arrow

चुरे क्षेत्रमा बढी भूक्षय, पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्र झन् जोखिम

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
chure.jpg.jpeg
काठमाडौँ। भू तथा जलाधार संरक्षण विभागले मध्यपहाडी र चुरे क्षेत्रमा बढी मात्रामा भू–क्षय हुने गरेको जनाएको छ।
 
वर्षायाममा अत्यधिक पानी पर्ने र हिउँदमा पानी नपर्ने गर्दा एकैचोटीको पानीको बोझले भिरालो जमिन भएको मध्यपहाडी र चुरे क्षेत्रमा बढी भू–क्षय हुने गरेको विभागका जलाधार व्यवस्थापन अधिकृत डा जगन्नाथ जोशीले जानकारी दिए। उनले भने – “वर्षाको पानीका कारण ५० देखि ८० प्रतिशत भू–क्षय हुने गरेको छ।”
 
पानी परेर पहिरो र अन्य कारणले धेरै भू–क्षय हुनेमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, चितवन, नवलपरासीलगायतका तराईका ३१ जिल्ला रहेका छन् भने हावाका कारण भू–क्षय हुनेमा हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङ र डोल्पा रहेका छन्।
 
जल, जमिन, जनावर, जनता, जङ्गल र जलवायुको व्यवस्थापन भएमात्र भू–क्षय रोकिने डा जोशी बताए। उनी भन्छन् – “जल संरक्षणका लागि जमिनको व्यवस्थापन र जमिनको व्यवस्थापनका लागि जल संरक्षण गर्नु जरुरी छ।”
 
कमलो भौगोलिक अवस्था, भिरालो भू–बनोट, मनसुनी वर्षा, जलवायु परिवर्तन, जथाभावी मोटरबाटो खन्नु आदिका कारण बढी भू–क्षय हुने गरेको छ। नेपालको पूर्वी भागको तुलनामा पश्चिम भागमा भू–क्षय बढी हुने गरेको विभागले जनाएको छ। चुरेबाट बगेर गएको माटोले तराईको उत्पादन हुने स्थान पुरिने गरेको छ।
 
विसं २०३१ साउन २४ गते स्थापना भएको विभागले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजना, पर्वतीय जलाधारको जलवायु परिवर्तन समयअनुकूल आयोग, जिल्ला भू–संरक्षण कार्यालयमार्फत भू–क्षय रोकथाम गर्दै आएको छ।
 
पछिल्लो समय विभागले चुरे क्षेत्रको भू–क्षयलाई रोकथाम गर्नका लागि धेरै बजेट र कार्यक्रम त्यस क्षेत्रमा छुट्याएको छ। भूकम्पबाट देशभरका ३१ जिल्लामा दुई हजार ८ सय ठाउँमा पहिरो गएको र हजारौँ स्थानमा धाँजा फाटेको विभागले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