- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कौटिल्यको जन्म इसापूर्व चौथो शताब्दीमा नेपालको तराईमा भएको थियो । पहिलेको मिथिला विदेह माथि मगधका अजात शत्रुले विजय प्राप्त गरेपछि सो प्रदेश त्यसबेला मगधको अधीनमा आएर लामो समयसम्म मगधको अधीनमा रहेको वा गाभिएपछि मिथिलाको अस्तित्व समाप्त भई गुमनाम रूपमा रह्यो । त्यसबेला मगधको सिमाना हिमालयको काखसम्म विस्तार भएको कुरा इतिहासमा उल्लेख छ । मगधले बज्जी गणतन्त्र तथा विदेह गणतन्त्र आफ्नो अधीनस्थ पारेकाले ‘विदेह’ छुट्टै राज्य नभएर मगधको अंग बनेकाले चाणक्यलाई विदेहवासीका रूपमा नलिई उनी मगधका मानिएका हुन् । तर उनको जन्म भने वर्तमान नेपालको तराईको प्राचीन मिथिला प्रदेशमा थियो । यो कुरा उनलाई त्यसबेला भएको पहाडी प्रदेशसम्बन्धी ज्ञानले पनि पुष्टि गर्दछ ।
आचार्य कौटिल्य प्राचीन नेपालका एक महान् राजनीतिज्ञ तथा विचारकका रूपमा रहेका छन् । आचार्य कौटिल्यलाई चाणक्य, विष्णु गुप्त, विष्णु शर्मा आदि नामले जानिन्छ । चाणक्यको नाममा अर्थशास्त्रलाई ‘कौटिल्यको अर्थशास्त्र’ भनिन्छ । उनले व्यवहारिक राजनीति दर्शन प्रतिपादन गरेका छन् र आचार्य कौटिल्यको राजनीतिक दर्शनले नेपालमात्र होइन, पूर्वीय राजनीति तथा राजनीति दर्शन अत्यन्त बढी प्रभाव पारेको देखिन्छ । नेपालको तराईमा जन्मेका कौटिल्यको महान् व्यक्तित्व एक पारंगत राजनीतिज्ञका रूपमा मौर्य साम्राज्यको विपुल यसका साथ एकप्राण भएर यस क्षेत्रको इतिहासमा आफ्नो कीर्ति अमर बनाए ।
राज्यको उत्पत्ति
कौटिल्यले अर्थशास्त्रमा राज्यको उत्पत्ति, विकास उद्देश्य, कार्य तथा प्रशासनका बारेमा विस्तृत विवेचना गरेको पाइन्छ । राज्यको उत्पत्ति सम्बन्धमा कौटिल्यले विभिन्न सिद्धान्त उल्लेख गरेका छन् । कौटिल्यको विचारमा सृष्टिको प्रारम्भमा मानिस प्राकृतिक अवस्थामा रहन्थ्यो । सो प्राकृतिक अवस्था राज्यहीन, कानुनहीन तथा अनैतिकतापूर्ण थियो । त्यस बेलाको राज ‘मत्स्यराज’ थियो । त्यसैले यो अवस्था अत्यन्त भयावह थियो । जनतालाई यहि भयबाट मुक्त गर्नका लागि राज्य तथा राजाका सम्बन्धमा एउटा सम्झौता भयो । स्वामी, अमात्य, जनपद, कोष, दण्ड र मित्र राज्यका अङ्ग हुन् । उनले राज्यलाई सातवटा अङ्गबाट निर्माण भएको महामानवका रूपमा प्रस्तुत गरेकाले यो कुरा स्पष्ट हुन्छ ।
राज्यको उत्पत्ति अराजकतापूर्ण स्थितिलाई समाप्त गरेर प्रजाको रक्षाका लागि सम्झौताद्वारा भएको हो । राज्यको प्रमुख काम भनेको जनताको रक्षा नै भएको स्पष्ट छ । यति हुँदा हुँदै पनि राज्यको मुख्य कामलाई तीनवटा विभाजन गरिन सकिने हुन्छ । राज्यको यी तिन काममा १.आन्तरिक शान्ति तथा सुरक्षा गर्नु, २.बाह्य शत्रुबाट रक्षा गर्नु र ३.प्रजाको सुख समृद्धिका लागि कल्याणकारी कार्यको व्यवस्था गर्नु नै हो । यी तीन उद्देश्य भने पनि मुख्य उद्देश्य प्रजाको हित रक्षा र सम्वद्र्धन नै हो । कौटिल्यको भनाईमा “प्रजाको सुख नै राजाको सुख हो” । कौटिल्यले राजा र राज्यलाई विभेद नगरी समान अर्थमा लिएका छन् ।
