१६ वर्ष भयो विद्युत्का पोल गाडेको, बिजुली बलेको देख्ने सपना अधुरै
विमलबहादुर विष्ट, रासस,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
666
Shares
डोटी। जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी भइन्। उनी निरन्तर गाउँमै बस्छिन्। गाउँमै बस्ने भएकालाई उनलाई विद्युत्को विषयमा खासै जानकारी पनि छैन। विगत १६ वर्षअघि अर्थात् विसं २०६२ सालमा गाउँमा विद्युत्का पोल गाड्न सुरु हुँदा उनलाई घरमा बिजुली बलेको हेर्ने ठूलो धोको थियो।
एक–दुई पटक मात्रै विद्युत् भएका शहरसम्म आउजाउ गरेकी उनलाई आफ्नो गाउँ पनि झिलीमिली भएको हेर्ने रहर जागेको थियो। विद्युत् विस्तारका लागि पोल गाडेको १६ वर्ष पूरा भयो तर सीताको सपना भने अझै पूरा भएको छैन। अब त उनले गाउँमा आफू बाँचुञ्जेल गाउँमा विद्युत् बल्छ भन्ने आश पनि मारिसकेको बताइन्। उनले भनिन्, “गाउँघरमा बत्ती बलेको, गाउँ झिलीमिली भएको हेर्ने ठूलो धोको थियो, यो जुनीमा देख्न पाइलाजस्तो लाग्न छोड्यो।”
आव २०६२/६३ को बजेटबाट साबिकको लामिखाल गाविसले विद्युतीकरणका लागि रु १४ लाख विनियोजन गर्यो। उक्त रकमबाट पोल खरिद भए र ठाउँठाउँमा पोल पनि गाडिए। विसं २०६४/६५ बाट लामिखालको विद्युतीकरण केन्द्रीय योजनामा समावेश पनि भयो। प्रत्येक वर्ष बजेट आयो तर काम भने कहिल्यै पूरा भएन। प्रत्येक वर्ष ठेक्का हुने तर लामिखालमा भने वास्तै नगर्ने गरेको स्थानीयवासीको आरोप छ। ठेकेदारको लापरवाहीका कारण लामिखालवासीको बत्ती बाल्ने सपना सधैँ अधुरै रहेको स्थानीयवासी वीरबहादुर रोकायाले बताए।
उनले भने, “विद्युत् विस्तारका लागि गत वर्ष मात्रै रु ६५ लाख रकम विनियोजन भएको थियो, कति काम भयो र कति बजेट फ्रिज भयो हामीलाई केही थाह छैन।” उनले विद्युत् प्राधिकरणमा कामै नगरी ठेकेदारले बिल मिलाएर खाने गरेको आरोपसमेत लगाउनु भएको छ। विगत १६ वर्षको यो अवधिमा आफूहरुले पटक पटक ठेकेदारसँग आग्रह गरेको र पटक पटक विद्युत् प्राधिकरणको दिपायल कार्यालय धाएको सम्झँदै रोकायाले थप भने, “हाम्रो आवाज कसैले सुन्दैनन्, विद्युत् विस्तारका लागि कसैले पनि अहिलेसम्म पहल गरेनन्।”
उता सोही लामीखालका अर्का स्थानीयवासी नरबहादुर रोकायाको पनि यस्तै गुनासो छ। आदर्श गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले गाउँपालिकाका अध्यक्षलाई प्रश्न गरे, “हामी कहिलेसम्म बत्ती बाल्न पाउँछौँ ?” उनको जवाफमा गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले भने, “मैले विद्युत् कार्यालयसँग पनि समन्वय गरेको छु, यस आर्थिक वर्षभित्रै लामिखालमा बत्ती बल्छ।” कात्तिक २४ गते विद्युत् प्राधिकरणको दिपायलस्थित कार्यालयमा गएर विद्युत् विस्तारका लागि पुनः स्मरण गराएको स्थानीयवासी धर्म रोकायाले बताए।
उनले भने, “हामीले छिटो बत्ती बाल्नु पर्यो भनेर अनुरोध गरेका छौँ, हाकिम साबले पनि आश्वासन दिनुभएको छ। यदि फेरि पनि विगत जस्तै लम्ब्याउने काम भयो भने बाध्य भएर आन्दोलन गर्नेछौँ।” उता नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाका प्रमुख कपिलदेव जोशीले आगामी चैत महिनाभित्रै बत्ती बाल्ने गरी लामिखाल क्षेत्रमा काम भइरहेको बताए। उनले भने, “विगतमा गोपघाटबाट लाइन तान्ने गरी सर्वे भएको रहेछ, जङ्गल विवादका कारण उताबाट लाइन तान्न नसकिएको भन्ने मैले जानकारी पाएको छु, अब अन्तैबाट लाइन तानेर भए पनि चैत महिनाभित्रमै विद्युत् बालेर छोड्छौँ।”
विद्युत् विस्तार नभएका कारण आदर्श गाउँपालिका–५ वर्षौंदेखि अन्धकारमा छ। उज्यालोका लागि त्यहाँका स्थानीयवासी अहिले पनि सल्लाको दियालोको भरमा आश्रित रहेको युवा सङ्घका सदस्य गणेशबहादुर ऐरले बताए। उनले भने, “छिमेकी गाउँपालिका तथा हाम्रै गाउँपालिकाका केही वडा झिलीमिली छन्, हामी ५ नं वडावासी सल्लाको दियालोको भरमा कहिलेसम्म रहने।”