arrow

गाईगोरु मृत्यु प्रकरणमा दुई सय ८७ पृष्ठको प्रतिवेदन छानबिन समितिद्वारा पेश    

logo
प्रकाशित २०७६ असोज १४ मंगलबार
cows.jpeg

राँझा । नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई हस्तान्तरण गरेका छन् ।      
     
समितिले गरेको स्थलगत निरीक्षण, अनुगमन तथा सरोकारवाला निकाय र व्यक्तिहरुबाट सङ्कलित तथ्य र विवरणका आधारमा तयार गरेको २८७ पृष्ठको प्रतिवेदनमा कान्जी हाउसमा रहेका र नगरमा छाडा अवस्थामा रहेको गाईगोरुको उचित व्यवस्थापनका लागि सुझावहरुसमेत पेश गरिएको संयोजक आचार्यले जानकारी दिए ।     
     
गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० गाईगोरुमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि गाई–गोरुको अस्वाभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न चौतर्फी दबाब भएपछि उपमहानगरपालिकाले नेपालगञ्ज बारका अध्यक्ष आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो ।     
     
समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालकलगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक आचार्यले जानकारी दिए ।      
     
समितिले नेपालगञ्जको कान्जी हाउसबाट सुर्खेत–दैलेख लैजाने क्रममा ३९ वटा गाईगोरु मृतावस्थामा पाइएको घटनामा सुरक्षित रूपमा पशु ढुवानी मापदण्ड पूरा नगरी ढुवानी गरेको, ढुवानीकर्ता र जिम्मा दिइएका कर्मचारीहरुले आवश्यक सतर्कता नअपनाएको र सम्बन्धित निकायमा समयमै सूचना नगरेको कारण अकल्पनीय घटना हुन पुगेको स्थलगत अनुगमन र छानबिनका क्रममा उपलब्ध तथ्यहरुले देखाएको उल्लेख गरिएको छ ।     
     
 छानबिन समितिले गाईगोरुको हत्या नियोजित रुपमा गरेको नभई समयमै अपनाउनुपर्ने सतर्कता नअपनाई लापरवाही गरिएको कारणबाट हुन गएको जनाएको छ । “उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई गाईगोरु ढुुवानीका लागि सहजीकरण गरी दिन पत्राचार गरेको देखिन्छ । दैलेखबाट गाईगोरु माग गरिएका कागजात लगायतका प्रमाणको कुनै अध्ययन नै नगरी अनुमति दिएको छानबिनका क्रममा देखिएको छ ।     
     
छानबिन टोलीले आगामी दिनमा यस्ता घटना हुन नदिनतर्फ नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पालन गरेका पशुपक्षीहरुको तथ्याङ्क यकिन गर्ने, पशुपक्षी पालन गर्ने व्यक्ति÷सङ्घसंस्थालाई पूर्ण जिम्मेवार बनाउन ट्याकिङ गर्ने, पशु बीमा गर्ने र बेवारिसे छाड्नेलाई नीतिनियम तथा कार्यविधि बनाई लागू गर्नुपर्ने सुझाव दिएको छ ।     
     
प्रतिवेदन बुझ्दै नगरप्रमुख राणाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई यहाँको कान्जी हाउसबाट दैलेख पठाउने क्रममा उक्त घटना भएको थियो । उपमहानगरपालिकाले नियतवश घटना भएको अस्वीकार गर्दै आएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