फेरी फसे ट्रम्प, महिला सांसदमाथि रङ्गको आधारमा विभेद गरेको आरोप
प्रकाशित २०७६ असार ३० सोमबार
328
Shares
वासिङ्टन, संयुक्त राज्य अमेरिका ।आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई आफ्नो घर फर्किनसक्ने भनी ट्वीटरमार्फत आलोचना गरेका थिए ।
राष्ट्रपति ट्रम्पको भनाई अमेरिकी संसद (कङ्ग्रेस) मा प्रतिनिधित्व गर्ने सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले र इल्हान ओमरलाई सङ्केत गरी आएको सञ्चारमाध्यमहरूले लेखेका छन् । ट्वीटमा ती सांसदको नाम भने उल्लेख गरिएको छैन ।
कोर्टेज, तलाइब, प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् भने सांसद ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेका थिए ।
राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए ।
प्रगतिशील धार (लिवरल डेमोक्रेट्स) का ती चार महिला सांसदसँग सभामुख पेलोसीको सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको र यसलाई सञ्चारमाध्यममा व्यापकता पाएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् ।
यस सन्दर्भलाई लिएर सोमबार अमेरिकी डेमोक्रेट्स पार्टीका नेताहरू, बेलायती प्रधानमन्त्री टरिजा मेलगायतले अमेरिकी राष्ट्रपतिको सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् ।
यसैबीच अमेरिकी कङ्ग्रेसका सभामुख पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेका छन् । उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको भनाईलाई खण्डन गरेका हुन् ।
संसद्मा मिशिगनको प्रतिनिधित्व गर्ने तलाइब, नेता बर्नी स्यान्डर्सलगयतले ट्रम्प जातिवादी भएको आरोप लगाएका छन् । “न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ,” स्यान्डर्सले लेखेका छन् ।
त्यस्तै, तलाइबले भनेकी छन् , “ट्रम्पमाथि महाअभियोग नै लगाइनुपर्छ ।”
अमेरिकी नेताहरूको भनाइप्रति सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले ट्वीटरबाटै डेमोक्रेट्स नेताहरूले मातृभूमिबारे नराम्रो कुरा गर्ने समूह वा व्यक्तिलाई समर्थन गर्नु दुःखद भएको टिप्पणी गरेका छन् ।