काठमाडौं । अंग्रेज सेनालाई पराजित गर्ने नेपाली फौंज देखि स्वाभीमानी वीर गोर्खासम्मको अदम्य गौरव बोकेको नेपाली सेनाको पहिचान पछिल्लो समय फेरिँदै गएको छ । विभिन्न समयमा राष्ट्र रक्षाका निम्ति नेपाली फौजले देखाएको अदम्य साहस अतुलनीय छ । नेपाली सेनाको आफ्नै वैभव छ । साढे चार सय वर्ष पार गरिसकेको नेपाली सेनाको संगठन विस्तार दक्षिण एशियाकै सबैभन्दा पूरानो मानिन्छ ।
पृथ्वीनारायण शाहको नेपाल एकिकरण मात्रै नभई नेपाली सेना देशभित्रै विक्रम संवत् १८२० को मिरकाशिमविरुद्धको लडाई, १८२४ मा किनलोकसंग भएको पौवागढी लडाई, १८७१ नेपाल अंग्रेजबीचको लडाई इतिहासले सजिलै चिनिन्छ । त्यसताकाको लडाई होस् वा त्यसपछिका थुप्रै परिवर्तन । जसमा प्रथमतः नेपाली सेनाको नाम उच्चारण हुन्छ । छिमेकीले समेत स्थायी सरकारका रुपमा नेपाली सेनालाई नै मान्ने गरेका छन् ।
‘पल्टनको नाम नलिऔं होला, मेरो पल्टनबाट हामी एकै पटक २७ जना निक्लेका थियौं, सबै विदेशमै छौं ।’
१० वर्षे माओवादी सशस्त्र द्वन्द्व अन्त्यपछी नेपाली सेनाको भूमिका देशको सामाजिक काममा सरिक हुनेमा परिणत भयो । प्राकृतिक विपत्ती होस् वा आकस्मिक घटनाक्रम जसमा नेपाली सेनाको भूमिका अग्रणी नै छ । भौतिक निर्माण र अन्य सामाजिक काममा समेत नेपाली सेनाको भूमिका रहँदै आएको छ । तर, राजनीतिक अस्थिरता, बढ्दो वेरोजगारी र चरम आर्थिक अभावकैबीच नेपाली सेनाको जनशक्ति विचलित हुँदै गएको छ ।
सैनिक संगठनमा भएको जनशक्ति बाहिरिने क्रम बढ्दै गएको छ । पारिवारीक तथा व्यक्तिगत समस्याले नेपाली सेनाको जागिरबाट
सेवा निवृत्त नहुँदै जागिर छोड्नेहरुको लहर नै छ । जसरी केही वर्ष अघि सेना प्रहरीमा दरखास्त दिनेको भीड हुन्थ्यो, त्यो विस्तारै घट्दै गएको छ ।
अलैची उत्पादन हुने क्षेत्र खोज्दै छौं !
नेपाली सेनालाई अहिले कुनै युद्ध लड्नु पर्ने र तयारी गर्नु पर्ने अवस्था छैन । प्रक्रियानुसार देश–विदेश जान पाउने व्यवस्था पनि छ । माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएपछि मुलुकभित्र खतरा मोल्नु पर्ने कुनै कारण छैन । पछिल्लो समय सामान्य नागरिकमा समेत राष्ट्रियताको लहर आएपनि व्यवहारतः त्यसो हुन सकेको छैन । कारण आर्थिक समस्या नै भन्ने गरिन्छ । अहिले युवाका लागि सुरक्षा अंग रोजगारी र सेवा भावको आकर्षक गन्तव्य बन्नु पर्ने हो । तर, नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधाको माया मार्दै जागिर छोड्ने क्रम जारी छ । नेपाली सेनामा कार्यरत दुई युवाले नेपाली सेनाको जागिरले आफैलाई खान नपुग्ने भन्दै परिवार धान्न नसकिने बताए । राजधानीको एउटा क्याम्पसमा भेट भएका ती युवाले गम्भीर हुँदै भने, ‘अब छिट्टै राजीनामा दिने तयारीमा छौं, बरु अलैची उत्पादन हुने क्षेत्र खोज्न सहयोग गरिदिनुस् ।’ हलो जोत्न र कृषि व्यवसाय मै भए पनि भलो छ ।
