काठमाडौं। आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागका विषयमा शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराएको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटलाई भेटेको हो । भेटमा मन्त्री नेम्बाङले आफूले भर्खरै पदभार ग्रहण गरेकाले व्यवसायीको मागमा अध्ययन गरिरहेको बताए ।
समृद्ध नेपाल, सुखी नेपाली भन्ने वर्तमान सरकारको अवधारणा पूरा गर्न व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री नेम्बाङले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको बताए । महासंघ अध्यक्ष सिंहले सरकारले विगतमा आफैले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जानु व्यवसायीको रहर नभई बाध्यता भएको प्रष्ट पारे ।
यसैबीच सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले महासंघका मागका विषयमा माथिल्लो निकायमा नै गम्भीर छलफल चलिरहेको जानकारी दिए । ऐन संशोधन गरेरर व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत सचिव सापकोटाले व्यक्त गर्नुभयो ।
निर्माण व्यवसायीहरुले राम्रो गरिरहेको भन्दै सचिव सापकोटाले सिमित परियोजनामा मात्र समस्या रहेको बताए । मंसिर ४ गतेको राष्ट्रिय भेलाले दिएको म्याण्डेट अनुसार म्याद थप, क्रेडिट लाइन लगायतका अन्य समसामयिक समस्या समाधानका लागि महासंघ चरणबद्ध आन्दोलनमा होमिएको हो ।