- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । दार्चुलालगायत सुदूरपश्चिमा गौरा पर्वको रौनक सुरु भएको छ । यस क्षेत्रका महिलाहरुको प्रमुख चाडका रुपमा रहेको गौरा विधिवत रुपमा मंगलबारबाट सुरु भएको छ ।
मंगलबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्दछन् । गौराको लागि विरुडा जुटाउने तथा केलाउने काम समेत सुरु भएको छ ।
पहिलो दिन मास, गहत, गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका अन्न मिश्रित पञ्चबिरूडा शुद्ध र सफा कोठामा भिजाएर राख्ने चलन रहिआएको छ ।
गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार वर्त रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरेको महाकाली नगरपालिका वडा नम्बर ४ की ८० वर्षीय वृद्धा दुर्गा अवस्थीले बताइन् ।
अर्को दिन खेतबारीबाट सामा (धानको बोटका बीचबीचमा उम्रिने धान जस्तोका साथसाथै काँस, कुश र तीलबाट दुलहीको रूपमा गौरीको प्रतिमा बनाई कपडाको घुम्टो, शृङ्गारपटार र गरगहनाले सजाइन्छ भने पिर्का (काठको चाक्लो फलेकमा बस्ने गरी खुट्टा पनि बनाइएको हुन्छ) जसलाई महेश्वररशिवको प्रतिमालाई पनि रातो कपडाले छोपिन्छ ।
शिवको प्रतिमामाथि गौरीको प्रतिमा डालोमा राखी गोराको प्रतिमा तयार गरिन्छ जसलाई गोरा घर वा गोरास्थानमा स्थापन गरिन्छ । गोरामा उक्त प्रतिमालाई शिरमा राखेर महिलाहरूले नचाउँछन् ।
व्रत बस्ने महिलाहरु गोरा समयभर गौरी माताको पूजाअर्चना गर्नुका साथै सगुन र फाग गीत गाउने र अन्य नृत्यहरु नाच्ने गर्छन् । अष्टमीको दिन व्रत बस्ने महिलाहरूले अभिशेष गरेको दुबो धागो (रातो, पहेँलो र कालो धागोबाट बनाइएको मालारपोते) लगाउने र फेर्ने चलन छ । विरुडालाई पूजाआजा पश्चात् भगवानको प्रसाद मानेर खाने गरिन्छ ।
अन्तिम दिन गोरालाई नाच्दै, गाउँदै पवित्र स्थानमा लगि सेलाइन्छ । जुन दिन गोरा सेलाइन्छ सोही दिन फल फट्काने (फलफूललाई कपडाको माध्यमले माथि आकाश तिर फाल्ने) गरिन्छ र जसलाई आकाशबाट भुइमा खस्न नपाउँदै छोप्ने चलन छ र जसलाई भगवानको प्रसाद मान्ने चलन छ ।
पार्वतीले कठोर तपस्या द्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मुलतः गौरी अर्थात पार्वतीको पुजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहन गएको विश्वास गरिन्छ ।
यस पर्वमा शिव पार्वती सम्बन्धी विभिन्न कथाहरू भनिने र गीतहरू लयबद्ध रूपमा गाइने भएकाले यसलाई गीति पर्वका रूपमा पनि लिइन्छ । गीतमार्फत अठबालि गाउने, देउडा खेल्ने र देवी देवताका गाथाहरु गाउने गरिन्छ भने महिलाहरुले गीत मार्फत दुःख सुखका कुराहरु प्रस्तुत गन गर्दछन् ।
अन्य पर्वहरू जस्तो यो पर्व आफ्ना इष्टमित्र र नाताकुटुम्बमा मात्र सिमित नरही सम्पूर्ण जनसमुदायको व्यापक सहभागितामा मनाइने भएकाले सामूहिक एकताको भावना यस पर्वको मुख्य विशेषता रहेको छ ।
एक सातासम्म मनाइने यो पर्वलाई काम पछिको विश्राम र आफन्तजनसँगको भेटघाटको अवसरका रुपमा पनि लिने गरिन्छ । गौरा पर्वकै अवसरमा गाउँघर देउडामय बन्दै गइरहेका छन् ।
खासगरी सुदूर पश्चिमकै विशेष पहिचान तथा मौलिकताको रुपमा रहेको देउडा गौरा अवधी भर खेल्ने गरिन्छ । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्व मंगलबारबाट सुरु भएसंगै प्रायः दार्चुलाका गाउँघरहरुमा अहिले चहलपहल बढनुका साथै देउडामय बनेका छन् ।
जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्र गल्फै, धाप, राष्ट्रकै सातौ धाम मालिकार्जुनको भौतडी तथा मड भणाँरी घर लगायतका ठाउँहरुमा रातभर देउडा खेल हुने गरेको छ ।
दिनमा सबै काममा व्यस्त हुने तथा रातिको फुर्सदिलो समयमा बालकदेखि वृद्ध वृद्धा महिला पुरुष सबै जम्मा भएर देउडा खेल्ने गरिन्छ ।
महिला तथा पुरुष दुबैको सहभागितामा कलात्मक तरिकाले नाचिने नाँचलाई जिल्लाको लेकम क्षेत्रमा देउडा खेल भन्ने गरिन्छ भने दुहुँ क्षेत्रमा गन्जा भन्ने चलन छ ।
केही वर्ष अघिसम्म गौरा सुरु हुनु भन्दा पहिलेदेखि नै देउडा खेलिने गरिएको छ । देउडामा माया प्रेमप्रेमीका समाजमा रहेका सबल तथा दुर्लभ पक्ष सबै जोडेर देउडीयाले गीत जोड्ने गर्दछन भने अरुले लय हालेर गाउने गर्दछन् ।
यसैगरी ठाडो खेल ढुस्कु लगायतका विभिन्न लोकलयहरुलाई लयबद्ध गर्दै गौराको आगमनसंगै दार्चुला देउडामय बनेको छ । तर, पछिल्लो समय देउडा लगायतका मौलिक लोकलयहरुमा समेत विकृति भित्रिदै गएकोप्रति पाको पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।