arrow

डाइभर्सनको विरोधमा कालीगण्डकी महोत्सव

विश्वमै कालीमा मात्र पाइने शालिग्राम संरक्षणमा महाआरती

logo
सीता डोटेल,
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
kaligandaki2.jpg

पाल्पा, रामपुर । मुक्तिनाथ–देवघाटको गरिमा बोकेको कालीगण्डकी नदीको महिमा जोगाउन साथै नदी डाईभर्सनको विरोध स्वरुप कालीगण्डकी महोत्सव हुने भएको छ । नदीको स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपुर क्षेत्रका बासिन्दाले एक्यवद्धता जनाउदै कात्तिके ठुलो एकादशीको अबसरमा महोत्सव गर्न लागेका हुन् ।     

पाल्पाको रम्भा गाउँपालिकाले हरिबोधनी एकादशीका दिन हुँगी असेर्दी उत्तरबाहिनी क्षेत्रमा हुने बृहत् कालीगण्डकी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नदी डाइभर्सनले तल्लो भागमा वातावरणीय, मानविय, सामाजिक तथा धार्मिक असर पर्ने भएकाले कालीगण्डकी संरक्षण, शालिग्रामको महत्व उजागर गर्ने तथा धार्मिक संस्कृति जोगाई राख्न राष्ट्रिय भजन प्रतियोगिता गर्ने गरि महोत्सवको आयोजना गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ‘‘नदीको आफ्नै महत्व छ, अध्यक्ष भण्डारीले भने– जल नबहने नदीको अस्तित्व कहाँ हुन्छ, हामी बाच्ने र वातावरण बचाउने नदी जोगाउन लागिपरेका हौं । ’’ महोत्सवका लागी रम्भा गाउँपालिकाले २ लाख रकम विनियोजन गरेको छ ।

५ वर्षअघि कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना संचालन गर्ने गरी सरकारले योजना अगाडी बढाएको थियो । यो योजनाले प्रभावित क्षेत्रका स्थानीय जनतालाई असर पार्ने ठहर गर्दै पाल्पाको उत्तर पुर्व भेगका स्थानीय र गण्डकी प्रदेशका नागरिकले कडा विरोध गर्दै आइरहेका छन् ।

राम्दीदेखि झण्डै १२ सय मिटर तलबाट ३० किलोमिटर सुरुङ खनेर कालीगण्डकीको पानीलाई तिनाउमा लैजाने योजना सरकारको छ । यो नदी डाइभर्सनको योजनाले तल्लो क्षेत्रमा मानव जीवन, वातावरण र जलचर तथा उत्पादनमा असर पुग्ने बताउदै यसको दिगो व्यवस्थापनमा नदी डाईभर्सनको विकल्प खोजिनुपर्ने भन्दै विरोधका कार्यक्रम गर्दै आएका हुन् । नदी हाम्रो अस्तित्व हो, नदी निरन्तर बगेकी छन् र हाम्रो जीवन पनि निरन्तर चलेको छ यहाँ नदी नै नभए हामी मरुभुमि जस्तै बन्छौ–रम्भा १ का नारायण प्रसाद भट्टराईले भने ।

सरकारले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागमा सिंचाई र जलविद्युत्त उत्पादन गर्ने योजना अघि सार्दै कालीगण्डकी नदी डाईभर्सन योजना ल्याएको थियो । स्थानीय स्तरमा लामो समयदेखि यो योजनाको विरोध हुदै आएको छ । ५ नम्बर प्रदेश र गण्डकी प्रदेशको साझा नदीको रुपमा रहेको यो नदीलाई संघले एकलौटी पाराले चलाउन नहुने भन्दै स्थानीय विविध ठाउँमा विरोध स्वरुप कार्यक्रम हुदै आएका छन् ।

यसैबिच विश्वमै भगवान् शालिग्राम शिला पाइने यो नदीको अस्तिव जोगाउन धार्मिक तिर्थस्थल कालीगण्डकीको किनार केलादीधाममा प्रथम महाआरती महोत्सव हुनेछ । शालिग्राम पाइने नदी जोगाइराख्न कालीगण्डकी डाइभर्सनको बिरोध गर्दै महोत्सव गर्न लागेको केलादीधामका सचिव घनश्याम खनालले बताए । राधा दामोदर मन्दिर नेपाल निम्वार्क पिठ केलादीघाट धामको समन्वयमा यस क्षेत्रका विभिन्न संघसंस्थाले नदीमा तोरन तारेर साझँ ५ देखि ७ बजेसम्म महाआरती गर्नें तयारी गरेको छ । केलादीधाम बैष्णब धर्मालम्बीको केन्द्रिय कार्यालय हो ।

