नेतालाई केन्द्रिय सदस्यमा मनोनित गर्ने र गुरुङलाई बरिष्ठ नेता दिने मौखिक सहमति भएकोमा सभापति भैसकेपछि पार्टी मिलाउने नाममा देउवाले रामचन्द्र पौडेललाई बरिष्ठ नेता बनाउने संकेत गरेका छन्। 
 
पदाधिकारीमा पराजित भएका ६ जना र नरहरी आचार्यलाई केन्द्रिय सदस्यमा मनोनित गरिसकेका देउवाले अब बाँकी केन्द्रिय सदस्य मनोनित गर्न बाँकी रहेको छ। आफुलाई महाधिवेशनमा सहयोग गर्नेलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने सपना धेरैलाई बाँडेकोमा निर्वाचित भैसकेपछि आफ्नो ति प्रतिबद्धता बिस्तारै देउवालाई अफ्ठ्यारोमा पार्ने उनी निकट एक नेताले बताएका छन्। 
 
पौडेललाई मनाउनु पर्ने सबैभन्दा ठुलो चुनौती रहेको र अर्कोतिर कोईराला क्याम्पका शेखर कोईरालासँग पनि केहि सम्झौता भएकोले भाग पुर्‍याउन देउवालाई हम्मे परेको पनि ती नेताले बताएका छन्। 
 
संसदिय दलको नेतामा पौडेलले दाबी गरेपछि उनलाई मिलाउन देउवाले राम्रै कसरत गरिरहेको तर पौडेल नमान्ने अडानमा रहेको स्थितीमा संसदिय दलको नेताको निर्वाचन हुने निश्चित प्राय रहेको छ। पौडेललाई संसदिय दलको नेता बनाउन काँग्रेस नेता रामशरण महत, प्रकाशमान सिंहले देउवालाई आग्रह गरेका छन्। 
 
सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गरेका हुन्। पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो। उनिहरुको आग्रहलाई सभापति देउवाले सकारात्मक रुपमा लिँदै साथीहरुसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिएका देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। काँग्रेसको संसदीय दलको निर्वाचन यही महिनाको तेस्रो हप्ता गर्ने तयारी छ। 
 
केबी गुरुङको असन्तुष्टीबाट शुरु भएको यात्रा संभवत: निरन्तर रहने काँग्रेसलाई नजिकबाट हेरिरहेका राजनितीक बिश्लेसकहरुको बुझाई रहेको छ। लामो समयदेखि पार्टी भित्र प्रतिपक्षको भुमिका निभाईरहेका देउवाले असन्तुष्टहरुको ठूलो समुह तयार पारेका थिए। अब आफ्नै समुहलाई सन्तुष्ट पार्ने चुनौती एकातिर रहेको छ भने अर्कोतिर पुरानो संस्थापनलाई मिलाएर लिएर जानु पर्ने समस्या रहेको छ। देउवालाइ सभापति भए सब मिलाउँछु भन्ने लागे पनि त्यो कठीन भएको संकेत सायद पाएका छन्। उनको अगाडी देखिएका आकांक्षाको पद सानो ओढ्ने जस्तो भएको छ- मुख छोपे खुट्टा नाङ्गिने खुट्टा छोपे टाउको। 
 
अब प्रत्येक निर्णयले असन्तुष्टहरु जन्माउनेछ र ती नयाँ असन्तुष्टहरुको अर्को समुह तयार हुने छ जुन भोलि देउवाकालागि टाउको दुखाई हुने निश्चित प्राय: छ। देउवा आफैले खोलेको असन्तुष्टहरुको विद्यालयबाट धेरै दिक्षित भैसकेको स्थितीमा त्यहाँ धेरै देउवाहरु तयारी अवस्थामा रहेको आंकलन सायद शेरबहादुरले गरिसकेका होलान्। तर सबैलाई खूशी पार्नसक्नु राजनितीमा ब्यवहारिक देखिंदैन्। 
 
गिरिजा प्रसाद कोईरालाका कुनै समयका अत्यन्त विश्वासपात्र शेरबहादुर देउवा कालान्तरमा उनीसँग बिद्रोह गर्ने पुगेको ईतिहास त्यती पुरानो भैनसक्दै शेरबहादुर देउवाका कुनै विश्वासपात्र फेरि बिद्रोही भएमा सायद शेरबहादुरलाई अचम्म लाग्ने छैन्। 
 
संविधान कार्यन्वयन गराउने दायित्व पनि बोकेको नेपाली काँग्रेसले देशमा रहेका अरु समस्याहरुलाई संबोधन गर्नुपर्ने जम्मेवारी पनि रहेको छ। देशको समस्या समाधानकालागि सबैसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने चुनौतीका साथसाथै पार्टीभित्र पनि सहकार्यमा अगाडि बढ्नुपर्ने परिस्थितिजन्य वाध्यतामा देउवा छन्। सायद उनको सुझबुझ र सल्लाहकारहरुको उचित सल्लाहले गणतन्त्रको घोषणाको ऐतिहासिक केबी गुरुङको असन्तुष्टीसँगै देशले पनि निकास पाउने आस गर्न सकिन्छ। हेरौं समय बलवान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