हुनत राष्ट्र र जनताको सेवा गर्न पाउनु भनेको जीवनको स्वर्णीम अवसर हो, उनीहरुले थपे, ‘केही वर्ष दुःख गरेको भए जीवनभर पेन्सन खान पाइन्थ्यो । घरपरिवार छोडेर, कडा अनुशासनमा २४ सै घन्टा सतर्क रहनुपर्ने र त्यसबापत बढीमा १५ हजार आउँछ, तल्लो दर्जाका हामी सिपाहीको कति नै सेवा सुविधा हुन्छ र ? महंगी यस्तो, छ कालोबजारीले ढाड सेकेको छ, देशमा उत्पादन छैन, अन्य मुलुकबाट आएका बस्तुहरुको मूल्य मनोमानी छ, कसरी घर परिवार धान्नु ।’ राष्ट्रसेवक बन्न पाउनु रहर मात्रै होइन गौरव हो तर, त्यसरी मात्रै पनि नचल्ने रहेछ ।
रक्षा सम्मान कल्याण आफ्नो देश नेपालको
सर्वप्रथम सदा जान धर्म कर्म सिपाहीको
सुविस्ता मान हेरचाह गर्नपर्छ, विषेषतः
अधीनस्थ रही बस्ने साराका दुःख खातिर
रक्षा आनन्द आराम आफ्नो निम्ति सँधै पछि
यही सेना महामन्त्र यही सत्य सधैंभरी
‘यही सेना महामन्त्र यही सत्य सधैंभरी’ हरेक नेपाली सेनाले छातिमा हात राखेर यो प्रण गर्दछन् । तर, देश काल परिवर्तन भएसंगै नेपाली सेनाको चिनारी समेत फरक हुँदै गयो । ता कि नेपाली सेना युद्ध मात्रै लड्न खडा भएको सुरक्षा संयन्त्र हो अथवा, बेरोजगार युवाहरुलाई रोजगारी दिने एक निकाय । अझ भन्दा, अहिले समावेशी र सामूहिक प्रवेशको व्यवस्था हुनुपर्दछ भन्ने माग समेत उठि सक्यो । सेनाको आफ्नै विधि प्रक्रिया र रणनीति छ । सेनामा जागिर खान प्रतिस्पर्धाका विभिन्न चरणहरु पार गर्नै पर्दछ ।
नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार गर्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्दछ । त्यति मात्र नभई १५ महिने तालिम भए सोहीअनुसारको लगानी लाग्दछ । सेनाभित्र रहेका विभिन्न विभागहरुको आ–आफ्नै तालिम र खर्च हुन्छ । सवै विवरण संकलन गर्ने हो भने लगानी थुप्रो हुन आउँछ ।
‘मेरो पल्टनबाट हामी एकै पटक २७ जना निक्लेका थियौं, सबै विदेशमै छौं’
राज्यले लगानी गरेर दिएको सीप र प्रमाणपत्रले युवालाई देश–विदेशमा रोजगारी पाउन भने कठिन छैन । तल्लो तहका सेनाहरुलाई जस्तो दुखः छ त्यो अनुसारको पारिश्रमिक तथा सेवा सुविधा छैन, दुई वर्ष अघि सेनाबाट राजीनामा दिएर दुवै पुगेका एक युवाले भने, ‘नेपाल आर्मीको जागिर छोड्नु मेरो बाध्यता थिएन, मैले नेपाल आर्मीमा आफ्नो योग्यता क्षमता अनुसारको तह नपाएर बाहिरिनु परेको हो ।’
