काठमाडौं। काँगेस संसदीय दलको नेता चुनिएसँगै शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि बाटो खुला भएको छ। वुधबार भएको निर्वाचनमा देउवाले महाधिवेशनकै प्रतिस्पर्धी रामचन्द्र पौडेललाई ७२ मतले हराए। देउवाले १ सय ३९ मत ल्याउँदा पौडेलले ६७ मत ल्याए। कुल २ सय ७ मतदाता रहेकामा नरहरी आचार्यको एक मत कम खसेको थियो। आचार्य स्वास्थ्यलाभ गरिरहेका छन्।
१३औं महाधिवेशनताका तत्कालिन सभापति एवं संसदीयदलका नेता सुशील कोइरालाको निधनपछी तित्तरवित्तर भएका नेता तथा कार्यकर्तालाई बटुल्दै देउवाले पार्टी र सत्ता आफ्नै हातमा लिन वातावरण सिर्जना गरे। यद्यपि, संसदीय दलको नेता विर्चाचित भएलगत्तै समेत देउवाले आफुहरुलाई सरकारको हतारो नभएको र बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने सुनाए ।
औपचारिक रुपमा अझै देउवाले पार्टीभित्रको एकता र सहकार्यकै नारा लगाइरहेका छन्। व्यवहारतः उनले लोमो समयपछी फेरि सरकार चलाउने माहौल निर्माण गरिसकेको स्रोत बताउँछ। तीन पटक प्रधानमन्त्री भइसकेका देउवाले कांग्रेसलाई सरकारमा जान हतारो नभएको बताउँदै आएपनि संसदीय दलको नेताका लागि लगातार तेस्रो पटक चुनाव लड्नुले समेत सरकारमा जाने बाटो तय गरेको प्रस्ट हुन्छ। संसदीय दलको यसअघि भएका २ निर्वाचनमा देउवा पराजित भएका थिए।
पार्टीको १३औं महाधिवेशनपछी एक महिनामा दुई पटक बरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका देउवाले आफुलाई सर्वसम्मत संसदीयदलको नेता बन्नका लागि सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा पौडेलले पार्टीमा मेलमिलाप र एकताको वातावरण सिर्जना गर्न तथा बाहिर सकारात्मक सन्देश दिन आफुलाई संसदीय दलमा सघाउन भनेका थिए। पौडेलले तपाई सभापति भइसक्नु भयो, संसदीय दलमा आफुहरुलाई सघाएर अघि बढौं समेत भनेका थिए। तपाइकै सल्लाह अनुसार अघि बढौंला भनेर निस्केका देउवा पछि भने सम्वाद र सल्लाहका लागि पौडेल कहाँ गएनन्। फेरि पनि देउवाले संगै जेल परेका र दुःख काटेका दौतरी भन्दै पौडेललाई साथमा लैजाने उद्घोष गरेका छन् ।
देउवाको रणनीतिको रफ्तार भने छुट्टै छ। चुनाव जित्नुअघि देउवा हरेक समय पौडेल पक्षधर सांसदहरुलाई रिझाउनतिर लागे। नभन्दै देउवाले आफ्ना प्रतिष्पर्धी रामचन्द्र पौडेललाई समर्थन गर्ने विश्वास गरिएका पद्मनारायण चौधरीलाई आफ्नो समर्थक बनाएर उमेद्वारी दर्ता गराए। देउवाको मनोनयन दर्ता गर्दा प्रस्तावक पनि महाधिवेशनकै क्रममा आफूतिर ल्याएका फरमुल्लाह मन्सुर थिए। मन्सुर त्यसअघि तत्कालिन संस्थापन पक्षतिर थिए। उनी आफुलाई कोषाध्यक्षको उम्मेद्वार बनाउने बचन पूरा नगरेको भन्दै देउवातिर लागेका थिए।
