काश्मिरमा गतिविधिलाई खुकुलो पारिएको प्रशासनको भनाई
एएफपी,
प्रकाशित २०७६ साउन ३२ शनिबार
169
Shares
श्रीनगर। भारतको केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको काश्मिरमा लागु गरिएका केही कानूनहरू खुकुलो बनाउन लागिएको जनाएको छ। सरकारको निर्णयसँगै उक्त क्षेत्रमा स्थानीयलाई हिँडडुलका लागि सहज भएको सरकारी अधिकारीले बताएका छन्।
प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार फोन र इन्टरनेट सेवा भने अहिले पनि पूर्ण रुपमा संचालन हुन दिइएको छैन। तर यसलाई विस्तारै सहज बनाउने तयारी भइरहेको छ।
केन्द्रीय सरकार मातहत ल्याउने निर्णय सरकारले गरेपछि हिंसा भड्कीन सक्ने आशंका गरेर कश्मीरमा संचार सेवादेखि प्रदर्शन गर्न नपाईने लगायतका कानुनहरु लागु गरेको छ।
काश्मिरमा अहिले दशौँ हजार थप सुरक्षाकर्मीहरु खटाइएको छ। पाँच लाखभन्दा बढी सुरक्षाकर्मी यसअघि नै रहेका थिए। हिन्दुहरुको बाहुल्यता रहेको जम्मुमा भने तुलनात्मक रुपमा धेरै शान्त रहेको अधिकारीहरुले जनाएका छन्।
उनीहरुले निषेधात्मक कानुनहरु विस्तारै खुकुलो पारिदै लगिने र जनजीवन सामान्य हुने अपेक्षा गरिएको बताएका छन्।