काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता जनाएका छन् । सहिद रत्नकुमार बान्तवाको ३७औँ स्मृति दिवसका अवसरमा शनिबार नेकपा (एमाले) इलाम–काठमाडौँ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“यस वर्ष फागुन १९ गते सरकारले विसं २००७ पछि प्रजातन्त्रका लागि लड्ने २२ जना निर्विवादित व्यक्तिलाई सहिद घोषणा गरेको छ, यस क्रममा बान्तवा पनि ३७ वर्षपछि सहिद घोषित गरियो , जसलाई मन लाग्यो उसलाई सहिद बनाउँदा बान्तवा जस्ता निरङ्कुशता विरोधी अभियानमा मारिने व्यक्ति छुट्नुभएको थियो”–ओलीले भने ।
सहिदका विषयमा अहिलेसम्म गरिएका कामको अध्ययन गरेर छुटेकालाई सहिद घोषणालगायतका काम राज्यले गर्न उपप्रधान एवम् रक्षामन्त्री भीमबहादुर रावलको संयोजकत्वमा समिति गठन गरिएको जानकारीसमेत प्रधानमन्त्री ओलीले गराए । सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा सहिद बान्तवाका विषयमा लिखित ‘पूर्वको रातो तारा’ पुस्तक विमोचन गरेका छन् ।
बान्तवालाई सरकारले विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । बान्तवासँगै पञ्चायती निरङ्कुशताविरुद्ध स्वतन्त्रता प्राप्तिका लागि जीवन आहुति दिने क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, भीमदत्त पन्तलगायत २२ जनालाई सहिद घोषणा गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले स्वतन्त्रताको आन्दोलनमा लाग्ने बान्तवा जस्ता योद्धा मारेकैले पञ्चायती व्यवस्था र राजतन्त्र समेत पतन भएको बताए । “बहुआयामिक प्रतिभाका धनी बान्तवा अध्ययनशील नेता हुनुहुन्थ्यो, बान्तवा जनतासँग चाँडो एकाकार हुन सक्नुहुन्थ्यो, यस किसिमले योगदान गर्ने व्यत्ति अरु पनि छन् अध्ययन गरेर सहिद घोषणा गरिनुपर्छ”–खनालले भने ।
अर्का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहिद बान्तवाले आफनो जीवन अरुको कल्याण एवम् सामाजिक परिवर्तनमा खर्चनुभएको स्मरण गरे । “जसलाई पनि सहिद घोषणा गर्दा बान्तवा जस्तो योगदान गरेका योद्धा कयौँ छुटेका छन्, यस विषयमा साहित्यकार मोदनाथ प्रश्रित नेतृत्वको कार्यदलले सिफारिस गरेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्छ”–नेपालले भने ।
पुस्तकका लेखक महासचिव पोखरेलले बान्तवासँग सँगै पढेको र सहकार्य पनि गरेकाले ती बेलाका सम्झना एवम् टिपोटलाई पुस्तकका रुपमा प्रकाशन गरिएको बताए । कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले बान्तवाले नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनमा गर्नुभएको योगदान स्मरणीय रहेको सुनाए ।
मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले इलामस्थित सहिद बान्तवाको जन्मस्थललाई राजनीतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न माग गरे । विसं २००८ चैत २७ गते इलामको चमैता चित्रेमा जन्मिएका बान्तवालाई पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनःस्थापनाका लागि लडेकै अभियोगमा विसं २०३५ चैत २७ गते २७ वर्षको उमेरमा इभाङमा प्रहरीले हत्या गरेको थियो । रासस