चौधरीको समर्थनले रामचन्द्र पौडेललाई ठूलो धक्का लाग्यो। जुन देउवा निर्वाचिन भएपछि संसदीय दलको कार्यालयमा विमलेन्द्र नीधि, मन्सुर र चौधरीलाई आएको बधाईको ओइरोले समेत पुष्टी गरेको छ। १२औं महाधिवेशनमा दिवंगत पूर्व सभापति सुशील कोइराला पक्षबाट पद्मनारायण कोषाध्यक्षका उम्मेद्वार थिए । १३औं महाधिवेशनमा भने देउवा पक्षबाट सिराहाकै चित्रलेखा यादव, पौडेल पक्षबाट पनि सिराहाकै सीतादेवी यादव थिए ।
संस्थापन पक्षबाटै अन्तर्घात भएर हारिएको भन्दै सिराहाकै पद्मनारायण महाधिवेशनपछि पनि पौडेल समूहसँग रुष्ट रहँदै आएको निकटस्थहरु बताउँछन् । सिराहामा पनि चौधरीलाई संस्थापन पक्षकै नेताहरुले एक्ल्याउने प्रयास भएपछि उनी शसंकित थिए। त्यसमाथि पौडेल कोइराला समूहमा धेरै उपगुटहरु भएको र एकले अर्कालाई देखि नसहँदा आफूहरु जस्ता नेता कार्यकर्ताहरु मारमा परेको बुझाइपछि उनी पौडेल समूह त्याग गरी देउवा समूहमा गएको बताइएको छ।
यसअघी काँग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा पनि चौधरी तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलसँग असन्तुष्ट भए। उम्मेदवारी घोषणा गर्दा रामचन्द्र पौडेलले कोषाध्यक्ष खालि राखेपछि अघिल्लो महाधिवेशनमा संस्थापनबाट कोषाध्यक्षका उम्मेदवार बनेका पद्यमनारायण चौधरी असन्तुष्ट बनेका हुन् । उनले तराई–मधेसका बासिन्दालाई निश्चित स्वार्थपुर्ति गर्नमात्र प्रयोग गर्ने पुरानै परम्पराको विरोध समेत गरे । सबै प्रमुख पार्टीमा यस्तो समस्या रहेको बताए । उनले पौडेलप्रति असन्तुष्टि पोखेका थिए ।
पार्टीका नेताहरुको प्रवृत्ति प्रयोग गर्ने खालको मात्र भएको उनको टिप्पणी थियो। पौडेलले आफ्नो समूह घोषणा गर्नुअघिसम्म चौधरीलाई कोषाध्यक्षको उम्मेदवार बनाउने आश्वासन दिएपनि उनलाई पछि उमेद्वार बनाइएन। बरु उनलाई पदाधिकारीहरुको प्रस्तावक बनाइयो। आफूमाथि एकपछि अर्को धोका दिएको बुझाइ राखेका चौधरी देउवाको समर्थक बन्दा निकै खुसी थिए ।
देउवाले सत्ता समीकरणका लागि यसरी रणनीति अपनाए। देउवाले महाधिवेशनबाटै संसदीय दलको माहोल बनाइसकेका नेताहरु बताउँछन्। पदाधिकारी मनोनयनलाई पेन्डिङ राख्नुको उद्धेश्य समेत देउवाको संसदीय दलको नेता जित्ने एक रणनीति रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार देउवाले संसदीय बोर्डमा ल्याउन समेत मिठो बार्गेनिङ्ग गर्न सके। यो संगै देउवा अब प्रधानमन्त्रीको स्वभाविक उम्मेद्वार भएका छन् । ओली सरकारबारे विभिन्न टिप्पणी भइरहेका बेला देउवासंग दल बल जुटेको छ। देशकै ठूलो दलका सभापति संसदीय दलको नेता हुँदा अब अन्य राजनीतिक दलहरुलाई पनि एकै नेतासँग कुरा गरेर निर्णय गर्न सहज हुने भएको छ। नयाँ सत्ता समिकरण बनाउन पनि देउवालाई यस अर्थमा सहज हुन्छ भने अरु दललाई पनि सहज हुन्छ। सबै घटनाक्रमले यहि देखाएको छकी देउवाको प्रधानमन्त्रीको बाटो खुला भएको छ।