काठमाडौं । एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागि दलका नेताहरुले सरकार छोड्ने र नछोड्ने जुहारी गरिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले हाल सम्म सरकारमा जाने कुनै मनसाय नबनाएको बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा राष्ट्रिय मुस्लिम गठबन्धनको बधाई तथा शुभकामना ग्रहण गर्दे देउवाले सरकारमा जाने हतारो नेपाली कांग्रेसलाई नभएको दोहोर्याए ।
पार्टीको आन्तरिक व्यवस्थापनको काम नसकिएसम्म आफुहरु सरकारका बारे नसोच्ने देउवाको भनाई छ । यसअघि, देउवाले महाधिवेशन सकिनेवित्तिकै समेत प्रधानमन्त्री केपी ओलीलाई नआत्तिन भन्दै कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताएका थिए । यद्यपि, कांग्रेस संसदीय दलको निर्वाचनले सरकारमा जाने नजानेको टुंगो लाग्ने बताइएको छ । कांग्रेसका केही नेताहरुले भने सरकारमा जाने विषय स्वभाविक भएकाले कांग्रेस सरकारको नेतृत्व गर्न सक्ने जनाउ दिइसकेका छन् ।
देउवाले सवै जातजाति, भाषाभाषि, दलित, मुस्लिम, महिलासबैको अधिकार सुनिश्चित गर्नको लागि संविधान कार्यान्वयनमा नेपाली कांग्रेसले मुख्य भूमिका निर्वाह गर्ने सुनाए । संविधान संशोधन मार्फत सबैका हक, अधिकार सुरक्षित गर्न सकिने भन्दै देउवाले आन्दोलनरत मधेस केन्द्रीत दललाई समेत वार्ताबाटै समाधान खोज्न सुझाए । देउवा निवास पुगेको राष्ट्रिय मुस्लिम गठबन्धनले संविधानमा मुस्लिमका हक, अधिकार सुनिश्चित गर्न भनेको थियो । गठबन्धन अध्यक्ष समिम अन्सारीले मुस्लिमको अधिकार रक्षाको लागि राजनीतिक दलले चासो नदेखाएको भन्दै सभापति देउवालाई पहल गरीदिन आग्रह अनुरोध गरे ।
सरकार छोड्ने र पार्टी फोड्ने घुर्की
ओली सरकारको तेस्रो शक्ति तथा महत्वपूर्ण मन्त्रालय पाएको राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालभित्रै संविधान र सरकारको उपस्थितिबारे चर्को बहस सुरु भएको छ । हुँदा हुँदा राप्रपा नेपाल फुटको संघारमा पुगेको छ । यसले अध्यक्ष कमल थापालाई बढी घाटा हुने छ । उपप्रधानमन्त्री समेत रहेका थापा हेटौडा पुगेर विश्राममा रहेको मौका छोपी सह–अध्यक्ष केशरबहादुर विष्टले राजधानीमा छुट्टै भेला डाकेर संविधान नमान्ने र सरकारको समर्थन फिर्ता लिनुपर्ने भन्दै विद्रोह गरेका छन् ।
विष्टले राप्रपा नेपालले नयाँ संविधानलाई मान्न नहुने र सरकारबाट बाहिरिनुपर्ने भन्दै विज्ञप्ति नै जारी गरेका छन् । त्यतिमात्र नभई विष्टले अध्यक्ष थापालाई छाडेर लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपासंग सम्बन्ध गाँस्ने तानाबाना बुनेका छन् । विष्ट निकट एक नेताले भनेका छन्, ‘हामीले एकीकृत राप्रपाको परिकल्पना गरेका थियौं, यसका लागि चन्दलाई अध्यक्ष मानेर पार्टी एकता गर्ने प्रस्ताव गरेका थियौं । तर, थापाले आफूलाई अध्यक्ष मान्ने भएमात्रै पार्टी एकता गर्ने, नभए नगर्ने भनेपछि हामी अघि बढ्न बाध्य भयौं ।’ कमल थापालाई चन्दले अध्यक्ष मान्नुपर्ने विषय सुहाउँदैन । पूर्व प्रधानमन्त्री समेत भइसकेका चन्दले थापालाई कसरी अध्यक्ष मान्न सक्लान््– उनले प्रश्न गरे ? असन्तुष्ट नेताहरुले राप्रपाका सबै धारलाई मिलाएर एकीकृत राप्रपा गठन गरिनुपर्नेमा जोड दिएका छन् ।
ओलीलाई सकस !
केही दिन अघि आफ्नै पार्टीभित्रबाट राष्ट्रिय सहमतिको सरकारको भाषामा सरकार परिवर्तनको उद्घोष भएपछि ओली निकट नेताहरु तर्सिएका थिए । एमाले नेता माधवकुमार नेपालले घुमाउरो भाषामा राष्ट्रिय सहमतिको सरकार आवश्यक छ भनेको दुई दिनमा भाषा परिवर्तन गर्दै यो सरकार दुई वर्ष सम्म कसैले ढाल्न नसक्ने उद्घोष गरे । नेता नेपालले ओली पक्षधर नेताहरुको रोषपछि अभिव्यक्ति सच्याएका हुन् ।
यस्तै, एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत बारम्बार सरकारको काम कारबाहीको समीक्षा भन्दै घुमाउरो ढंगले ओलीलाई प्रहार गरिरहेकै छन् । दाहालले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको सरकारको उर्दी लगाउन समेत छोडेका छैनन् । दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत राष्ट्रिय सहमतिको सरकारका लागि अघि बढ्न भनि सकेका छन् ।
प्रधानमन्त्री ओली निकटका केही नेताहरु कांग्रेस यही सरकारमा सामेल हुने र यसैलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुव दिन सकिने तर्क गरिरहेका छन् । संविधान कार्यान्वयनको जटिलता केलाईरहेका सत्ताधारी दल तथा केही असन्तुष्टहरुले सरकारको आयु धेरै नरहेको बताइरहेका छन् ।