arrow

बारको नेतृत्वमा कस्को पल्लाभारी ?

logo
प्रकाशित २०७२ चैत २० शनिबार
Bar-voting.jpg.jpeg
काठमाडौं । नयाँ नेतृत्व चयनका लागि आज नेपाल बार एसोसिएसनको निर्वाचन भईरहेको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने भएको छ ।  बारका देशभरबाट गरी ९ हजार ५ सय २२ मतदाता छन् । बारको नयाँ कार्यसमिति चयनका लागि देशभर ३३ निर्वाचन केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ ।
 
निर्वाचन समितिका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, उदयपुर, सिरहा, धनुषा, सर्लाही र काठमाडौंलाई मतदान केन्द्र तोकिएको छ । यसैगरी मकवानपुर, चितवन, पर्सा, बारा, रौतहट, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, नवलपरासी, रुपन्देही, दाङ, बर्दिया, बाँके, सुर्खेत, डोटी, कैलाली र कञ्चनपुरलाई पनि निर्वाचन केन्द्र तोकिएको छ । 
 
निर्वाचनमा लोकतान्त्रिक समूह र प्रगतिशील समुह प्रतिस्पर्धामा रहेका छन् ।  निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा शेरवहादुर केसी र प्रगतिशील समूहबाट विजयकान्त मैनाली उम्मेदवार बनेका छन् । पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
 
लोकतान्त्रिक समुह
लोकतान्त्रिक समूहले व्यवसायिक हकहित, सम्मान र सुरक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आफ्नो समूहलाई जिताउन आह्वान गरेको छ । यस्तै प्राज्ञिक तथा व्यावसायिक क्षमता विकासको अभिवृद्धि, स्वतन्त्र र सक्षम न्यायपालिका, अन्तर्रा्िष्ट्रय सहभागित, सहकार्य, र भ्रष्टाचारविरुद्धको साझा अभियानमा लोकतान्त्रिक जोड दिएको छ । 
 
निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा शेरवहादुर केसीले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा पनि अध्यक्षमा उम्मेदवारी दिएका केसी दोस्रो पटक अध्यक्षका उम्मेदवार बनेका हुन् । अघिल्लो निर्वाचनमा केसी प्रगतिशील समूहका उम्मेदवार हरिकृष्ण कार्कीसँग पराजित भएका थिए । उनी विजयी भएपछि बार चलाउने भन्दा महान्यायाधिवक्त बन्ने र न्यायाधिश बन्ने दौडमा लागेपछि उनले बारलाई धोका दिएको भन्दै आलोचना भएको छ । त्यसैले त्यतिवेला कार्कीलाई जिताउनु भन्दा केसीलाई जिताएको भए हुने थियो भन्ने तथस्त मतदाताहरुको प्रतिक्रिया आएको छ ।
 
अहिले पनि अध्यक्षका उम्मेदवार रहेका केसीले राजनितिक नियुक्ती पनि नखाने र न्यायाधिशको दौडमा पनि नलाग्ने प्रतिवद्धता जनाएकाले उनी प्रति विश्वास र सहानुभुती दुवै बढेको देखिन्छ । उनले बारलाई सक्रिय र स्थाई प्रतिपक्ष बनाउने प्रतिवद्धता जनाएका छन् । 
 
उनको समुहबाट पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा विनय सिंह, काठमाडौँ उपत्यका उपाध्यक्षमा मोतीराज गौतम, पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चलमा रेवतीरमण भट्टराई, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा गङ्गाराम पाध्य र महिला उपाध्यक्षमा शान्ता सेढाईँ सापकोटाले उम्मेदवारी दिएका छन् । यस्तै महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्षमा ज्ञानरत्न शाक्यको उम्मेदवारी परेको छ ।  
 
प्रगतिशील समुह
प्रगतिशील समूहकोले भने संविधान कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने, स्वतन्त्र न्यायपालिका, सक्षम र जवाफदेही न्यापालिकाको सृदृढीकरणका लागि निरन्तर क्रियाशील रहने, न्यायपालिकामा हुने भ्रष्टाचार नियन्त्रण गर्नेलगायत विषयलाई उठाएको छ । 
 
प्रगतिशील समूहबाट अध्यक्षमा विजयकान्त मैनालीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा पूर्वाञ्चलबाट टङ्क उप्रेती, मध्यमाञ्चल (उपत्यका बाहिर)बाट रामसहाय राय यादव र रमेश बडाल (उपत्यका), पश्चिमाञ्चलबाट गुमानसिंह अर्याल, मध्यपश्चिमाञ्चलबाट शालिकराम सापकोटा र सुदूरपश्चिमाञ्चलबाट कलानन्द उपाध्याय र महिलामा उषा मल्ल पाठकले उम्मेदवारी दिएका छन् । यस्तै महासचिवमा दीनमणि पोखरेल र कोषाध्यक्षमा हरिबहादुर खड्का चुनावी मैदानमा रहेका छन् । 
 
शनिवार मतदान सकिएपछि अन्तीम मतपरिणाम आउन चार पाँच दिन लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