arrow

सरकारी कार्यालयमा स्टेशनरी सामान खरिदमै लुट, बजार मूल्यभन्दा तेब्बरको बिल पेश

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
Shinga-Durbar-shingadurbar-area-ministry-energy.jpg.jpeg

काठमाडौं। सरकारी कार्यालयमा राज्य कोषको लुट सबैतीर छ। यहाँ सम्म कि, सरकारी कार्यालयमा दैनिकजसो प्रयोग हुने स्टेशनरी सामानहरुको खरिदमा समेत लुट हुने गरेको छ।

सिंहदरवारमा रहेका सरकारी कार्यालयहरुमा एउटै सामानको ३-४ थरी मूल्य देखिएको छ। कार्यालयमा दैनिक कामकोलागि आबश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्म मूल्य बुझाएको बिल पेश गर्ने गरेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनमा कम मूल्य पर्ने समानलाई बढी मूल्य देखाएर बीलमार्फत्  अनियमिता गर्ने गरिएको जनाएको छ।

अध्ययनमा एउटै स्टेशनरी सामानको कार्यालय पिच्छे मूल्य फरक फरक देखाइ मनपरी ढङ्गबाट बील पेश गर्ने गरिएको बताइएको छ। एउटै जिल्लाभित्रका सरकारी कार्यालयमा मात्र होइन, सिंहदरबार भित्रै रहेका सरकारी कार्यालयमा समेत एउटै सामानमा फरक फरक मूल्यका बिल पेश गर्ने गरिएको छ।

कार्यालय प्रयोजनकोलागि कापि, फोटो कपी, पाइलट पेन, डायरी, रजिष्टर, डटपेन, स्टापलर, फाइल, पेनड्राइभ, शिशाकलम, जस्ता सामानहरूमा कार्यालय पिच्छे फरक फरक मूल्य पेश गर्ने गरिएको छ। बजारमा पाइने मूल्यभन्दा दोब्बर, तेब्बरसम्म बढि मूल्य बराबरका बील बनाइ स्टेशनरी सामान खरिद गर्ने गरिएको केन्द्रले तयार गरेको अध्ययनमा जनाइएको छ। 

केन्द्रले करिब ६ महिना अघि नै सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामान खरिदमा एकरूपता ल्याउन सरकारी कार्यालयलाई निर्देशन पनि दिएको छ। तर केन्द्रले दिएको निर्देशन पालना भएको छैन। अहिले पनि सरकारी कार्यालयहरुमा एउटै सामानको फरक फरक मुल्यको विल बनाई पेश गर्ने गरिएको केन्द्रका कर्मचारीहरु बताउछन्।

सबै सरकारी कार्यालयमा मूल्यमा एक रूपता कायम गरिएमा स्टेशनरी सामान खरिद गर्दा हुने अनियमिता कम हुने केन्द्रका एक कर्मचारी बताउछन्। केन्द्रका अर्का एक कर्मचारी भन्छन,‘सरकारी कार्यालयमा बढी प्रयोग हुने समानहरूमा मूल्य बढी देखाइन्छ कम प्रयोग हुने सामानमा त्यती मुल्य बढाइदैन।

यसबारेमा कसैले प्रश्न गर्‍यो कम प्रयोग हुने मुल्यको बिल देखाइन्छ।’सरकारी कार्यालयमा एक लाख रूपैयाँ बराबारसम्मका स्टेशनरी सामान खरिद गर्न कार्यालय प्रमुखलाई अधिकार दिइएको हुन्छ। यसैगरी पाँच लाख बराबरो सामान खरिदमा तीन वटा कोटेशन लिनु पर्ने कानुनमा व्यवस्था छ। तीन वटा कोटेशन लिदाँ पनि सरकारी कर्मचारी र कोटेशन दिने व्यावसायीवीच मिलोमतोसम्म हुने गरेको अध्ययनमा जनाइएको छ। 
एउटा पाइलट पेनको बजारमा समान्यता ८० रूपैयाँसम्म पर्छ। तर कार्यालयमा पेश गरिने बीलमा भने १ सय ५०, २ सय, २ सय ५०, २ सय २५ रूपैयाँसम्मको बील देखाई पेश गर्ने गरिएको देखिएको छ।

बजारमा पाइलट पेनको मूल्य दुइ तीन थरीको हुन्छ। कम मूल्यका ८० रूपैयाँसम्म र बढी मूल्यका १ सय रुपैयाँसम्म बजारमा पाइलट पेन खरिद गर्न सकिन्छ। तर सरकारी कार्यालयमा पेश गरिने बीलमा कम मूल्य बराबरको समान खरिद गरी बढी मू्ल्य बराबरको बील पेश गर्ने गरिएको देखिएको छ।

बजारमा एउटा डेटपेनलाई सामान्यता १० रुपैयाँ पर्छ। त्यो भन्दा बढी मूल्य तिर्नु पर्दा ५० रुपैयाँसम्म पर्छ। तर सरकारी कार्यालयमा बढी मूल्य बराबरको डटपेन खरिद गरी बिल पेश गर्ने गरिएको छ। त्यस्तो चलन सिहंदरबा मात्र होइन, सिंहदरबार बाहिरका पनि अधिकांश सरकारी कार्यालयहरुमा हुने गरेको केन्द्रका कर्मचारी बताउछन्। 

यसैगरी अन्य सामानहरू खरिद गर्दा पनि यस्तै अनियमता हुने गरेको केन्द्रले गरेको अध्ययनमा जनाइएको छ। सरकारी कार्यालयमा स्टेशनरी सामानहरूको मूल्यमा एक रूपता नभएको विषयमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले पनि चासो राखेको छ।

सरकारी कार्यालयमा प्रयोग गर्ने समानहरूमा एक रूपता ल्याउन मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयले पनि निर्देशन दिएको छ। निर्देशन दिइए पनि यसबारेमा प्रधानमन्त्री कार्यालयले अनुगमन भने गर्ने गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