एनआरएनएको अधुरो अधिवेशन र निर्वाचन

राजेन्द्र जमरकट्टेल, प्रकाशित मिति : २०७६ कार्तिक ९ शनिबार
राजेन्द्र जमरकट्टेल

जापान। नवौं गैरआवासिय नेपालीहरुको सम्मेलनमा भाग लिन नेपाल आउनुअघी उत्पन्न कौतुहलता र नेपाल आएपछि देखिएको घटनाक्रम, उम्मेदारहरुको हौसलासँगै छटपटी, निरस चुनाबी अभियानले यो पटकको एनआरएनएको चुनावको बारेमा मिश्रीत खालको धारणा बनेको छ। हायत होटेलका कोठाकोठामा नेताहरुको उपस्थितीले नेपालकै २०४८ साल पछिका आमचुनावको झझल्को दियो। हुनपनि २०४८ पछि राजनीतिक रड्गको बैसाखी बोकेर बिदेशिएका जमातको ठूलो उपस्थिती र त्यसबेलादेखिको राजनीति नशा अझै नपखालिएको तिनै साथीहरुको बोलीचालि र घोचपेचमा देखिन्थ्यो । पुरानै हुँकार, घमण्ड, दोहोरो राजनितीक चरित्र अझै देखियो। कृष्ण प्रसाद भट्टराईलाई हराएर कांग्रेसभित्रै क्रान्तिकारी बन्ने चरित्र, त्यही बिकाउबाद, त्यही सुरासुन्दरीमा मरिहत्ते गर्ने प्रवृती मात्रै होइन केही नेताहरुको चुनाबी खर्चको जोहो गर्न् लालसा, केहीनेताहरुको पोको पारेको धनको ब्यबस्थापन गर्ने मोह र स्वार्थको प्रष्ट छाँया चुनाब अघिको कानेखुशी र चुनाबको नतिजा पछिको अंकमालले घाम जस्तै छर्लड्ग पारेको छ।

हिजो केशव स्थापितले स्विकारेको विधवाको साडीमा रातों रड्ग छर्केर सहानुभूतिका साथ जिताएको चुनाब जस्तो भिषा र पासपोर्ट नै नहुनेहरुलाई गैरआवासियको बिल्ला भिराएर मन्चन गरिएको चुनाब ककसको स्वार्थको लागी गरिएको थियो त्यो प्रश्न सधै उव्जिरहनेछ। ति अभिष्टहरु पुरा भयो भएन उनीहरुकै आत्मा र विवेकले स्वीकार्नु वाहेक अरुको लागि अर्थहिन रहयो। जित्नेलाई साध्य भयो होला हार्नेलाई घातक बन्यो होला। गैरआवासिय चुनाब अलि अलि कुमले मिच्ने, अलि अलि बल र बोलीले धम्काउने, अलि अलि जालझेल, अलिअलि ख़रीद गरेर भएपनि गोल गरेर जितिने खेल रहेछ भन्ने धेरैलाई परेको छ। गैरआवासिय नेपालीहरुको चुनाब त्यस्तै झल्को र अनुभूति गरे सायद आम देशबासीले।

हार्नेको हारको स्वीकारोक्तिसँगै जित्नेले समेत सोच्ने बेला भएको छ। जीतको उन्मादले कतै भोली पनि यसरी नै जिताउछु भन्ने पनि परेको होला। खेलाडी, खेलको मैदान, नियम, रेफ्री पनि हाम्रै हुँदा फेरी पनि जित्ने हामी नै हो भनेर खेल त पटक पटक जितिएला तर खेल मैदान धरासायी बन्दै गएकोमा सोच्ने बेला भएको छ। हेक्का राख्नु पर्ने बेला भएको छ नब निर्वाचित टिमले, बालुवाटारको जग्गा भुमाफियाहरुले चक्लाचक्लामा परिणत गरेजस्तै मैदान सकाएर इन्डोनेसियाको वाली, फिलिपिन्सको मनिला, थाईल्याण्डको रड्गमञ्चमा गएर अधिबेसन गर्ने दिन नआउला कसरी भन्ने ? नेपाली बेरोजगारहरुको घुसपैठ, उम्मेदारहरुको राजनितीक स्वार्थ, कालाधनबादीहरुको ब्यवसायिक स्वार्थले झाँगिएपछि यो अभियानलाई भोलिको नयाँ पुस्ताले पक्कै आत्मासाथ गरि स्वीकार्ने छैनन।

