बेलायती प्रधानमन्त्रीले फ्रान्सका राष्ट्रपतिसँग ब्रेजिक्टबारे कुराकानी गर्ने
एएफपी,
प्रकाशित २०७६ साउन ३२ शनिबार
501
Shares
पेरिस। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ब्रेजिक्टका बारेमा कुराकानी गरेका छन्।
अर्को हप्ता हुने जि सेभेनको शिखर सम्मेलनका क्रममा उनीहरुका बीचमा कुराकानी हुने सम्भावना रहेको फ्रान्सका कूटनीतिक अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। यही अगस्त २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा उनीहरुबीच भेटवार्ता हुने सम्भावना रहेको हो।
जर्मन चान्सलर एङ्गेला मर्केलका एक जना प्रवक्ताले पनि जोनसनसँग बर्लिनमा “चाँडै भेट हुने अपेक्षा गरिएको” शुक्रबार बताएका छन्। “चान्सलर र नयाँ प्रधानमन्त्री बोरिसबीच टेलिफोनमा यसअघि पनि एक पटक कुराकानी भएको छ, तर ब्रेजिक्ट र युरोपेली मुलुकसम्बन्धी अन्य विषयमा भने अब कुरा हुने सम्भावना रहेको छ”, ती प्रवक्ताले भने।
बेलायतले ब्रेजिक्टलाई पारित गर्न सक्छ कि सक्दैन भन्ने विषय अब युरोपेली सङ्घको भूमिकामा भर पर्ने जोनसोन सरकारले बताउँदै आएको छ। यसमा फ्रान्सको भूमिका महत्वपूर्ण हुने भएकाले बेलायती प्रधानमन्त्री जोनसोन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भेटवार्तालाई चासोका साथ हेरिएको छ।