विश्वमा शालिग्राम पाइने नदीका नामले प्रख्यात कालीगण्डकीलाई डाइभर्सन गर्न नहुने, नदी डाइभर्सन भएको खण्डमा शालिग्रामको अस्तित्व संकटमा पर्ने भएकाले महोत्सव गरि नदी बचाउ अभियानमा जोड दिइएको खनालले बताए । नदी, धार्मिक स्थल, संस्कृतिले पनि समाज सामाजिक बनेको छ यही नदी र धार्मिक आस्था नास गर्ने हो भने के को सास्कृतिक र सामाजिक भयौं र यसैलाई जोगाउन प्रत्येक हरिशयनी ठूली एकादशी र हरिबोधनी एकादशीमा विबिध कार्यक्रम हुदै आएका छन् अहिले अझ बिशेष कार्यक्रम गरिएको हो । असारको एकादशीमा रोपिएको तुलसीको विवाह गरी गण्डकीमा तोरण तारी पुजन गर्नाले यस लोकमा कल्याण र परलोकमा समेत मुक्ति हुने जनविश्वास रही कालीगण्डकीको दर्जनौं स्थानमा तोरण तार्ने गरिन्छ ।

निकै महत्व बोकेको कालीगण्डकी नदी डाइभर्सनको योजना अघि सारेदेखि विरोध हुदै आएको छ । कालीगण्डकीको बिषयमा पिएचडी गर्नुभएका विज्ञ डा.कुलराज चालिसेको नेतृत्वमा वि.स.२०७१ सालमा सवा करोड बेलपत्र नदीमा चढाउदै सांकेतिक रुपमा नदी डाईभर्सनको बिरोध गरिएको थियो । त्यसयता बिभिन्न सभा सम्मेलन तथा स्थानीय स्तरमा अन्तरक्रिया र चर्चा गर्दै नदी डाभईसन गर्न नहुने भन्दै स्थानीयले यसको विरोध गर्दै आएको छ ।

सरकारले कालीगण्डकीको यही भाग राम्दीदेखि देवघाट खण्डमा व्यवसायिक र्‍याफ्टिङ सञ्चालनको लागि रकम विनियोजन गरेको छ यही खण्डमा नदी डाइभर्सन योजना कसरी अगाडी बढ्छ–नेपाल सरकारका पुर्व सचिव शान्त बहादुर श्रेष्ठले भने । नदी डाईभर्सन भएको खण्डमा धार्मिक धरोहरको रुपमा रहेको नदी आसपासका राम्दी, मालुङ्गा, खैरेनी, सिद्धवावा,ज्याग्दी खोरियाघाट, तातोपानी, रामघाट, केलादी, बालिघाट, देवघाट लगायतका २ दर्जन बढी धार्मिक स्थल धरापमा पर्ने र आम नागरिकको धार्मिक धरोहर नासिने उहाँको भनाई छ । मानव संस्कार नास मात्र होइन, यहाँको पानीको सतह घट्नेछ, जसले गर्दा हरियाली सँगै उत्पादन कम भएर उजाड बन्नेछ, जलचर र बस्तुभाउ बचाउन गाह्रो हुनेछ । तापक्रम बढ्नेछ भने हाल परिरहने आकाशको पानीको मात्रामा ६० प्रतिशत पानी नदीको बाष्पिकरणबाट पर्नेमा पानी पर्ने संभावना घटेर जानेछ ।

पाल्पाको रामपुर नगपालिका, रम्भा गाउँपालिका, स्याङ्गजाको गल्याङ्ग र चापाकोट नगरपालिका, तनहुँको घिरिङ्ग गाउँपालिका, नवलपुरको बौदिकाली र बुलिङ्गटार गाउँपालिका लगायत नदी वारि र पारीका दश स्थानीय तह नदी डाइभर्सनको बिरोधमा उत्रिएका छन् । तीन जिल्लाका स्थानीय तह र संघसंस्थालाई समेटेर संघर्ष समिति गठन गरि बुटवल, पोखरा, काठमाडौं लगायत विभिन्न स्थानमा यसको चर्चाको लागि बिज्ञहरु सँग अन्तरक्रिया गर्दै विरोधलाई अगाडी बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