जहाँसम्म एनआरएनए पहिलो पुस्ता धनाढ्यहरुको पहुँचमा रहेपनि अब यो सधै सम्भब नरहला। नबधनाढ्यहरु जन्मदै गर्दै पनि यस्तै चुनाबी भार उनीहरुको लागी पनि सम्भब नहोला । यो चुनाव सबैका लागि बोझिलो भारी बन्दै गएको छ। बेला र समय भएको छ यों गैरआवासिय नेपालीहरुको संगठनको साख जोगाउन, चुस्त र दुरुस्त पार्न। आजको नेतृत्वले आफुलाई खरो उतार्न सक्नु पर्छ। यसरी पैसावालहरुको नेतृत्व मात्र खोजियो भने आम गैरआवासिय नेपालीहरुको बितृष्णा थेगेर थेग्न सकिदैन । अब बौद्धिक जमात र युबाहरुको लगनलाई संस्थाको पुँजीको रुपमा पहिचान गर्न चुक्नु हुँदैन। सधै बिकाउ बस्तुको रुपमा उपयोग गरियो भने एकदिन आफै घातक सिद्ध हुनेछ। आजको दिनमा संस्थापकको मात्र बिमती रहयो भोली दिनमा अन्य पूर्ब अध्यक्षहरुको वितृष्णा जाग्दै जाँदा आजका नब धनाढ्यहरुको पनि के अर्थ र औचित्य रहला र । पदको समयावधिको समाप्तिसँगै संस्थाको औचित्यको ह्रास हुदै गयो भने ज़िम्मेवारी कसले लिने ? यस्ता प्रश्नहरु आजको नेतृत्वको लागि तेर्सिएका छन्।

त्यसकारण हामीले हाम्रो निर्वाचन प्रणालीमा पुनर्विचार गर्नु पर्ने बेला भएको छ। अब हामीले हाम्रो संगठन सार्थक र सवल बनाउन दशैं तिहारको बिदाको समयलाई होईन मंसिर र फाल्गुनको लगनलाई रोज्नु पर्छ। समय मात्र परिवर्तन गर्यौ भने उम्मेदारले चलखेलमा गर्नुपर्ने ९० प्रतिशत रक़मको बचत हुन्छ। चुनाबी समयमा केही रातका बितण्डाहरु त्यसै समाप्त हुन्छन र स्वच्छ र ऐतिहासिक महाधिबेसन बन्ने छ। न डेलिगेट बन्न हानथाप हुन्छ न डेलिगेट बनाउन उम्मेदारले बैंक खाता ख़ाली गर्नुपर्ने नै वाध्यता हुन्छ। सबै घुसपैठको जड नै दशैं तिहारको बिदा हो। गैरआवासियहरुको साख देशबासीहरुको नजरमा जोगाउन पनि निर्वाचन प्रणालीमा आमुल परिवर्तन गर्न नसके पनि चुनाबको लगन सार्नु अर्को बिकल्प हुनसक्छ ।

नब निर्वाचित अध्यक्षतको स्वीकारोक्ति र लचकताले संगठनमा केही हदसम्म रक्तसंचार गरेपनि निवर्तमान अध्यक्षले समापनमा गुमाएको साखलाई ढाकछोप गर्न सिमित हुने हो वा साँच्चै परिवर्तन खोज्नु भएको हो अबका केही महिनाले देखाउला। मिडियामा निस्केका प्रश्नहरुको जबाफ आजको नेतृत्वले दिनुपर्ने छ। आठौ कार्यकालको समाप्ति चुनाबी नतिजामा मात्र सिमित रहन पुग्यो किन सोचे अनुरूप समापन हुन् सकेन?       

म आफु जापानबाट प्रतिनिधित्व गर्दै गर्दा दुबै कोषाध्यक्षका प्रतिस्पर्धी जापानकै रहे पनि मेरो समर्थन रहनु भएका महेशकुमार श्रेष्ठले पुर्ण बहुमतले जीत हासिल गर्दा खुशी छु। तर पनि त्यती नै शंका उपशंकाले आफैलाई घेरेको पनि छु। दुई बर्षे कार्यकाल समापन के कसरी र कति उपलब्धिमुलक रहन्छ सस्थाको हितमा के कस्ता निर्णय र नितीगत परिवर्तन गर्न सकिन्छ त्यसपछि मात्र साच्चैको जीत मानिनेछ। आठौ कार्यकालको समापनमा पारित हुन नसकेको कोषको बिवरण कसरी पारदर्शी र सार्वजनिक हुनेछ यो गम्भिर सवाल छ। चैत्रको हावा र हुरीले नुहेको बाँसको लिड्गो जस्तो कोषको हालतलाई कसरी इन्द्रजात्राको सालको लिड्गो जस्तो कसरी उभ्याउन सक्नेछन नयाँ कोषाध्यक्षको परिक्षाको घडी यहिबाट शुरु भएको छ।

(जमरकट्टेल एनआरएनए जापानसँग आवद्ध छन्।)

नयाँ