म्याग्दी । म्याग्दीको ग्रामीण भेगमा रहेको हेम उच्च माध्यमिक विद्यालयमा चार जना कलिला उमेरका आमाहरुले एसएलसी परिक्षा दिइरहेका छन् । म्याग्दीको सबै भन्दा दुर्गम गाविस गुर्जामा रहेको जनकल्याण माध्यामिक विद्यालयबाट एसएलसी परिक्षा दिनको लागि आएका हुन् ।
उनीहरुले साथमा बच्चा हेरचाह गर्ने सहयोगी आफ्नो सासु आमालाई राखेर परीक्षा दिइरहेका छन् । तमकुमारी छन्त्यालले पढ्दा पढ्दै २ वर्षअघि विवाह गरिन् । गएको वर्ष बच्चा सानै भएकाले परीक्षा दिन पाइनन् । १५ महिनाको छोरा लिएर परीक्षा दिदैं गरेकी छन्त्यालले भनिन्, ‘प्रेम बसेपछि पढाइलाई महत्व दिएनौँ, अहिले त्यसको महत्व बुझ्दैछु ।’ एसएलसी उत्र्तीण हुने आफ्नो एकमात्र उद्देश्य रहेको उनी बताउँछिन् । सोही परीक्षा केन्द्रमै ४ महिनाको बच्चा लिएर परीक्षा दिदैं छन्, जनकल्याण मावि गुर्जाकी दिलकुमारी छन्त्याल । १९ वर्षीया दिलकुमारीको एक वर्ष अघि गाउँमै विवाह भएको हो । प्रेम सम्बन्धले सानै उमेरमा विवाह भएर ‘छोरा भएपनि पढाइलाई संगै–संगै लैजाँदै गरेकी उनले पनि सम्झिइन्, ‘अध्ययननै सबै भन्दा मानिसलाई चाहिने रहेछ त्यो विवाहपछि मात्रै आफुले बुझेको र प्रश्न हल गर्न समय पनि पुग्दैन् । सरहरुले केही समय थप गर्नुहुन्छ ।’
यस्तै, किसानी मावि धारापानीबाट एसएलसी परीक्षामा सहभागि प्रतिक्षा केसीको साथमा ११ महिनाको छोरा छ । १४ वर्षकै उमेरमा आफुसंगै कक्षा सातमा अध्ययन गर्ने सहपाठीसंग प्रेम विवाह गरेकी प्रतिक्षाले पेटमा बच्चा आएदेखि लाजले विद्यालय जान सकिन, पछि बच्चा जन्मेदेखि यता करिव पाचँ महिना विद्यालय गइन, एक वर्षमा जम्मा करिव चार महिना अध्धयन गरेर परिक्षा दिन आएको –भनिन् । ‘तैपनि पाश हुने उद्देश्य बनाएकी छु, अहिलेसम्म राम्रै भएको छ’, बच्चालाई दुध चुसाउँदै उनले भनिन् ।
परीक्षामा प्रश्नोत्तरको तनाव त छदैँ छ, भोकले बच्चा रुँदा अझ बढी दबाबमा हुन्छिन्, उनी । ‘बच्चा धेरै रोएपछि अतिरिक्त समय मागेर बाहिर निस्केर दुध खुवाउँछु, बच्चालाई पनि हेरचाह त गर्नै पर्ने भो–प्रतिक्षा बताउँछिन् । तामक मावि ताकमबाट एक्जामटेट तर्फ परिक्षा दिदै गरेकी अन्जना केसीको साथमा ६ महिनाको छोरी छ । केसी पनि हाल १८ वर्षकी भइन् । उनले पनि प्रेम सम्बन्धकै कारण चाँडै विवाह गरिहालिन् । दुई वर्ष पहिले पढ्दा पढ्दै विवाह गरेकी उनी घरको काम काज गनुपरेकाले र बच्चा भएदेखि बच्चाको हेरचाह स्याहार सुसार गर्दा अध्ययन गर्नै नपाएर पहिलो सालको एसएलसीमा सफल हुन सकिनन् । पुनः यसपटक पनि परिक्षा दिदैँ छिन् । यसपटक समेत बच्चाको कारणले धेरै पढ्न त पाएको छैन तर पनि पास हुने सम्म प्रश्नको उत्तर लेख्ने गरेकी छु –केसीले सुनाइन् ।
बच्चालाई दुध चुसाउँदै परीक्षा दिदै गरेका यी चार परिक्षार्थी आमाले जिल्लामा बाल विवाहको अवस्था कस्तो छ भन्ने कुराको संकेत गर्दछ । समाजमा चेतनाको पर्याप्त विकास नहुनु, लहलहैमा लाग्नु र सानै उमेरमा प्रेम सम्बन्धमा फस्नु जस्ता कारणले प्रतिक्षा, तकमकुमारी र दिलकुमारी जस्ता विद्यार्थीले कम उमेरमै विवाह गर्ने गरेको पाइएको छ ।
हेम उच्च मावि स्रोत केन्द्रका केन्द्राअध्यक्ष सेर बहादुर केसीले घरपरिवारको स्वीकृती विना नै कक्षा ९ र १० का विद्यार्थी विवाह गर्ने गरेको बताए । केसीले भने, ‘विद्यालयमा शिक्षक, घरमा बाबाआमाको स्वीकृती हुदैन, तै पनि उनीहरु प्रेममा परी भागेर जान्छन्, सानै उमेरमा एक अर्कालाई मन पराएपछि अरु कुराको ध्यानै नदिई विवाह गर्ने गरेको, उनले भने, गाउँ घरको चलन पनि यसरी चल्दै आएको थियो हाल यो विगतका वर्षहरुमा भन्दा अहिले केही कम हुदै आएको छ ।’
कक्षा ८ देखि माथिका विद्यार्थीले छिट्टै विवाह गर्ने र बच्चा जन्माउने क्रम धेरै रहेको भेटिएको छ । ‘एउटै कक्षाका विद्यार्थी विवाह गर्छन्, अनि संगै स्कुल आउँछन्’, केन्द्राअध्यक्ष केसीले थपे, ‘विवाह गरेपनि सानै उमेरमा बच्चा नजन्माउन सुझाव दिए पनि यो क्रम पूर्ण रुपमा नरोकिएको देखिन्छ’ वेला–वेलामा बच्चाहरुलाई हेरचाह गर्नु पर्ने पारिवारिक तानाव भएकाले पनि उनीहरुले राम्रो संग अध्ययन गर्न पाउँदैन् ।
उनीहरुका लागि जिल्ला शिक्षा कार्यालयको अनुमतिले २० मिनेटसम्म समय थप गरिएको हेम उच्च मावि स्रोत केन्द्रका स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले जानकारी दिए । ‘अनुगमनका क्रममा पुगेका जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले भने, ‘मलाई पनि ती आमा विद्यार्थीहरु देख्दा नरमाइलो लाग्यो’ चेतनाको स्तर कम रहेका कारण ग्रामिण भेगमा बालविवाह बढी हुनेगरेकाले ‘युवा लक्षित शैक्षिक जागरण ल्याउनुपर्दछ ।’ बालविवाह रोक्न समाजमा बालविवाह सम्बन्धि चेतनामुलक कार्यक्रम गर्ने र समाजलाई आफै सक्रिय बनाउनु पर्ने देखिन्छ ।