राजा
कौटिल्यको राजनीतिक विचारको केन्द्रबिन्दु राजा हुन् । राजाको योग्यता, दिनचर्या, उनको स्थिति तथा कार्यका बारेमा विस्तृत व्याख्या कौटिल्यले गरेको पाइन्छ । काम, क्रोध, लोभ, मान, भेद तथा हर्षलाई छोडी इन्द्रियहरूमाथि विजय प्राप्त गर्नुपर्छ । साधु स्वभावका राजाले काम, क्रोध आदि ६ शत्रुलाई सर्वथा परित्याग गरी इन्द्रियमाथि विजय प्राप्त गर्नुपर्छ । विद्वान् पुरुषको सङ्गतमा रहेर बुद्धिको विकास गर्नुपर्छ । गुप्तचरहरूद्वारा स्वराष्ट्र एवं परराष्ट्रको वृतान्त अवगत गर्नुपर्छ । धर्म, अर्थ र कार्य सन्तुलित उपयोग गर्न सल्लाह दिनुका साथै गुरुवर्ग तथा अमात्यहरूले राजाको मर्यादा निर्धारण गरी राजालाई अनर्थकारी कार्यबाट रोक्नुपर्ने धारणा कौटिल्यको छ । शासन सञ्चालनका लागि राजामा राजनीति, कुटनीति, युद्धविधि, विदेशनीति, शस्त्र एवं सैनिक सञ्चालनका लागि पूर्ण योग्यता तथा दक्षता हुनुपर्छ ।
राजा कुनै पनि अवस्थामा प्रमादि हुन नहुने राजा प्रमादि भएमा कर्मचारी पनि प्रमादि हुने हुँदा यसले राजा र प्रजा दुवै नष्ट हुने कुरा कौटिल्यले बताएका छन् । प्रजाका सुखमा राजाको सुख हुन्छ । साथै राजाको सुखमा प्रजाको हित हुन्छ । राजा अमात्य र मन्त्रीबाट सावधान रहनुपर्ने सुझाब दिएका छन् ।
कौटिल्यले शासनको केन्द्र राजा र सल्लाह दिने अधिकारीका रूपमा मन्त्रिपरिषद्लाई लिएका छन् । सल्लाह मान्नु वा नमान्नु राजाको इच्छामा निर्भर हुन्छ । राजालाई मन्त्री नियुक्ति तथा बर्खास्त गर्ने अधिकार दिइएको छ । संकटका समयमा राजाको रक्षा गर्नु मन्त्रीको कर्तव्य हो । कानुन बनाउने काम राजा र मन्त्री दुबैको हो । राजालाई प्रमादयुक्त हुन नदिनु मन्त्रीको काम हो ।
गुप्तचर व्यवस्था
कौटिल्यले गुप्तचर व्यवस्थालाई अत्यधिक महŒव दिएका छन् । चरद्वारा मुख्यतः तीनवटा मुख्य कार्य सम्पन्न गरिने कुरा उल्लेख छ । यसमा राजाका आँखाका रूपमा गुप्तचरहरूद्वारा नै राजालाई शत्रुको शक्ति तथा गतिविधि थाहा हुन्छ । चरद्वारा नै राज्यलाई आन्तरिक तथा बाह्य घटनाहरूको सही सूचना प्राप्त हुन्छ र यसको अभावमा राज्य भंग हुन्छ, त्यसैले चरले सूचनादाताका रूपमा काम गर्दछ । चरद्वारा नै राज्य तथा राजाको रक्षा हुन्छ । चरका सहायताद्वारा शत्रुको शक्तिको विनाश गर्नुपर्छ ।कापटिक, उदास्थित, ग्रहपतिक, वैदेहक, तापस, शत्री, तीक्ष्ण, रसद तथा भिक्षुकी आदि अनेकौँ प्रकारका गुप्तचर हुन्छन् । धर्माेपधा उपायबाट अमात्य वर्गको परीक्षा गरेपछि राजाले गुप्तचरको नियुक्ति गर्नुपर्ने राय कौटिल्यको छ ।
