काठमाडौं । कुखुराको मासु बेच्ने राजधानीका अधिकांश पसल यतिबेला खाली छन् । प्रायःजसो पसलमा कुखुराको मासु छैन । उपभोक्ताले १० वटा मासुपसल चहार्दा पनि मासु पाउन सकेका छैनन् ।
मासु पसलले भन्ने गरेका छन्, बजारमा कुखुरै छैन । खास कारण उनीहरुले, गत शुक्रबारदेखिको वर्षालाई दोष दिएका छन् । तर वास्तविकता त्यति मात्रै होइन ।
यस्ता छन् कारणः पहिलोः बजारमा यतिबेला सानो आकारका कुखुरा आउने गरेका थिए । यसअघि तीन केजीभन्दा बढीका समेत कुखुरा आउन थालेकोमा, गर्मी र बर्खा लागेसँगै साना कुखुरा आउन थालेका थिए ।
यसको कारण हो, गर्मीको बेला ब्रोइलस फष्टाउन, मोटाउन सक्दैन । यो बेला असाध्यै ठूलो भयो भने एउटा ब्रोइलर साढे एक केजीको हाराहारीमा हो । त्यसैले गर्मीको मौसममा व्यसायिक किसानले समेत ब्रोइलर उप्पादन घटाउँछन् । दोश्रो र सबैभन्दा ठूलो कारण हो, केही महिनाअघि हेटौंडाका फार्ममा देखिएको बर्डफ्लू । हेटौडामा बर्ड फ्लू देखिनु र काभ्रेका एकजनाको बर्ड फ्लूका कारण मृत्युभएको खबर सार्वजनिक भएपछि, किसानहरु अत्तालिए ।
बजार राम्रो नहुन्जेलसम्मका लागि भन्दै उनीहरुले कुखुरा थपेनन् । त्यसको असर बजारमा देखियो ।
तेस्रो कारण गत शुक्रबारदेखिको डरलाग्दो वर्षा । यो वर्षाले मुलुकभरका कुखुरापालक किसानलाई असर पारेको छ । बाढी र डुबानका कारण कति फार्मका कति कुखुरा मरे त्यसको सबै विवरण आउन नसकेको ब्रोइलर कुखुरा तथा उत्पादक संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ बताउँछन् ।
तर यसले ठूलो असर पारेको उनको भनाइ छ । एक त फर्महरुमा बेच्नका लागि तयार भएका कुखुरा कै अभाव छ, अर्को किसानले खासै कुखुरा थपेका छैनन् । अर्को यही बाढी र डुबानबाट किसानलाई तंग्रिन नै केही समय लाग्ने भएका कारण अबको डेढ महिनासम्म ग्राहकले कुखुराको मासु पर्याप्त पाउन नसक्ने उनको दाबी छ ।
कुखुरा बिक्रेता संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार राजधानीमा दिनमै साढे तीन लाख किलोको हाराहारीमा कुखुराको मासु खपत हुने गरेको छ । व्यवसायीहरूका अनुसार उपत्यकामा २ हजारभन्दा बढी रेस्टुराँ र फास्टफुड छन् ।
होटलको संख्या एक हजार हाराहारीमा छ । उनीहरूको मुख्य कारोबार नै कुखुराको परिकारको हो । कुखुरा अभाव हुन थालेपछि, रेष्टुराँ, फोटफुड र होटलको कारोबारमा समेत धक्का लाग्नेछ ।
नेपालमा ७ हजार बढी कृषकले कुखुरा पाल्ने गरेको तथ्यांक छ । ती फर्ममा एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।