arrow

एनआरएन पोर्चुगलको चुनाव, बाघ बुढो र स्याल तन्नेरीको कथन जस्तै

logo
वाई बी गुरुङ
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
yb_gurung.jpg

गैर आवासीय नेपाली संघ, पोर्चुगलको सातौँ अधिवेशनको मिति मात्र २ दिन बाँकी छ। यही २५ अगस्ट २०१९ का दिन राजधानी लिस्वनमा सम्पन्न हुने कार्यक्रम तय भएको छ ।

यो अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सहित राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलको नयाँ कार्यसमिति चयन गर्दै छ जसमा निर्वाचन समितिले आफ्नो काम धमाधम गरिरहेको कुरा संयोजक अशोक घिमिरेले जानकारी दिएका छन् ।

जति जति निर्वाचनको मिति नजिकिँदै छ उति उति चुनाव प्रचार प्रसार, भोट अपिल, भेटघाट, छलफल आदिको गति एटलाण्टीक महासागरमा सुनामी आए जस्तै तेज गतिमा बढेको महसुस हुन थालेको छ पोर्चुगलमा ।

कूल २ हजार १ सय २८ जना मात्र पञ्जीकृत सदस्य दर्ता भएका छन् पोर्चुगलमा यसर्थ २ जना सदस्यले अन्तर्राष्ट्रिय समन्वय परिषदमा सहभागी हुन पाउने एनआरएनको केन्द्रीय विधानले व्यवस्था गरे अनुसार पोर्चुगलबाट २ जना सदस्य केन्द्रीय समितिमा सहभागी हुनु पर्नेमा चार जनाले दाबेदारी गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा भने २ जनाको मात्र उम्मेदवार परेको छ भने अन्य वरिष्ठ उपाध्यक्षमा २ जनाको,अन्य उपाध्यक्षमा ४ जनाको उम्मेदवार परेको छ भने महासचिवमा २ जना र कोषाध्यक्षमा २ जनाको उम्मेदवार परेको छ। यसरी आइसिसी सदस्य, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचन हुने भएको छ ।

गैर आवासीय नेपाली संघको स्थापनाकालदेखी हालसम्म अघिल्लो कार्यकाल छैठौ अधिवेशनसम्म कांग्रेसबाहेक अन्य कुनै पनि राजनीतिक दलका समर्थकले नेतृत्व गरेको छैन र यसपटक सातौँ अधिवेशनमा बुढो बाघलाई तन्नेरी स्यालले चुनौती दिन सक्ला त ?

विगतका अधिवेशनमा पनि निर्वाचनको तालिका तोकिएका हुन्थे अन्तिम अवस्थासम्म सहमतिबाट निर्णयहरू गर्दै पोर्चुगलको नेपाली समाजलाई एक ढिक्का भएको सन्देश दिन सफल भएको एनआरएनए, पोर्चुगल यति बेला कहाँनिर चुक्यो ? यो प्रश्न जति सजिलो छ यसका धेरै आयामहरू छन् यसका बारेमा अर्को बहस गर्नु आवश्यक छ तर आज, कांग्रेसको विरासत तोड्न नेकपा लागि परेको छ किन ?

एनआरएनएको विधानले भन्छ “ कुनै पनि राजनीतिक आस्था र सङ्गठनमा आबद्ध व्यक्ति एनआरएनएको नेतृत्व गर्न मिल्दैन ‘। तर जति बेला एनआरएनएको अधिवेशन आउँछ नेपालको झल्को दिने गरी चुनावको रडाको मच्चिन्छ प्रवासमा, हो यति बेला पोर्चुगलमा पनि त्यही नेपालको झल्को दिने गरी चुनावमा भोट माग्ने,आफ्ना समर्थकलाई खटाउने आदि गर्दै सामाजिक सञ्जाल रङ्गिएको छ। मानिसहरू यो तेरो मान्छे,यो मेरो मान्छे गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गर्दैछन् यसै सन्दर्भमा आगामी नेतृत्वका बारेमा केही चर्चा गर्नैपर्ने हुन्छ ।

कांग्रेसले यो पटक अघिल्लो पटक भन्दा पनि अधिकतम सहमति गरेर सर्वसम्मत कार्यसमिति चयन गरौँ भन्ने उच्चतम लचकतालाई “कमजोरी” ठानेर निर्वाचन सम्म धकेल्ने नेकपाको गलत बुझाइमा सङ्घीय समाजवादी फोरम र आदिवासी जनजाती महासंघ,पोर्चुगलले साथ दिएर वर्तमान नेतृत्वहरुले गम्भीर भूल गरेका छन् ।

