काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि दुवै नेताले आज उम्मेदवारी दर्ता गर्ने भएका छन् । दलको नेताको उम्मेदवारी दर्ता गर्न सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल विहान ११ बजे पार्टीको संसदीय दलको कार्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा जाने भएका छन् ।
निर्वाचन समितिले आज विहान ९ बजे देखि १२ बजे सम्म उम्मेदवारी दर्ताको समय तय गरेको छ ।
दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी/जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई १५ जनाको संसदीय समिति निर्वाचित हुने व्यवस्था गरिएको छ ।
काँग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति तय भएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२.३० बजे गरिनेछ । १२.३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १.३० बजेसम्म, नाम फिर्ता लिने समय १.३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ।
दलको नेताका लागि २४ गते बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । चैत २६ गते हुने संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम भने चैत २४ गते दिउँसोबाट सुरु हुने समिति सदस्य गुरु घिमिरेले बताए ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले काँग्रेसका २०७ जना सांसद निर्वाचनमा सहभागी हुने जानकारी दिए । व्यवस्थापिका संसदको आधिकारीक वेभसाईटमा भने काँग्रेसका अहिले १ सय ९८ जना सांसद रहेका छन्। ति मध्ये १ सय ६ जना प्रत्यक्ष निर्वाचित सांसद हुन भने ९२ जना समानुपातिक तर्फबाट भएका सांसद हुन् ।
मन्त्रीपरिषद्बाट मनोनित भएकाहरुलाई पनि काँग्रेसले आफ्नो पार्टीको मतदाताको रुपमा गणना गरेर कुल सांसद संख्या २०७ पुर्याएको हो ।
प्रमुख सचेतक श्रेष्ठले काँग्रेसको संसदीय दलको नेता बन्नका लागि पनि कुल मतदाताको पचास प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था रहेको जानकारी दिए । काँग्रेसको केन्द्रीय सभापति बन्नका लागि पनि कुल महाधिवेशन प्रतिनिधिहरुको पचास प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ ।
पार्टीको महाधिवेशनमा झै कृष्णप्रसाद सिटौला समुहले पनि उम्मेदवारी दिएमा देउवा र पौडेल मध्ये कुनै पनि नेताको बहुमत नपुगेमा दोस्रो चरणको निर्वाचन गर्नुपर्ने हुन्छ । तर सिटौला समुहका उमाकान्त चौधरीले भने आफुहरु संसदीय दलको नेताका लागि उम्मेदावारी दिने पक्षमा नभएको दावी गरे । उनले देउवा र पौडेल मध्ये कुन समुहलाई सहयोग गर्ने भन्ने बारेमा भने आन्तरिक छलफल भईरहेको जानकारी दिए । उनले आफ्नो पक्षमा अहिले सम्म कम्तीमा २६ जना सांसद रहेको र मतदान हुने बेला सम्ममा ३६ जना सम्म पुर्याउने गृहकार्य भइरहेको बताए।
२०७० साल माघ १२ गते आइतबार भएको संसदीय दलको नेताको निर्वाचनबाट निर्वाचित भएका पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको निधन भएकाले फेरी निर्वाचन गर्नु परेको हो ।