महोत्सवमा हेलिकप्टरबाट दृश्यावलोकन गर्न कति लाग्छ खर्च ?
थम्मन थापा,
प्रकाशित २०७६ मंसिर १ आइतबार
666
Shares
बागलुङ । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकनसँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ ।
यसपाली महोत्सवको अवसरमा गलकोटमै पहिलो पटक हेलिकप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ । यसको लागि अहिले आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकप्टर मार्फत गलकोट देखि पर्यटकीय नगरी ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।
हेलिकप्टर मार्फत दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिए ।
महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकप्टर मार्फत गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने संयोजक सुवेदीले बताए। झण्डै १३ वर्षपछि बागलुङको गलकोटमा सञ्चालन हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
हेलिकप्टर दृश्यावलोकन गर्न कति लाग्छ खर्च ?
न्युनतम ५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रु ६ हजार शुल्क लाग्ने छ । २ सय जना भन्दा बढि भएमा ६ हजार ५ सय रुपैया लाग्ने बताईएको छ । गलकोट घुम्न पाईने भएको छ । त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।
गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकप्टर मार्फत अवलोकन गर्न रु ३५ हजार शुल्क निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए ।
महोत्सव अवधिभर कुन कुन दिन उडान ?
हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । हेलिकप्टर उडानको लागी महोत्सवको टाईटल स्पोन्सर प्रभु ग्रुप सँग सम्झौता गरिसकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा प्रभु हेलिकप्टरले उडान भर्ने छ ।
त्यसको लागि आवश्यक प्रकृया समेत पुरा गरिएको हेलिकप्टर व्यवस्थापन समितिका संयोजक सुवेदीले बताउनु भयो । महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेर बहादुर थापाले जानकारी दिए । गलकोट क्षेत्रमा हेलिकप्टर मार्फत दृश्यावलोकन गर्ने अवसर पहिलो भएकोले पनि निकै आर्कषणको रुपमा हेरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकप्टर मार्फत दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोन मार्फत टिकट बुकिङ गर्न सकिने बताईएको छ ।