कांग्रेसले सङ्घीय समाजवादी फोरम र आदिवासी जनजाति महासङ्घका तर्फबाट २ जना आइसिसी सदस्य, १ जना उपाध्यक्ष, महासचिव, महिला उपाध्यक्ष, कोषाध्यक्ष र अन्य ४ जना सदस्यको प्रस्तावलाई बेवास्ता गरेर नेकपाको तर्फबाट १ जना आइसिसी र एक वरिष्ठ उपाध्यक्षका लागि नेकपाको काँध थाप्नु पर्ने कस्तो बाध्यता थियो ? यसको जवाफ दिने आँट वर्तमान नेतृत्वमा छ ?

आफै समावेशिताको कुरा गर्ने, सीमान्तकृतहरूको कुरा गर्ने, अधिकारको कुरा गर्ने आदिवासी जनजाति महासंघ, पोर्चुगल र सङ्घीय समाजवादी फोरमले दुई पदका लागि मात्र नेकपाको काँध थाप्नु भनेको समुदायको अधिकारका लागि भन्दा पनि व्यक्तिगत स्वार्थका लागि अरूको कठपुतली वनेको कुरा छर्लङ्ग हुन आउँछ ।

अव, कुरा गरौँ आइसिसी उम्मेदवारहरूको। नारायणकाजी थापा (कांग्रेस) वर्तमान उपाध्यक्ष रविन्द्र अधिकारी (वर्तमान युवा संयोजक) धनराज शेर्पा (वर्तमान सल्लाहकार, सङ्घीय समाजवादी फोरमका अध्यक्ष), गोविन्द सापकोटा (वर्तमान उपाध्यक्ष नेकपा) यी चारै जना लिस्वनमा व्यवसाय गर्छन् । नेतृत्वका लागि व्यक्तिको आचरण र ब्यक्त्विले ठुलो भूमिका हुन्छ यो अर्थमा अन्य ३ मध्ये नारायण काजी थापा अब्बल छन् ।

अध्यक्षका उम्मेदवारको हकमा माथिको शीर्षक ठ्याक्क लागू हुन्छ । बाघ बुढो र स्याल तन्नेरी । विगत देखी कांग्रेसको आधिपत्य रहेको एनआरएनए, पोर्चुगलमा काङग्रेस ”बाघ“ हो भने नेकपा ”स्याल“नै हो कस्तो संयोग मिलेको भने दुई जना उम्मेदवारको उमेरको हिसाबले पनि तिलक प्रसाद गैरे ५० को हाराहारीमा पुगेका भने ईश्वर रिजाल भर्खर ३० काट्दै गरेका अब, बाघले सिनु त कहिल्यै खाँदैन तर यो पटकको बाघको चेलाले स्याललाई लखेट्न सक्यो भने पनि कांग्रेसले विरासत कायम गर्ने छ यदि लखेट्न सकेन भने नेकपाले नयाँ इतिहास लेख्ने छ। यस्तो अवस्थाको सृजना कसले कुन अवस्था र परिस्थितिमा भयो र गर्‍यो भन्ने अर्को लामो बहस हुनेछ।

के गर्छन यी दुई अध्यक्षका दाबेदारहरू?
तिलक गैरे हेर्दा जिम्मेवार जस्ता देखिन्छन्। सायद उमेरले पनि होला। यिनले आफ्नै रोजगारदाता एजेन्सीमार्फत पोर्चुगलका विभिन्न कृषि फारामहरूमा कामदार सप्लाई गर्छन् । परिवार सहित लिस्वन भन्दा करिब २ सय किलोमिटर टाढा ओदिमेरा भन्ने ठाउँमा बस्छन् भने उनका प्रतिस्पर्धा ईश्वर रिजाल केही पोर्चुगल आउनु अघि डेनमार्कमा विद्यार्थी भिसामा आएका थिए पछि पोर्चुगल आएर केही समय रेस्टुरेन्ट ब्यवसाय गरे तर ब्यवसाय नफापे पछि हाल ट्रान्सपोर्ट सम्बन्धी काम गर्छन् र परिवार सहित लिस्वनमा बस्छन् ।

