सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो
रासस,
प्रकाशित २०७६ भदौ ११ बुधबार
367
Shares
काठमाडौं। नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो।
खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन्।
चुनढुङ्गा लिने कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री, अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन्।
खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे पछिल्लो समय सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा, डोलोमाइट र खरीको खानी लिनेको सङ्ख्या बढेको बताउछन्। “घर तथा भौतिक पूर्वाधार निर्माणका लागि सबैले सिमेन्ट प्रयोग गर्ने भएकाले पनि यसका लागि चुनढुङ्गा लिनेको क्रम बढेको हो”, उनी भन्छन्।
आव २०७५-०७६ मा मात्र ४६ सिमेन्ट उद्योग तथा कम्पनीले चुनढुङ्गा उत्खनन गर्दै आएका छन्। चुनढुङ्गा उत्खननका लागि भित्री मधेश तथा पहाडी क्षेत्र राम्रो मानिन्छ।
सरकारले आव २०७५-०७६ मा सबै खाले खानी उत्खननको राजश्वबापत मात्र रु ६१ करोड ८१ लाख ५६ हजार आम्दानी गरेको छ। यस्तै खनिजको नवीकरणबापत रु १५ करोड १८ लाख आम्दानी भएको जनाएको छ।