arrow

नेपालको न्याय क्षेत्रको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने कार्की को हुन् ?

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
Susila-Karki.jpg.jpeg
काठमाडौं । चैत १६ गते बसेको संवैधानिक परिषद् बैठक निर्णयविहिन भएपछि सर्वोच्चको प्रधानन्यायाधीश सिफारिस हुन सकेन । बैठकको श्रृंखला तैत २८ सम्म पुग्यो तीन वटा बैठक निर्णयविहिन भए । अन्ततः आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकले प्रधानन्यायाधीश बन्ने लाइनमै रहेकी बरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगायो ।
 
कार्कीबारे अब संवैधानिक व्यवस्थानुसार संसदीय सुनुवाई हुनेछ । तत्काल संसदीय सुनुवाई नभए उनले सर्वोच्चमा वैशाख १ बाट रिक्त हुने प्रधानन्यायाधीशको जिम्मेवारी कायम मुकायम प्रधानन्यायाधीशकै हैसियतमा भएपनि सम्हाल्ने छन् । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ चैत अन्तिममै अवकाश पाउँदै छन् । संसदीय सुनुवाईपछि मात्रै राष्ट्रिपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान छ । नेपाली न्याय क्षेत्रको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्न लागेकी कार्की पहिलो महिला राष्ट्रपतिबाट नियुक्त हुँने छिन् । यसअघि, नेपालको राजनीतिक इतिहासमा विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रपति बनिसकेकी छन् । 
 
को हुन् कार्की ? 
 
मोरङको विराटनगर–शंकरपुरमा २००९ साल जेठ २५ गते जम्मिएकी कार्की नेपाली कांग्रेसका पुराना नेता दुर्गा सुवेदीकी पत्नी हुन् । कार्कीले महेन्द्र मोरङ कलेज बिराटनगरबाट २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी छन् । त्यतिबेलासम्म कार्कीले कानुनलाई कर्म क्षेत्र बनाउने विषयमा केही नसोचेको बताइन्छ । पछि कार्कीले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बिएल) गरी कानुनी यात्रा सुरु गरिन् । 
 
अधिवक्ता भएर कानुनलाई कर्मको रुपमा कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि सुरु गरिन् । तीन वर्ष २०४२ देखि २०४६ सम्म महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन गराइन् । २०४५ सालदेखि २०४७ सालसम्म कार्कीले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ सालदेखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । 
 
त्यस्तै, २०६१ पुस ५ गते कार्की वरिष्ठ अधिवक्ता बनिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् ।  २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनिन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिससकेकी कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण छन् । 
 
प्रधानन्यायाधीश कार्कीले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरिन् भने, सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरिसकेकी छन् । कार्की कुनै दाग नलागेको र कुनै फैसला विवादमा नआएको भन्दै न्याय क्षेत्रमा निकै चिनिएकी छन् । कार्की निस्कलंक छविकै कारण र बरिष्ठताका आधारले प्रधानन्यायाधीशको पदमा पुग्न लागेकी हुन् । उनमा काम गर्ने क्षमता मात्रै नभई न्याय मूर्तिमा हुनुपर्ने निष्पक्षता रहेको विश्लेषण हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