डोटी । कलिलो उमेरकी ललिता झट्ट हेर्दा हसिलो अनुहारमा देखिन्छिन् तर, उनको जीवन निकै कष्टपूर्ण छ । मुहारमा क्षणिक हाँसो त आउँछ तर, क्षणभरमै विलिन हुन्छ । फेरी उस्तै दुःखभराउ अनुहार । डोटी दुर्गामाडौं गाविस खड्कावाडा भन्ने गाउँमा जन्मिएकी ललिता भट्ट अहिले २६ वर्षकी मात्र भइन् । २०६५ सालमा उनको विवाह भुमिराजमाण्डौं गाविस–१ चाकाका कृष्णराज जोशीसंग भएपछि ललिता भट्टबाट जोशी भइन् । विहे गरेको केही समयपछि पैसा कमाउन भारतको लुधियाना गएका ललिताका श्रीमान् कृष्णराज चार वर्षदेखि सम्पर्कविहिन भएपछि उनको जीवनका सवै खुशीहरु एका–एक हराए ।
श्रीमान् भारतमै हुँदा ललिता विरामी भइन् । ललिताकी सासु मन्धरीदेवीले आफ्नो छोरालाई फोन गरेर बुहारी बिरामी भएको खवर दिइन् । कृष्णले पनि ललितालाई भारतमै पठाइदिन भने । ललिता आफन्तहरुसंग २०६७ साल असारमा भारत गइन् । उनले श्रीमान्संगै बसेर उपचार गराइन् । निको भएपछि २०६७ मंसिरमा ललिता घर फर्किइन् । ललिताको चाहना श्रीमान् पनि संगै घर आउन भन्ने थियो तर त्यसो भएन । गर्भवती ललिता फर्किदा पनि आफन्तहरुसंगै फर्किइन् ।
‘अहिले पैसा पानी पनि छैन, तिम्रो उपचार गर्नमा खर्च भयो, तिमी जाउ म अर्को वर्ष दशैंमा आउँछु ।’ श्रीमान्ले अन्तिम भेटमा बाटो खर्चका रुपमा चार हजार रुपैयाँ दिँदै भनेका वाक्यहरु सम्झदै ललिता भन्छिन् ‘आफ्नो र आमाको राम्रोसंग ख्याल गर्नु है’ भन्नु भएको थियो ।’ जसरी सकिन्छ त्यसरी खानु, म यताबाट खर्च पठाउला भन्नु भएको थियो तर, फोन समेत गर्नु भएन । ललितालाई बिदाई गर्न कृष्ण लुधियाना बस अड्डासम्म आएका थिए । उनले ललितालाई ‘घर पुग्ने बित्तिकै फोन गर्नु है’ समेत भनेका थिए, ललिताले फोन गरिन् पनि तर, त्यो फोन सम्वादनै ललिता र कृष्णबीचको अन्तिम सम्वाद भयो ।
२०६७ साल मंसिरदेखि सम्पर्कविहिन भएका ललिताका श्रीमान् अहिलेसम्म पनि सम्पर्कमा छैनन् । सोही वर्ष पुषमा कृष्णले गाउँमा एक जना आफन्तलाई फोन गरी आफु लुधियानाबाट दिल्ली जान लागेको खवर गरेका थिए । आफुसंग भएको मोवाइल हराएको र अर्को मोवाइल लिएपछि फोन गर्ने भनेका कृष्णले त्यसपछि कसैलाई फोन गरेनन् न त उनी फर्केर नै आए ।
अरु समय जसो तसो हाँस्ने प्रयास गरिरहेकी ललिता २०६८ श्रावणमा जन्मिएकी छोरीले ‘मेरो बाबा कहिले आउने ?’ भनेपछि हुरुक्कै हुन्छिन् । ‘तेरो बाबा तँलाई राम्रो लुगा र बिस्कुट ल्याएर आउनुहुन्छ’ भन्ने झुटो आश्वासन दिनु वाहेक अरु कुनै विकल्प छैन उनीसंग ।
ललिताका देवर चेतराज भारतको मुम्बई जाने भनि १२ वर्ष पहिले घरबाट हिडेका थिए, त्यतिवेला त ललिताको विहे समेत भएको थिएन । बाल्यकालमै भारत गएका चेतराज पनि भारत गएदेखिनै वेपत्ता छन् । दुबै छोराहरु भारतमै बेपत्ता भएपछि छोराको खोजीमा हिडेका बुवाले पनि भारतमै मृत्युवरण गरे । अब घरमा ललिता, उनकी ६० वर्षीया बृद्ध सासु र चार वर्षीया छोरी मात्र छन् ।
दुई गाई, दुई बाख्रा पालेकी छन् ललिताले । जमिनको नाममा चार नाली खेत मात्रै छ । बिहानै उठ्ने गाईलाई घाँस काट्ने र दिउसो मजदुरी गरेर गुजरा गर्ने दैनिकी बनेको छ, अहिले ललिताको । छोरी ठुली हुँदै जाँदा उनलाई चिन्ता बढ्दै गइरहेको छ । भोली छोरी विद्यालय पठाउनु पर्छ, लुगाफाटो कापी कलम सवै चाहिन्छ छोरीलाई, त्यसको जोहो कसरी गर्ने ? उनी व्याकुल छिन् ।
आमा मन्धरीले त अब छोराहरु फर्किने आश पनि मारिसकेकी छन् । ‘विहे हुनु भन्दा पहिले पनि लामो समय भारतमा बसेका कृष्ण राम्रो कमाई गरेर घर फर्केपछि उनको विहे गराई दिएँ’ गहभरी आँशु बनाउदै मन्धरी भन्छिन् ‘म बुढी त दुःख सहिरहेकी थिएँ, यो बुहारीको बढी चिन्ता लागेको छ ।’ बुहारीको कलिलो उमेर देखेर उनी निकै झस्किन्छिन् । उनलाई आफुले अपराध गरेको अनुभुति हुन्छ । उनी सोच्छिन् कसरी बिताउँछे बुहारीले यत्रो लामो जीवन ?
छोराहरुको खोजीका लागि मन्धरीले आफन्तहरुलाई भारत पठाइन् । ज्योतिषी, धामीझाक्रीसम्म पुगिन् उनी । देउतालाई भाकल समेत गरिन् तर, छोराहरुको कुनै पत्तो लागेन । ‘सबै त देउता मिल्यो भन्छन् तर, मेरा लागि त न देउता छन् न ज्योतिषी’ मन्धरी भन्छिन् ‘रुदारुदै जीउ गलिसक्यो, आँखा कमजोर भइसके ।’ पहिले–पहिले आफ्ना छोराहरुलाई सपनामा देख्ने गरेकी मन्धरी अचेल त सपनामा पनि नआउने गरेको बताउँछिन् ।
तर, ललिताले भने आश मारिसकेकी छैनन् । उनी भन्छिन् ‘भारतबाट धेरै वर्षपछि पनि घर फर्कने गर्छन्, एक दिन त मेरा श्रीमान् पनि आउनु होला भन्ने आशा छ, त्यही आशामा बाँचिरहेकी छु ।’