व्याजदरलाई दबाएर स्थिरताको नारा फुकेको मौद्रिक नीति
प्रकाशित २०७६ साउन १३ सोमबार
864
Shares
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अन्तरबैंक व्याजदरको अस्थिरतालाई विश्लेषण गर्दा विगत ३ वर्षको तुलनामा सबैभन्दा चलायमान अवस्था यही वर्षमा भएको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने यो वर्षको पहिलो ११ महिनासम्ममा आईपुग्दा ५ प्रतिशत भन्दा धेरै अन्तरबैंक व्याजदर पुगेको छ । जेठ महिनाको मात्रै हेर्ने हो भने त अन्तर बैंक व्याजदरको स्थिति ६.९१ प्रतिशत पुगेको थियो ।
त्यसो त यो अवस्था हरेक वर्ष देखिने समस्या पनि होईन । २०७५ सालको श्रावण महिनामा अन्तरबैंक व्याजदर १.८८ प्रतिशत थियो । त्यो सीमा बढ्दै जाँदा जेठमा त्यति धेरैमाथि आकाशिएको हो । जुन बैशाखसम्म ६.१२ प्रतिशतमा सीमित थियो । पौषको दोस्रो सातासम्म १ प्रतिशतको संख्यामा रहेको अन्तरबैंक व्याजदर पौषदेखि २ को अंकमा उक्लिएको थियो । बैशाखमा आईपुग्दा त्यो बढेर ६ प्रतिशत नाघ्यो ।
यो वर्षको पहिलो ११ महिनामा समग्रमा अन्तरबैंक व्याजदर ४.१५ प्रतिशत पुगेको छ । अघिल्ला वर्षहरुमा समग्रमा अन्तर बैंक व्याजदर ३.५४ प्रतिशत थियो । त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा अन्तर बैंक व्याजदरको समग्र अवस्था केवल २.६० प्रतिशत मात्रै थियो । ११ महिनाको अवस्थालाई नै हेर्दा पनि आर्थिक वर्ष २०७४/७५ सालको साउन महिनामा ०.२९ प्रतिशत रहेको अन्तरबैंक व्याजदर ११ औं महिनामा पुग्दा ४.१८ प्रतिशत पुगेको थियो । यसरी पौने ४ प्रतिशतको हाराहारीमा अघिल्लो आर्थिक वर्षको अन्तर बैंक व्याजदर रहेको थियो । त्यो भन्दा अघिल्लो अर्थात् आर्थिक वर्ष २०७३/७४ मा त झनै ११ महिनासम्मको अन्तर बैंक व्याजदर साढे २ प्रतिशतको हाराहारीमा थियो ।
यसरी तथ्यांकले व्याजदर अस्थिर भएको देखाईरहँदा मौद्रिक नीतिमा राष्ट्र बैंकले भने व्याजदर स्थिरताको गलत दाबी गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा विगत एक वर्षयता वित्तीय बजार स्थायित्वतर्फ उन्मुख भएको उल्लेख गरिएको छ । निक्षेपको ब्याजदर स्थिर रहेको भन्दै कर्जाको ब्याजदरमा केही कमी आएको बैंकले जनाएको छ । तर, जानकारहरुले भने व्याजदरलाई दबाईएको र व्याजदरको स्थिरता रहेको भनेर राष्ट्र बैंकले गरेको दाबी गलत रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले राष्ट्र बैंकले व्याजदरलाई दबाएको स्थितिलाई स्थिरताको संकेत दिएको आरोप लगाए । उनले राष्ट्र बैंकले निक्षेप र कर्जाको व्याजदर दबाएर राष्ट्र बैंकले त्यसैलाई व्याजर स्थिरताको रुपमा परिभाषित गरेको आरोप लगाएका हुन् ।
अर्काे तर्फ राष्ट्र बैंकले तरलता प्रवाह गरेको भन्ने विषय उठान गरेको प्रति पनि पंगेनीले आलोचना गरेका छन् । व्याजदरको अवस्थालाई हेर्दा अघिल्ला वर्षहरुमा भन्दा धेरै रहेकोले केन्द्रीय बैंक तरलता व्यवस्थापनमा पनि गत आर्थिक वर्षमा असफल भएको टिप्पणी पंगेनीले गरेका छन् । केन्द्रीय बैंकले तरलताको अवस्थालाई विश्लेषण गर्नको लागि तरलता सम्बन्धी तथ्यांक देखाउने गरेको छैन । तरलताको समस्या सम्बन्धी विश्लेषण गर्नको लागि अन्तर बैंक व्याजदरको विश्लेषण नै एउटा मात्रै सूचक हो । अघिल्लो आर्थिक वर्षमा तरलताको विश्लेषण गर्ने एउटा मात्रै सूचक अन्तरबैंक व्याजदरको स्थिति समेत उच्च रहेकोले पनि केन्द्रीय बैंकको असफलतालाई यसले चित्रित गरेको छ ।