arrow

‘बाघ बचाउ, मृग नसिध्याउ’

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
news-mir-FNL.jpg.jpeg.jpeg
काठमाडौं । राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षले आफ्नो क्षेत्रभित्र सवारी साधनको गति सीमित मात्रै भनेको हुँदैन, हर्न समेत निषेध गरेको हुन्छ । त्यसका अतिरिक्त ठाउँ–ठाउँमा चेक जाँचको व्यवस्था समेत हुन्छ । तर, राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा सवारी हुँइकाउनेले बन्यजन्तुलाई ठक्कर दिन छोडेका छैनन् । 
 
नयाँ दिल्लीमा मन्त्रीस्तरीय तेस्रो बाघ सम्मेलन गर्ने भव्य तयारी हुँदा चितवनको भरतपुर उपमहानगरपालिकाको आँपटारीमा आइतबार विहानै बसले मृगलाई ठक्कर दिएर मारेको छ । जुन मृग गर्भिणी रहेको बताइको छ ।  नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ना ४ ख ४९७१ नम्बरको बसले आँपटारी चोकमा ठक्कर दिँदा मृग घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयमा बुझाएको छ । 
 
सहायक वन अधिकृत भरतप्रसाद पनुवारका अनुसार गर्भिणी मृगको उमेर करिब पाँच वर्ष थियो । चालकलाई राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत कारबाही गरिने पनुवारले बताए । यसअघि, चितवनको टिकौलीमा बसको ठक्करबाट जरायो र चित्तल मरेका थिए । यसरी, सवारी चालकहरुले मृगलाई ठक्कर दिई वन्यजन्तु मास्दै आएका छन् । जिल्लाको टिकौली, आपटाँरी, रामनगर क्षेत्रको सवारी गुड्ने बाटोमा वन्यजन्तु आवतजावत गर्ने हुँदा यस्ता घटना निरन्तर हँुदै आएका छन् । जसले वन्यजन्तु मासिने क्रम बढेको छ । 
 
यसैबीच, यही चैत ३० देखि वैशाख २ सम्म भारतको दिल्लीमा बाघ पाइने देशका मन्त्रीहरुको सम्मेलन हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाघ सम्मेलन आह्वान गर्न लागेका हुन् । सम्मेलनमा १३ देशका वन तथा वातावरणमन्त्री र विज्ञहरु सहभागि हुनेछन् । सम्मेलनमा बाघ संरक्षणको अवस्था र सन् २०१० पछिका उपलब्धी र चुनौतीबारे बहस हुने छ । नेपालका कतिपय स्थानमा बाघ लोप भएका छन् ।
 
तर, पर्सा वन्यजन्तु आरक्षमा ७, चितवन राष्ट्रिय निकुन्जमा १ सय २०, बाँकेमा ४, बर्दियामा ५० र कन्चनपुरको शुक्लाफाँटामा १७ बटा बाघ रहेको आँकडा छ । पछिल्लो गणनामा नेपालमा वयस्क बाघको संख्या १ सय ९८ छ । तर, यी पाँच क्षेत्र भन्दा अन्यत्र पनि बाघको गणना हुनु पर्नेमा त्यसो हुन सकेको छैन । खप्तड राष्ट्रिय निकुन्जलगायत केही स्थानमा समेत बाघ गणना भएको छैन । गणना नभएका क्षेत्रमा बाघ छन् वा छैनन् अथवा चोरी सिकारीले सकिए यसबारे भने यकिन तथ्याङ्क समेत सार्वजनिक भएको छैन । तेस्रो बाघ सम्मेलनमा यसबारे नेपालको वन मन्त्रालय र वातावरण मन्त्रालयले विमर्श गर्न जरुरी छ ।  



नयाँ