इटहरी। भर्खरै सरकारले सञ्चारकर्मीलाई झण्डै बीस हजार मासिक तलब दिनुपर्ने नीति अघि सारिरहेको खबर प्राप्त भइरहँदा राजधानीका प्रकाशन वा प्रसारण हुने विभिन्न सञ्चार माध्यम र स्थानीय सञ्चार माध्यममा कार्यरत इटहरी र यस आसापासका डेढ दर्जन सञ्चारकर्मीले भने आफ्नो पेसाबाट जीवन गुजारामा समस्या भएपछि पेसा परिवर्तन गरेको पाइएको छ ।
मुलुकमा प्रजातन्त्र बहालीपछि राम्रो विकास भएको सञ्चार उद्यम विस्तारै श्रम शोषण गर्ने गृहमा परिणत हुँदै गएपछि सञ्चारकर्मीहरु पलायन हुने क्रम तीव्र बन्न थालेको पाइएको हो ।
दिनरात, चर्को घाम र पानीको समेत परवाह नगरी काममा घोटिँदा पनि सञ्चारकर्मीले आफू र परिवार पाल्न सक्ने तलब नपाएकै कारणले धमाधम ती सञ्चारगृह छाडेर बैकल्पिक पेसामा लाग्न बाध्य भइरहेको तथ्य पनि बाहिर आएको छ । नीजि सञ्चार माध्यमदेखि सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले खटाई अनुसारको पारिश्रमिक नपाउने र भनेको समयमा वा आपत पर्दा पैसा नै नपाइने भएपछि सञ्चारकर्मीहरुले अपनाएको पेसा परिवर्तन गर्न थालेका छन् ।
नेपाल टेलिभिजनमा धरानबाट रिपोर्टिङ गर्दै आएका सञ्चारकर्मी महेश श्रेष्ठ आफू र परिवारको पालनपोषण सम्भव नदेखेकै कारण नेपाल टेलिभिजन छाडेर साउदी अरबतिर पलायन भएका छन् । श्रेष्ठ जस्तै लामो समय नेपाल टेलिभिजनमा नै धरानबाट रिपोर्टिङमा सक्रिय विजयकुमार श्रेष्ठले पनि बाध्य भएर म्युजिक भिडियो रेकर्डिङ स्टुडियो तिर लागे ।
रेडियो नेपालमा लामो समय रिपोर्टिङ गरेका सुनसरी इटहरीका गोविन्द घिमिरेले पनि भविष्य नदेखेकै कारण रेडियोको रिपोर्टिङ पेसा परित्याग गरे । घिमिरे नेपाल पत्रकार महासङ्घ सुनसरीको सभापतिसमेत हुन् ।
यता पछिल्लो पटक इटहरीमा स्थापना भएर विराटनगरबाट हाल प्रसारण हुँदै आएको मकालु टेलिभिजनमा स्थापनाकालदेखि नै सक्रिय रहेका सञ्चारकर्मी तथा क्यामेरामेन बुलेट खतिवडा र गुरु ढकाल रिपोर्टर सुरेश घिमिरेले पनि मकालु टेलिभिजनको रिपोर्टिङ वा क्यामेरापर्सनको रोजगारी छाडेर अन्यत्र लागेका छन् । सुरेश घिमिरे केही दिन अघि मात्रै कोरिया गए ।
बुलेट खतिवडाले फोटो स्टुडियो खोल्नेका छन् भने गुरु ढकाल किराना पसल । सुरेश घिमिरे मकालु टेलिभिजनबाहेक इटहरी एफएममा पनि कार्यरत थिए । सीप र दक्षता नभएका मान्छेको पेलाइ अनि समयमा पारिश्रमिक नपाइने भएकाले आफूले स्वतन्त्र ढङ्गले जीवनयापनको विकल्पको खोजी गर्ने क्रममा फोटो स्टुडियो तिर लागेको खतिवडाको भनाइ छ ।
यसैगरी, राजधानी दैनिक, स्थानीय अरु केही दैनिक र मकालु टेलिभिजनमा इटहरीबाट नै रिपोर्टिङ गर्दै आएका सञ्चारकर्मी पवन अधिकारीले पनि सक्रिय पत्रकारिता छाडेर विज्ञापन एजेन्सीतर्फ लागे । पत्रकार अधिकारी भन्ने, “कति घोटिने ? घरबार छाडेर दौडियो । घरकै पैसा लगानी गर्यो, कुनै महिनामा पैसा नै आउँदैन अनि कसरी गुजारा चल्छ ? त्यसैले मैले त पत्रकारिताभन्दा विज्ञापन एजेन्सीतिर पो होमिन ठीक देखेँ ।” ठूला अखबारमा विज्ञापन दिनेमा राम्रो स्थान र आम्दानी देखेर विज्ञापन एजेन्सीमा लागेको अधिकारीको भनाइ छ ।
अहोरात्र पीडित पक्षका लागि कलम चलाउँदै आउने सञ्चारकर्मीले आफूले भोगेका कठिन अवस्था, श्रमशोषण र कहिल्यै समयमा पारिश्रमिक नपाउने दर्दनाक कथा भने कहिल्यै बाहिर नल्याई भित्रभित्रै पिल्सिएर बस्न बाध्य भई रहेका बेला धरानमा सञ्चालनमा रहेको विजयपुर एफएमबाट लामो समयदेखि तलब नपाएपछि सञ्चारकर्मी सुनिता केसीले पनि एफएमको जागिर छाडिन् ।
यस्तै, पत्रकारिताबाट जीवन धान्न सम्भव नभएपछि पत्रकार नवीन पाण्डे पनि हाल दुवईमा रोजगारीमा छन् । पाण्डे लामो समयदेखि नमस्ते एफएममा कार्यरत थिए । यता सप्तकोसी एफएममा कार्यक्रम उत्पादक तथा प्रसारकका रुपमा कार्यरत यशोदा सेनले पनि सञ्चारकर्मीको जागिर छाडेर महिला बचत ऋण सहकारी संस्थाको व्यवस्थापक पद सम्हाल्न पुगेकी छन् । उता सगरमाथा टेलिभिजनका सुनसरी संवाददाता उमेश सुन्चेउरी पनि पेसा छाडेर रोजगारका लागि अस्ट्रेलिया पुगे ।
परिवर्तन एफएमका सञ्चालक लक्ष्मण रिजाल रेडियो चलाउँदाचलाउँदै अमेरिकातिर हान्निए भने स्थानीय विभिन्न अखबारहरुमा कार्यरत मेनुका भुजेलले विवाहपछि पोखरातिर व्यापारव्यवसायमा संलग्न भइन् । धमाधम पेसा छोडेर बिकल्प खोज्ने क्रममा पत्रकार रेणु बजगाँईं, राजन सुवेदी, सविना कोइरालालगायतले पनि सञ्चार क्षेत्र छाडेर गृहस्थी र व्यापारिक पेसातिर रमाउन थालेको पाइएको छ ।
टाठाबाठा र धुत्र्याँई गर्न नसक्नेहरु सञ्चार क्षेत्रमा टिक्न नसक्ने परिस्थिति बनेपछि धमाधम पेसा परिवर्तनको बाटो अङ्गाल्न थालेको यो पछिल्लो घटनाले नेपाल पत्रकार महासङ्घलाई ‘श्रमजीवी पत्रकार ऐन कुन चरिको नाम हो’ भनेर गिज्याउन थालिएको देखिन्छ । रासस