महामन्त्री, मन्त्री, पुरोहित आदिकहाँ गुप्तचर नियुक्ति गरेपछि आफूप्रति प्रजाहरू तथा नगर निवासीको अनुराग द्वेष आदि जान्नका लागि राजाले गुप्तचरहरूको नियुक्त गर्नुपर्छ । गुप्तचरहरूले आपसमा विवाद खडा गरेर जनताको प्रतिक्रिया बुझ्न सक्छन् ।
त्यसमा राजा विरोधी र समर्थनको विवाद खडा गर्दा जनताको राजाप्रतिको धारणा बुझ्न सकिन्छ । राजालाई सहयोग गर्ने तथा राजासँग क्रुद्धहरूप्रति पनि जासुसले ध्यान दिनुपर्छ । राजाप्रतिका दोषीलाई चुपचाप मार्नुपर्छ । यसरी नै शत्रु देशमा राज्यले कृत्य पक्षका पुरुषलाई विभिन्न तरिकाबाट आफ्नो पक्षमा मिलाउनुपर्छ । त्यस्तै अकृत्य पक्षका पुरुषलाई भेट तथा दण्डबाट आफ्नो पक्षमा पार्नुपर्छ । यी काम गुप्तचरद्वारा सम्पन्न गरिनु पर्छ । यसरी कौटिल्यले गुप्तचरको कार्यलाई राज्य सञ्चालनमा अत्यन्त महत्वपूर्ण स्थान दिएका छन् ।
जनपद
राजाले अर्का देशका मानिस बोलाएर वा आफ्नै देशको आवादी बढाएर पुरानो वा नयाँ जनपद बसाउनुपर्छ । प्रत्येक जनपदमा कमसेकम सय घर तथा बढीमा पाँच सय घर हुनुपर्छ । यस्तो गाउँ बसाउँदा शूद्र तथा किसान बढी हुनु जरुरी छ । एउटा गाउँ र अर्को गाउँबीचको दूरी एक वा दुई कोसभन्दा टाढा हुनु हुँदैन । यसले गर्दा आवश्यक पर्दा एक अर्कालाई सहयोग गर्न सक्छन् । नदी, पहाड, जंगल, वैरको रूख, खाडी, तलाउ, सिमलका रूख, शमीका रूख तथा वरका वृक्ष लगाएर बसाएको गाउँको सीमा निर्धारण गर्नुपर्छ । ऋत्विक,आचार्य,पुरोहित तथा क्षेत्रीय आदि ब्राह्मणका लागि बिना शुल्क भूमि दिनुपर्छ । विभागीय अध्यक्ष, कर्मचारी, गोप (दश गाउँका अधिकारी), नगरका अधिकारी, स्थानिक, अनिकस्धा (हस्ती शिक्षक), वैध, अश्व शिक्षक, दूर देशमा जीविकोपार्जन गर्नेजस्ता अधिकारी र प्रजालाई पनि भूमि दिनुपर्छ ।
राजद्रोह हुने वा फुट पार्ने जनसंघ वा सहकारी संख्यासमेत प्रतिबन्धित गरिएको छ । गाउँमा नाचगृहजस्ता विलासी कुरा हुनुहुँदैन । धन खर्च हुने तथा विलासिता बढाउने क्रीडाहरू बहिष्कार गरिनुपर्छ । दण्ड बाहेक करबाट हुने कृषिमा आउन बाधा तथा चोर, हिंस्रक जन्तु, विष प्रयोग तथा कष्टबाट किसानलाई रक्षा गरिनुपर्छ । राज्यले दाउराका वन, हात्तीका वन, पुल तथा खानी आदिको रक्षा गरेपछि आवश्यकतानुसार नयाँ वन, पुल,बजार आदि निर्माण गर्नुपर्छ । राजाका नजिकका व्यक्तिहरूबाट कर असुल गर्ने, सीमा रक्षक,बाँध,राजपुरुष,लुटेरा आदिबाट र व्यापारी बाटोका बाधाबाट र देशमा सबै खाले आपत्तिबाट रक्षा गर्नु राज्यको दायित्व निर्धारण कौटिल्यले गरेका छन् ।
कोष
कौटिल्यले कोषलाई निकै बढी महत्व दिएका छन् । त्यसैले उनले कोषलाई राज्यका पाँचौ प्रकृति वा अंगका रूपमा वर्णन गरेको पाइन्छ । कोष राज्यको आधार हो । सारा कार्य कोषमा निर्भर हुने भएकाले राज्यले सबभन्दा पहिले कोष माथि ध्यान दिनुपर्ने सल्लाह दिएका छन् । प्रजाको सम्पन्नता नै राज्य कोषको सम्पन्नताको आधार हो । सम्पन्न भएमा नै प्रजाले कर दिन सक्छन्, निर्धन जनताले कुनै किसिमको राज्यलाई धन दिन सक्दैनन् । कोषधन लेनदेन गरेर कोष बढाउनु प्रयोग हो । प्रजाको आचरणको शुद्धता राजकोष वृद्धिको दोस्रो कारण हो । राज्यका जनता आचरणवान् भएमा उनीहरूको नियन्त्रणका लागि बढी धन खर्च गर्नु पर्दैन, साथै आचरणयुक्त प्रजाबाट कर मुक्तिको प्रयास पनि हुँदैन । चोरी नियन्त्रण राजकोष वृद्धिको तेस्रो कारण हो ।
