काठमाडौं । कांग्रेस नेता एवं सांसद गगन थापाले आफैै थालनी गरेको भूकम्पपछिको पुनःनिर्माण अभियान अन्तर्गत दोस्रो चरणको निर्माण कार्य सुभारम्भ गर्दै नयाँ वर्षको सुरुवात गरेका छन् । थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने बुढानीलकण्ठ नगरपालिका–३ स्थित भंगालमा रहेको गणेश उच्च माध्यामिक विद्यालयको भवन शिलान्यास गर्दै दोस्रो चरणको निर्माण आरम्भ गरेका हुन् ।
गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पले विद्यालय भवन भत्किएपछि भवन अभाव झेलिरहेको विद्यालयको भौतिक संरचना निर्माण गर्न सांसद गगन थापाले नै पहल गरीदिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र थापाले हाम्राकुरालाई बताए ।
आफुले समेत सोही विद्यालयमा अध्ययन गरेको सुनाउँदै थापाले भने, ‘भौतिक संरचना निर्माणमा माननीय गगन थापाको ठूलो हात छ, उहाँकै पहलमा भवन निर्माणको काम थालनी भएको हो ।’ सांसद थापाकै पहलमा ग्लोबल शेपर्स काठमाडौंले भवन निर्माण एवं भौतिक संरचना निर्माण गरिदिन लागेको हो ।
सांसद थापाको दोस्रो चरणको निर्माण कार्य आरम्भ हो । अध्यक्ष थापाले भने, ‘पहिलो चरणमा उहाँले १८ पक्की भवन र २ सय अस्थाई घर टहरा बनाई सक्नु भएको छ, यो दोस्रो चरणको पहिलो पक्की भवन निर्माणको थालनी हो ।’ व्यवस्थापन समिति अध्यक्ष थापाले २०४१ सालमा सोही विद्यालयबाट एसएलसी पास गरेको समेत सुनाए ।
के– के निर्माण हुँदैछ ?
तत्काल ग्लोबल शेपर्सले पाँच कोठाको दुई तल्लाको एकेडेमी ब्लक निर्माण गर्ने छ । क्रमिक रुपमा प्रशासनका लागि कम्प्युटर कक्ष, साइन्स ल्याव, लाइब्रेरी, स्टाफ रुम, मिटिङ हल र व्यवस्थापन समिति अध्यक्षको कक्ष समेत निर्माण गर्ने थापाले जानकारी दिए । यस्तै, छुट्टा–छुट्टै ब्लकमा क्यान्टिन र ट्वाइलेट समेत बनाउने योजना छ । भौतिक संरचना निर्माणमा तत्काल शेपर्सले दुई करोड पचास लाख खर्च गर्ने र क्रमिक रुपमा अन्य खर्च हुने थापाको भनाई छ ।
थापाले भने, ‘अनुमानित चार करोड खर्च हुनेछ, यसमा पछि विस्तारै अन्य संस्थाले समेत सहयोग गर्ने छन् ।’ थापाले यो विद्यालय भवन निर्माणको मात्रै परिकल्पना नभएको भन्दै सामुदायिक भवन निर्माण समेत भएको बताए । उनका अनुसार समुदायलाई अफ्ठ्यारो पर्दा भोलि प्रयोग गर्न सकिने गरी निर्माण हुँदैछ । भूकम्प गएको समयमा स्थानीयले सामूहिक रुपमा बस्ने सुरक्षित स्थान नपाएको सम्झिँदै व्यवस्थापन समिति अध्यक्ष थापाले त्यस्तो केही समस्या आईपरे समेत प्रयोग गर्न सकिने जानकारी गराए ।
नमुना सामुदायिक भौतिक संरचनाका रुपमा निर्माण हुन लागेको विद्यालय भवनमा पानीको समस्या नहुने र विद्युतको समस्या समेत नहुने बताइएको छ । पानीका लागि जमिनको पानी बोरिङ गरेर ट्रिटमेन्ट प्लान्टमार्फत व्यवस्थापन हुनेछ, भने सोलार सिस्टमले विद्युतको खाँचो हुने छैन ।
ऐतिहासिक विद्यालय
२०१८ सालमा गणेश प्राथमिक विद्यालयको रुपमा स्थापना भएको सो विद्यालयले २०३७ सालमा माध्यामिक विद्यालयको स्वीकृती पाएको र ०३८ सालमा माध्यामिक तहको पठनपाठन आरम्भ गरेको थियो । विक्रम सम्वत् २०४० सालमा पहिलो पटक प्रवेशिका परिक्षामा सहभागि भएको थापाले बताएका छन् । बुढानीलकण्ठको गणेश चोकमा गणेश बहुमुखि क्याम्पस समेत छ । जहाँ स्नातक तह सम्मको पठनपाठन हुँदै आएको छ । थापाका अनुसार काठमाडौंका पुराना विद्यालयहरुमध्ये गुणस्तरीय शिक्षा दिनेको सूचीमा पर्दछ । उत्तरी भेगमा रहेको विद्यालय काठमाडौंका नमूना विद्यालय मध्ये एक हो ।