arrow

नरहरी निवासमा लोकतान्त्रिक समाजवादको चर्चा

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
narahari-niwas-samajbad.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा शनिवार नियमित रुपमा हुने वहश श्रृङखलामा लोकतान्त्रिक समाजवाद विषयमा बहस भएको छ । आचार्यले लोकतान्त्रिक समाजवादको सन्दर्भमा वीपी कोइरालाले भनेको भनाइबाट वहशको शुरु गरेका थिए। समाजवादबाट लोकतन्त्र झिके साम्यवाद हुन्छ र साम्यवादमा लोकतन्त्र थप्यो भने समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको यो भनाइले धेरै कुरा बुझाउने आचार्यले बताए।

नेपालको संविधानको भाग ४ मा नेपाल राज्यको परिचयमा समाजवाद उन्मुख राज्य हुनेछ भनेर समाजवाद लेखिएको आचार्यले बताए। समाजवाद र साम्यवादको अन्तर नीजि सम्पत्ति र स्वामित्वको अन्तरले नै गरेको उनले प्रष्ट पारे। संविधानको धारा २५मा प्रत्येक नागरिकलाई कानुनको अधिनमा रहि सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचविखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने, सम्पत्तिको अन्य कारोवार गर्ने हक रहेको पनि उनले उल्लेख गरे। नीजि सम्पत्तिको स्वतन्त्रता, स्वामित्वको अधिकार सबै व्यक्तिलाई दिएको जनाउँदै आचार्यले नेपालको संविधानमा रहेको समाजवाद केही कम्युनिष्ट विचारकहरुले अनुमान गरेजस्तो मार्क्सवादी समाजवाद नभइ लोकतान्त्रिक समाजवाद नै भएको बताए।

हाम्रो संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन पद्धति, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, वालिक मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध छौ भनिएको सन्दर्भमा कम्युनिष्टहरुले भने जस्तै मार्क्सवादी समाजवाद नभएको आचार्यले बताए। 

प्रजातान्त्रिक समाजवादलाई नेपालका सन्दर्भमा प्रवेश गराउने र लोकप्रिय बनाउने काम पनि वीपी कोइरालालेनै गराउनु भएको उल्लेख गर्दै आचार्यले तरुण दलको सम्मेलनमा वीपीले बोलेको भाषणको अन्त्यमा जय समाजवाद भनेर भाषण टुङ्ग्याएको बताए। बनको राष्ट्रियकरण, विर्ता प्रथाको उन्मुलन, मोहियानी हकको स्थापना इत्यादी कुरा हेर्दा जमिनमा आधारित समाजवाद उन्मुख परिपाटीलाई वीपीले एकदमै महत्व दिएको उनले बताए। नेपाली कांग्रेसको २०१२ सालको छैटौं महाधिवेशनले राष्ट्रियतालाई आदर्श भनेको छ लोकतन्त्रलाई सिद्धान्त भनेको तथा समाजवादलाई नीति र कार्यक्रम भनेको पनि आचार्यले सम्झाए।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सचेतक पुष्पा भुसालले वीपी कोइरालाले लोकतान्त्रिक समाजवादको जसरी व्याख्या गर्नुभयो एउटा कम्युनिष्ट विचारधारा भएको व्यक्ति भएको भए उसले कसरी व्याख्या गथ्र्यो होला भनेर प्रश्न राखिन।कम्युनिष्टले समाजवाद भन्ने शब्दनै स्वीकार नगर्ने जिकिर गर्दै भुसालले समाजवाद उन्मुख भनेर संविधानमा लेख्ने काम कम्युनिष्टहरुबाट भएको बताए। कम्युनिष्ट शासन भएको कुनै पनि देशले लोकतान्त्रिक समाजवाद स्वीकार नगर्ने उल्लेख गर्दै कम्युनिष्टहरुको अन्तिम लक्ष्य साम्यवाद नै रहेको बताइन। 

के कम्युनिष्टले आज पनि लोकतान्त्रिक समाजवाद स्वीकार गर्छन् वा कम्युनिष्टले संघीयता स्वीकार गर्छन् भन्ने प्रश्न गर्दै भुसालले कांग्रेसले अधिनायकवादलाई नस्वीकार्ने बताए। लोकतन्त्रवादीहरुले स्विकारेको गणतन्त्र र कम्युनिष्टहरुले भनेको गणतन्त्रको सिद्धान्तनै फरक रहेको उल्लेख गर्दै भुसालले कम्युनिष्टहरुले समाजवादलाई स्वीकार गरे जस्तो गरि भ्रम फैलाएको बताइन। 

नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङ्गेलु शेर्पाले पछिल्लो समय लोकतन्त्रलाई बलियो रुपमा उठाएको कांग्रेसले सास्कृतिक, सामाजिक र आर्थिक मुद्दालाई लान नसकेको बताए। कांग्रेसजनले वीपीले भनेको समाजवादलाई पछिल्लो जेनेरेसनले यसको थप व्याख्या गर्न नसक्नु कमजोरी रहेको शेर्पाले बताए। 

नेपाली कांग्रेस महासमिति सदस्य दामोदर खड्काले लोकतन्त्रलाई सँगै लिएर जाने र समाजमा तल परेको वर्ग, समुदाय, क्षेत्र, लिङ्गलाई पनि माथि ल्याउने आधार लोकतान्त्रिक समाजवाद रहेको बताए। 

काठमाडौं कांग्रेसका सदस्य रामचन्द्र घिमिरेले राजनीतिक रुपले कम्युनिष्टहरुको बर्चस्व अझै कायमै रहेको परिस्थितिमा लोकतान्त्रिक समाजवादको सान्दर्भीकता अझै देखिएको बताए। नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाइ मौलिक अधिकार, मानव अधिकार दिए त्यहि समाजवाद हुने उल्लेख गर्दै घिमिरेले विचारलाई अस्पष्ट बनाइ रहने हो भने समाजवादको के अर्थ  भनि प्रश्न गरे। 

कार्यक्रममा पूर्वप्रधानाध्यापक विनोद शिलवाल, गणेश बहुमुखी क्याम्पस नेविसंघका कोषाध्यक्ष भीमराज उपाध्याय, सन्दीप थापा, प्रदिप कुँवर, अनिष श्रेष्ठ, माइला डंगोल, भरत दंगाल, कृष्णकुमार चौलागाई, श्याममणी आचार्य, दामोदर गौतम, नवराज श्रेष्ठ, टोपेन्द्र रानामगर लगायतले आफ्नो विचार राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