भारतीय प्रधानमन्त्री मोदीलाई युएईको ‘अर्डर अफ जायेद’ सम्मान
एएनआई,
प्रकाशित २०७६ भदौ ७ शनिबार
370
Shares
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ। यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन्।
युएईमा उच्चस्तरीय भेटवार्तापछि शनिबार उनलाई उक्त सम्मानले सम्मानित गरिएको थियो। यो सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई युएई सरकारले प्रदान गर्ने प्रतिष्ठित सम्मान हो।
यूएई भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले अरब क्षेत्र तथा एशिया क्षेत्रमा देखिने गरेका आतङ्कवादी गतिविधिप्रति चिन्ता प्रकट गर्दै भने, “आतङ्कवादविरुद्धको लडाईमा भारत सधैँ युएईको साथ रहेको बताउनु भएको थियो।”
युएईका संस्थापक शेख जायेद विन सुल्तान अल नहयानको नाममा स्थापना गरिएको उक्त सम्मानबाट सन् २००७ मा रुसका राष्ट्रपति भल्लादिमिर पुटिन, सन् २०१६ मा बेलायती महारानी एलिजावेथ र सन् २०१८ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ सम्मानित भइसक्नुभएको युएईको विदेश मन्त्रालयले बताएको छ।
सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम गत अप्रिलमा चयन भएको थियो।