चोरहरूबाट राजकीय कोषको सम्पत्ति गुप्त रूपमा अपहरण हुन्छ । त्यसैले राजकोष वृद्धिका लागि चोरहरूको नियन्त्रण जसरी छ । अन्नको वृद्धिबाट राज्य स्वावलम्बी हुनु पर्छ । यसको अभावमा जनता राजकोषमाथि आश्रित हुन पुग्छन् । त्यसैले राजकोषको वृद्धिका लागि सत्य सम्पत्तिको वृद्धि आवश्यक छ । उद्योग,व्यापार,ऋण वृद्धिले प्रजा सम्पन्न हुन्छन् । व्यापारले धन वृद्धि हुन्छ धन वृद्धिबाट राजकीय कोषका लागि करका रूपमा अधिक धन संचय हुन्छ । उद्योग तथा व्यापारको विकासलाई राजकीय कोषको वृद्धिको आधार मानिएको छ । बाह्य तथा आन्तरिक अफवाहले जनधनको नाश हुने भएकाले राज्यलाई बाह्य तथा आन्तरिक विषयहरूबाट मुक्त राख्न पनि कोषवृद्धिको उपाय हो । राज्यले उद्योग धन्दा तथा अन्य कार्यका लागि जनतालाई दिएको धनको समयमा पूर्ण असुलि लाई पनि कोष वृद्धिको आधार कौटिल्यले मानेका छन्
कौटिल्यले राजकोषबाट हुने खर्चका बारेमा पनि उल्लेख गरेका छन् । देवपूजा, पितृपूजक, दान, स्वस्ति वाचन आदि धार्मिक काम, अन्तपूर, भान्छा, दूतप्रेषण, कोषाकार, शास्त्राकार, पण्यगृह, कुप्यगृहका खर्च, कृषि, व्यापार आदिको कर्माहत खर्च, चारैप्रकारका सेना संग्रहका व्यय, गाई, भैँसी, बाख्रा आदि उपयोग पशुहरूको खर्च,मृग,पंक्षि तथा अन्य हिंस्रक जंगली जनावरको रक्षाको खर्च, स्थान, घाँस, काठ आदि जंगलको सुरक्षाको खर्च आदि मुख्य खर्च हुन् । यसलाई ‘स्थान’ व्यय भनिन्छ । प्रतिदिनको नियमित खर्चलाई ‘नित्य’ भनिन्छ । पाक्षिक, मासिक तथा वार्षिक खर्चलाई ‘लाभ’ भनिन्छ । नियमित व्ययभन्दा बढी खर्च भएमा यसलाई नित्योत्पादिक वा लाभोत्पादिक खर्च भनिन्छ । आयव्ययबाट भएको वचत निवी हो । खजानामा जम्मा भएको धनलाई प्राप्त तथा जम्मा हुन आउने धनलाई अनुवृत भनिन्छ ।
चाणक्यको अर्थशास्त्रले लौकिक आधारमा व्यवहारिक राजनीति प्रतिपादित गर्ने काम गरेको छ । राजनीतिलाई विज्ञानको श्रेणीमा राखी राजनीति शास्त्रमा साम्यक् र असाम्यक् राजनीतिको विवेचना गरिएको छ । उनले राजनीतिक कारबाही तथा प्रशासनिक र राजकीय निर्देशनलाई आवश्यक मानेका छन् । उनले व्यवहारिक राजनीतिलाई शक्तिशाली र कठोर शासनको लागि रूपरेखा प्रस्तुत गरी प्राप्त गर्ने उपाय समेत उल्लेख गरेका छन् । राज्यका प्रचलित ऐन कानुन धर्म नैतिकताको अनुरूप मात्र होइन । राज्य र शासकको लाभ र हितको लागि हुनुपर्ने कुरालाई समेत अगाडि ल्याउने काम गरेको छ । त्यसैले निर्णायक तत्त्व धर्म भन्दा ‘राजनीतिक हित’को धारणा प्रतिपादित भएको छ ।