आफ्नो नाम नखोल्न भन्दै उनले भनेका छन्, ‘जब सम्म तन्नेरी भइन्छ, तब सम्म बहुत मेहनतमा थोरै पारिश्रमिकमा पेलिन पर्ने र बुढो भएपछि घर पठाइदिने, ल भन्नुस् बुढेसकालमा त्यो थोरै पेन्सनले कस्को भविष्य बन्ला ? ।’मैले नेपाल आर्मीबाट चाँडै जागिर छोड्नुको मूख्य कारण योग्यताको कदर नभएरै हो, उनले थपे, ‘मैले माथिल्लो तहका लागि धेरै प्रयन्त गरे तर, आफ्नो मान्छेलाई मात्रै हेर्ने प्रवृतिबाटै आजित भएर मैले राजीनामा दिँए ।’ आफु अहिले दुवैमा रहेको बताउँदै उनले भने, ‘तलब त भन्न नमिल्ला, सेकुरेटी गार्ड छु, म मेरो तलब र सेवा सुविधाप्रति निकै खुसी छु, राजीनामा दिँदा मेरो पेन्सन पाक्न मात्र ९ वर्ष बाँकी थियो ।’ यद्यपि, विदेशमा आफ्नो देशको जस्तो स्वतन्त्रता नभएकामा उनी दुःखी छन् ।
तपाईसंग कति जनाले राजीनामा दिए ? उनले जवाफमा भने, ‘पल्टनको नाम नलिऔं होला, मेरो पल्टनबाट हामी एकै पटक २७ जना निक्लेका थियौं, सबै विदेशमै छौं ।’ अनुभव र सीपका आधारमा जुनसुकै मुलुकमा आकर्षक तलब पाउने नेपाल आर्मीबाट बाहिरिएका युवाहरु बताउँछन् ।
प्रवक्ता कार्कीले सुरक्षा निकायमा जागिर खानु प्रमोसन हुन होइन, प्रमोसन सेकण्डरी कुरा हो, पहिलो कुरा त जनताको सेवा नै हो–भने
सेवानिवृत्त नभई किन राजीनामा दिन्छन् सेनाहरु ?
नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता ताराबहादुर कार्कीले संगठनको समस्याले सेनाबाट बाहिरिएको भन्न नमिल्ने बताए । बाहिरिनेको संख्या बढेको स्वीकारेका प्रवक्ता कार्कीले यो व्यक्तिगत समस्याको नतिजा हो–भने । व्यक्ति विशेषको समस्याहो, कार्कीले भने, ‘व्यक्ति, सवैका आ–आफ्नै समस्या हुन्छन् ।’ राजीनामा दिन पाउने प्रावधान छ । तर, सेवाको कति वर्षपछि मात्रै राजीनामा दिने भन्ने नियम पनि छ । राजिनामासंग तालिमको पनि सम्बन्ध छ, प्रवक्ता कार्कीले थपे, ‘९ महिने तालिम हो वा १५ महिने त्यसका आधारमा पनि विधि प्रक्रिया हेरी राजीनामाको व्यवस्था छ ।’
योग्यता अनुसारको तह पाउँदैनन्, आफ्नो मान्छे हेरिन्छ भनिन्छ नी ? जवाफमा कार्कीले भनेका छन्, ‘त्यो कसैले भन्यो भने व्यक्तिगत समस्या हो, सिस्टम अनुसार योग्यता–क्षमताका आधारमा पाउनु पर्ने ठाउँमा जो सुकैले स्थान पाउँछ नै ।’ ठाउँ खाली चैं हुन पर्छ, ठाउँ खाली नभई हुँदैन । प्रवक्ता कार्कीले सुरक्षा निकायमा जागिर खानु प्रमोसन हुन होइन, प्रमोसन सेकण्डरी कुरा हो, पहिलो कुरा त जनताको सेवा नै हो–भने । संगठन ठूलो छ, कार्कीले भने, ‘विभिन्न समस्याहरुछन्, ठूलो संगठनमा व्यक्तिगत समस्याले केही बाहिरिन्छन् ।’ आउने र जाने दुवै व्यवस्था भएकै कारण आगमन र बहिर्गमन भइरहेको कार्कीले बताए ।
सेनाको संगठन विस्तार विक्रम संवत १६१६ मा गोरखा राज्यको स्थापनासँगै शुरु भएको बताइएपनि इतिहासका जानकारहरुका आ–आफ्नै धारणा छन् । कसैले १७ सयपछी भनेका छन् भने, कसैले १८ सयपछि सेना संगठित भएको बताएका छन् । गोरखा राज्य स्थापनालाई आधार मान्ने हो भने नेपाली सेनाको इतिहास ४ सय ५६ वर्ष भइसकेको छ ।