डोटी । कलिलो उमेरकी ललिता झट्ट हेर्दा हसिलो अनुहारमा देखिन्छिन् तर, उनको जीवन निकै कष्टपूर्ण छ । मुहारमा क्षणिक हाँसो त आउँछ तर, क्षणभरमै विलिन हुन्छ । फेरी उस्तै दुःखभराउ अनुहार । डोटी दुर्गामाडौं गाविस खड्कावाडा भन्ने गाउँमा जन्मिएकी ललिता भट्ट अहिले २६ वर्षकी मात्र भइन् । २०६५ सालमा उनको विवाह भुमिराजमाण्डौं गाविस–१ चाकाका कृष्णराज जोशीसंग भएपछि ललिता भट्टबाट जोशी भइन् । विहे गरेको केही समयपछि पैसा कमाउन भारतको लुधियाना गएका ललिताका श्रीमान् कृष्णराज चार वर्षदेखि सम्पर्कविहिन भएपछि उनको जीवनका सवै खुशीहरु एका–एक हराए ।
बेपत्ता ‘दुई’ छोरा खोज्न गएका बाबु नै रहेनन्
श्रीमान् भारतमै हुँदा ललिता विरामी भइन् । ललिताकी सासु मन्धरीदेवीले आफ्नो छोरालाई फोन गरेर बुहारी बिरामी भएको खवर दिइन् । कृष्णले पनि ललितालाई भारतमै पठाइदिन भने । ललिता आफन्तहरुसंग २०६७ साल असारमा भारत गइन् । उनले श्रीमान्संगै बसेर उपचार गराइन् । निको भएपछि २०६७ मंसिरमा ललिता घर फर्किइन् । ललिताको चाहना श्रीमान् पनि संगै घर आउन भन्ने थियो तर त्यसो भएन । गर्भवती ललिता फर्किदा पनि आफन्तहरुसंगै फर्किइन् ।
‘अहिले पैसा पानी पनि छैन, तिम्रो उपचार गर्नमा खर्च भयो, तिमी जाउ म अर्को वर्ष दशैंमा आउँछु ।’ श्रीमान्ले अन्तिम भेटमा बाटो खर्चका रुपमा चार हजार रुपैयाँ दिँदै भनेका वाक्यहरु सम्झदै ललिता भन्छिन् ‘आफ्नो र आमाको राम्रोसंग ख्याल गर्नु है’ भन्नु भएको थियो ।’ जसरी सकिन्छ त्यसरी खानु, म यताबाट खर्च पठाउला भन्नु भएको थियो तर, फोन समेत गर्नु भएन । ललितालाई बिदाई गर्न कृष्ण लुधियाना बस अड्डासम्म आएका थिए । उनले ललितालाई ‘घर पुग्ने बित्तिकै फोन गर्नु है’ समेत भनेका थिए, ललिताले फोन गरिन् पनि तर, त्यो फोन सम्वादनै ललिता र कृष्णबीचको अन्तिम सम्वाद भयो ।
२०६७ साल मंसिरदेखि सम्पर्कविहिन भएका ललिताका श्रीमान् अहिलेसम्म पनि सम्पर्कमा छैनन् । सोही वर्ष पुषमा कृष्णले गाउँमा एक जना आफन्तलाई फोन गरी आफु लुधियानाबाट दिल्ली जान लागेको खवर गरेका थिए । आफुसंग भएको मोवाइल हराएको र अर्को मोवाइल लिएपछि फोन गर्ने भनेका कृष्णले त्यसपछि कसैलाई फोन गरेनन् न त उनी फर्केर नै आए ।
अरु समय जसो तसो हाँस्ने प्रयास गरिरहेकी ललिता २०६८ श्रावणमा जन्मिएकी छोरीले ‘मेरो बाबा कहिले आउने ?’ भनेपछि हुरुक्कै हुन्छिन् । ‘तेरो बाबा तँलाई राम्रो लुगा र बिस्कुट ल्याएर आउनुहुन्छ’ भन्ने झुटो आश्वासन दिनु वाहेक अरु कुनै विकल्प छैन उनीसंग ।
ललिताका देवर चेतराज भारतको मुम्बई जाने भनि १२ वर्ष पहिले घरबाट हिडेका थिए, त्यतिवेला त ललिताको विहे समेत भएको थिएन । बाल्यकालमै भारत गएका चेतराज पनि भारत गएदेखिनै वेपत्ता छन् । दुबै छोराहरु भारतमै बेपत्ता भएपछि छोराको खोजीमा हिडेका बुवाले पनि भारतमै मृत्युवरण गरे । अब घरमा ललिता, उनकी ६० वर्षीया बृद्ध सासु र चार वर्षीया छोरी मात्र छन् ।
दुई गाई, दुई बाख्रा पालेकी छन् ललिताले । जमिनको नाममा चार नाली खेत मात्रै छ । बिहानै उठ्ने गाईलाई घाँस काट्ने र दिउसो मजदुरी गरेर गुजरा गर्ने दैनिकी बनेको छ, अहिले ललिताको । छोरी ठुली हुँदै जाँदा उनलाई चिन्ता बढ्दै गइरहेको छ । भोली छोरी विद्यालय पठाउनु पर्छ, लुगाफाटो कापी कलम सवै चाहिन्छ छोरीलाई, त्यसको जोहो कसरी गर्ने ? उनी व्याकुल छिन् ।
आमा मन्धरीले त अब छोराहरु फर्किने आश पनि मारिसकेकी छन् । ‘विहे हुनु भन्दा पहिले पनि लामो समय भारतमा बसेका कृष्ण राम्रो कमाई गरेर घर फर्केपछि उनको विहे गराई दिएँ’ गहभरी आँशु बनाउदै मन्धरी भन्छिन् ‘म बुढी त दुःख सहिरहेकी थिएँ, यो बुहारीको बढी चिन्ता लागेको छ ।’ बुहारीको कलिलो उमेर देखेर उनी निकै झस्किन्छिन् । उनलाई आफुले अपराध गरेको अनुभुति हुन्छ । उनी सोच्छिन् कसरी बिताउँछे बुहारीले यत्रो लामो जीवन ?
छोराहरुको खोजीका लागि मन्धरीले आफन्तहरुलाई भारत पठाइन् । ज्योतिषी, धामीझाक्रीसम्म पुगिन् उनी । देउतालाई भाकल समेत गरिन् तर, छोराहरुको कुनै पत्तो लागेन । ‘सबै त देउता मिल्यो भन्छन् तर, मेरा लागि त न देउता छन् न ज्योतिषी’ मन्धरी भन्छिन् ‘रुदारुदै जीउ गलिसक्यो, आँखा कमजोर भइसके ।’ पहिले–पहिले आफ्ना छोराहरुलाई सपनामा देख्ने गरेकी मन्धरी अचेल त सपनामा पनि नआउने गरेको बताउँछिन् ।
तर, ललिताले भने आश मारिसकेकी छैनन् । निड्स नेपाल नामक गैरसरकारी संस्थाले सुरक्षित आप्रवासन सम्बन्धि परियोजना अन्र्तगत भारत तथा तेस्रो मुलुकमा बेपत्ता व्यक्तिका परिवारहरुको अवस्था बारेमा जानकारी लिने क्रममा घरमै पुगेको टोलीसंग कुरा गर्दै उनी भन्छिन् ‘भारतबाट धेरै वर्षपछि पनि घर फर्कने गर्छन्, एक दिन त मेरा श्रीमान् पनि आउनु होला भन्ने आशा छ, त्यही आशामा बाँचिरहेकी छु ।’