अव चर्चा गरौँ वरिष्ठ उपाध्यक्षको ?
कांग्रेसले वर्तमान सदस्य भीमसेन थापा (रोशन काजी)लाई उम्मेदवार बनाएको छ भने नेकपा, सङ्घीय समाजवादी फोरम र आदिवासी जनजाती महासङ्घको गठबन्धनका तर्फबाट आन्द गुरुङ उम्मेदवार बनेका छन् ।

रोचक त यहाँ निर पो छ । उपाध्यक्षका अन्य २ पदमा कांग्रेसले अशोक गुरुङ र मच्छिन्द्र अर्याललाई अगाडी सारेको छ भने नेकपाको गठबन्धनले पेम्छिरी शेर्पालाई उभ्याएको छ तर अघिल्लो कार्यकालमा सोही पदमा पराजित भएका पत्रकार गणेश पाण्डे यो पटक पनि स्वतन्त्र उम्मेदवारको रूपमा उभिएका छन् अचम्म यहाँनिर छ उनकी धर्मपत्नी सम्झना अधिकारी पाण्डे सदस्य पदमा निर्विरोध निर्वाचन भइसकेकी छन् भने कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अशोक गुरुङलाई नेकपाले पनि सहयोग गर्ने भन्दै प्रचार गरिरहेका छन्।

महासचिवमा हेमराज सुवेदी नेकपाको तर्फबाट र प्रकाश कडरिया कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् भने कोषाध्यक्षमा हरि थापा नेकपा र विक्रम जङ कुँवर कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् भने युवा संयोजकमा कांग्रेसले दिनेश भण्डारीलाई अगाडी सारेको छ भने मिलन रेग्मीलाई नेकपाले उभ्याएको छ।

यी बाहेक एक—एक जना सचिव सहित अन्य सात—सात सदस्य नेकपा र कांग्रेसले सहमतिबाट बाँडफाँड गरेकोमा तुलनात्मक रूपमा नेकपा, सङ्घीय समाजवादी फोरम र आदिवासी जनजाती महासंघ,पोर्चुगलको संयुक्त प्यानलमा कांग्रेस बढी समावेशी देखिएको छ ।

निर्वाचन समितिले २ वटा मतदान केन्द्र तोकेको छ । लिस्वोन र अल्गार्भ, मोन्तेगार्दो, आल्वुफेईरा, ओदिमेरा आदिका लागि एक केन्द्र तोक्ने छ । कूल २ हजार १ सय २८ पञ्जीकृत सदस्य मध्ये १ हजार २ सय मत खस्ने प्रारम्भिक अनुमान गरिएको छ जसमा ६ सय ५० भन्दा बढी मत ल्याउने उम्मेदवारले जित हासिल गर्ने अनुमान रहेको छ ।

अव भोट कसलाई दिने ?
भोट दिनु व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर माथि दृष्टान्तमा चर्चा गरिएका उम्मेदवारहरूमध्ये आचरण, ब्यक्त्वि, समाजमा आई पर्ने हरेक समस्याहरूमा साथ दिने, जुझारु, सहयोगी भावना भएको, सोसल बनाई दिन्छु भन्दै, फिनान्स बनाई दिन्छु भन्दै, काम लगाई दिन्छु भन्दै, घर भाडामा मिलाई दिन्छु भन्दै, अनावश्यक प्रत्यक्ष वा अप्रत्यक्ष दुख दिने, सहयोगको नाममा पैसा उठाउँदै हिँड्ने, सहयोग लक्षित समूह वा व्यक्तिलाई नदिने वा प्रयोग नगर्ने, त्यसरी जम्मा गरिएका रकमहरूको कुनै हिसाब किताब नदेखाउने पारदर्शिता नहुने, मुखले बोल्दा ठिक्क पार्ने पछाडि छुरा हान्ने, मुडकी बजार्ने, धाक धम्की दिने जस्ता कार्यहरू गर्ने जोकसैलाई पनि सामाजिक संस्थाको नेतृत्व गराउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु होइन त ?

विवेक प्रयोग गरेर भोट हाल्नु होला । राम्रो एनआरएनए हुन नसके पनि नराम्रो चाही नहोस् र नबनाउ।

( लेखक अनेसास, पोर्चुगलका अध्यक्ष हुन् ।)



नयाँ