४ वटा प्रदेशका ट्रेड युनियन अगुवाहरु नवलपुरमा जुटे
प्रकाशित २०७६ असार २८ शनिबार
917
Shares
नवलपुर। पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता महेन्द्र ध्वज जिसीले श्रमिक पक्षीय पार्टी नै नेपाली कांग्रेस रहेको बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसले नवलपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जिसीले श्रमिकका हक हित संरक्षण गर्न विभिन्न ऎन कानुन कांग्रेस नेतृत्वकै सरकारले ल्याएको बताए। उनले भने श्रम ऎन २०४८, ट्रेड युनियन ऎन २०४९ , योगदानमा आधारित सामाजिक सुरक्षा ऎन २०७४ र श्रम ऎन २०७५ कांग्रेसले नै ल्याएको उल्लेख गर्दै कम्युनिष्ट सरकार नारा लगाउने काममा मात्र व्यस्त रहेको आरोप लगाए।
ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले वर्तमान सरकार निरंकुशतातिर अगाडि बढिरहेको बताए। उनले वर्तमान सरकार श्रमिकको संगठित हुने अधिकार, सामुहिक सौदाबाजीको अधिकार र हडतालको अधिकार कटौती गर्न खोजिरहेको उल्लेख गर्दै ट्रेड युनियन लोकतन्त्रको जग भएकोले सरकारको दिवा सपना पुरा हुन नदिन ट्रेड युनियन आन्दोलन अघी आउने बताए।
गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले श्रमिकको हक हित दिलाउन आफ्नो सहयोग हुने उल्लेख गर्दै श्रमिकमा पनि महिला श्रमिक बढी पीडित रहेकोले ट्रेड युनियन कांग्रेसले अझ काम गर्नु पर्ने बताइन।
ट्रेड युनियन कांग्रेसका उपमहासचिव राजेश पालिखेले श्रमिक हक हितका लागी ट्रेड युनियन कांग्रेस काम गरिरहेको बताए।
केन्द्रीय सदस्य बलदेव तामाङले ट्रेड युनियन कांग्रेस संगठन विस्तार, सुदृढीकरण र परिचालनमार्फत श्रमिकको हक अधिकार दिलाउन लागी परेको बताए।
कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, श्रमिक नेता काजिमान श्रेष्ठ, कारखाना श्रमिक संघका सह अध्यक्ष टेकेन्द्र पौडेल लगायतले श्रमिकका वर्तमान समस्याहरुको बारेमा बोलेका थिए।
ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष ललित श्रेष्ठको अध्यक्षतामा हुने दुई दिने कार्यक्रममा गण्डकी, २, ३ र प्रदेश ५ भरिका नेतृत्व तहका नेता कार्यकर्ताहरुलाई महासचिव योगेन्द्र कुवरले श्रम ऎन २०७५ , योगदानमा आधारित सामाजिक सुरक्षा, सामुहिक सौदाबाजी प्रक्रिया, उपमहासचिव राजेश पालिखेले औद्योगिक सम्बन्ध, न्युनतम ज्याला र केन्द्रीय सदस्य बलदेव तामाङले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाकोबारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको नवलपुर जिल्ला अध्यक्ष गङगाधर सुवेदीले जानकारी दिए।