arrow

पर्यटन बोर्डको सीईओमा मन्त्रीको अर्कै दाउ

जोशीमाथि श्रेष्ठ भारी पर्ने यस्ता छन् कारण

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
ceo.JPG

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमध्ये हालका सीईओ दीपक जोशीसहित १० जना बोर्डकै अधिकारी छन् ।

बोर्डका दुई जना वरिष्ठ निर्देशक, पाँच प्रबन्धक, दुई वरिष्ठ अधिकृतले पनि सीईओका लागि आवेदन दिएका छन् । ७ जना बोर्ड बाहिरका छन् । बोर्डका सीईओ दीपकराज जोशीको ९ पुस २०७६मा चार वर्षे पदावधि पूरा भएपछि सीईओ पद रिक्त भएको छ । सीईओ छनोट उपसमितिले पुस १० सम्मको समय दिएर आवेदन मागेको थियो ।

पर्यटन बोर्ड सञ्चालक समितिले यसअघि जोशीलाई थप चार महिनाको अवधि थप गरेको भए पनि नेपाल पर्यटन बोर्ड २०५३ को ऐनले बढीमा चार वर्षका लागि पुनः नियुक्ति गर्न सक्ने व्यवस्था गरेको छ । यो प्रावधानका कारण चार महिना थप समय लम्ब्याउँदा चार वर्षको अवसर गुम्ने भएकाले पुनः आवेदन दिएको र चार महिनाको समय थप नलिएको दाबी उनको छ । भ्रमण बर्ष २०२० मा बोर्ड सीईओ बिहीन हुने भएको छ । बोर्डको निमित्त सीईओको जिम्मा बरिष्ठ निर्देशक नन्दिनी लाहे थापालाई दिइएको छ ।

को होला सीईओ ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बोर्डको सीईओ कसलाई बनाउन चाहन्छन्, त्यही हुनेछ । सीईओ हुनका लागि मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईकी श्रीमती भूमिका पौडेललाई बोर्डमा जागिर लगाई वातावरण निर्माण गरेका दपिक जोशी पुनः सीईओ हुने कुरामा ढुक्क छन् । उनले मन्त्री भट्टराई र उनले भनेका विभिन्न संस्थालाई बोर्डका कामहरु दिएर सहयोग गरेको, उनका आसेपासेका नातेदार र आफन्त जागिर लगाएकाले पनि सीईओ हुने कुरामा ढुक्क भएर आवेदन दिएको नेकपाको पर्यटन विभागमा चर्चा छ ।

तर, बोर्डको सीईओका लागि भ्रमण बर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पनि आवेदन दिएपछि जोशी सशंकित भएका छन् मन्त्री भट्टराईले बचन दिएर पनि आफूलाई नबनाउन बच्चुलाई आवेदन हाल्न लगाएका त होइनन् भन्दै उनी पीए गुरागाई सहित नेकपाकै कतिपय नेतासँग गुनासो गरिरहेका छन् । गुरागाईले भने बच्चुनारायण भीजीट २०२० को सदस्य सचिव भएकाले उनलाई सीईओ बनाउने संभावना नभएकाले उनको संभावना छैन भन्दै आश्वस्त तुल्याइरहेका छन् ।

जोशीको चार बर्षे कार्यकाल उल्लेखनीय रुपमा सफल हुन नसके पनि उनी आफू नै सीईओ दोहोर्याउने दाउमा छन् । जोशी आफू निर्णय गर्ने सवालमा आँट नगर्ने भनेर चिनिन्छन् । उनको सचिवालयमा बसेर जोशीलाई चलाउने दुईजना पात्र थिए । तिनै दुई पात्रका कारण सीईओ जोशी आर्थिक अनियमिततामा मुछिने खतरा देखिएको छ।

विदेशी नागरिक माइकल कोबाल्टसँग बोर्डले गरेको कारोबार अहिले बोर्डमा छानविनको विषय बनेको छ । नेपालमा दमकल ल्याउने भन्दै दुई बर्ष पहिला माइकललाई २ करोड रुपैयाँ दिने सहमति भएको थियो । त्यो सहमति अनुसार एक करोड रुपैयाँ पहिला नै भुक्तानी भइसकेको छ तर अहिलेसम्म दमकल नेपालमा आउनु त परै जाओस् कोबाल्ट नै वेपत्ता भएका कारण उनीमाथि प्रश्न तेर्सिएको छ ।

कोबाल्ट बोर्डको सम्पर्कमा समेत आएका छैनन् । कोबाल्टलाई पर्यटन बोर्डको सम्पर्कमा ल्याउने र करोड रकम दिलाउन भूमिका खेल्नेमा भने सिईओ जोशीको निकट भएर काम गर्ने श्रद्धा श्रेष्ठ हुन् । कुनै बेला सुवास निरौलाको विश्वास पात्र भएर काम गरेकी श्रेष्ठलाई जागिर पनि निरौलाले नै दिलाएका थिए । अहिले जोशीको कार्यकालमा पनि दाहिने हात भएर काम गरिरहेकी श्रेष्ठले आफूमात्र होइन सिईओ जोशीलाई पनि डुबाउने भएकी छन् । यता यो काण्ड प्रधानमन्त्री ओलीसम्म पुग्नु र अर्कोतिर बच्चुनारायणले पनि आवेदन हालेपछि जोशी मन्त्री भट्टराईसँग सशंकित भएका छन् ।

बच्चुनारायण श्रेष्ठ यति समूहका स्व. आङछिरिङ शेर्पाले अगाडि बढाएका पात्र हुन्। सोलु घर भएका बच्चुलाई आङछिरिङले नै यो अवस्था सफलताको बिन्दुमा पुर्याएका हुन् । बच्चु पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानका पदाधिकारी पनि थिए । तर आङछिरिङकै कारण उनी कृपाशुर शेर्पा र आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा स्वकीय सचिव भएका थिए । आङछिरिङको धेरै रकम हिनामिना गरेपछि उनलाई पासाङल्हामु पर्वतारोहणबाट पछि हटाइयो । त्यसपछि उनी प्रधानमन्त्री केपी ओलीको विपरीत माधव नेपाल गुटको पनि योगेश भट्टराई र घनश्याम भूसालको । निकट हुन पुगे ।

घनश्याम भूसालको स्वामित्वको गोचाली ट्राभल्सका संचालक भगिरथ सापकोटासँग यिनको हिममिम बढ्यो । र, सापकोटाहरुले नै उनलाई योगेश भट्टराईकोमा लगेर रक्षा मन्त्री इश्वर पोखरेल र उनका निकट नेताको बिरुद्ध सामाजिक संजालमा मनपरी गालीगलौजको बर्षा गर्न लगाए । सापकोटाले भने अनुसार नै उनले नेकपा एमालेको पालादेखि नै पर्यटन विभागका प्रमुखलाई गाली गर्दै लेखे । त्यही पुरस्कार स्वरुप उनलाई सापकोटाले योगेश भट्टराईकोमा लगेर भिजिट नेपाल २०२० को सदस्य सचिवको पुरस्कार दिलाइदिएका हुन् । बच्चु पर्यटन ब्यवसायी भन्दा पनि कन्सलट्यान्ट हुन् । उनको देखाउनका लागि एउटा ट्रेकिङ कम्पनी छ । तर उनी प्रायः कन्सलटटेन्सी नै गरिरहेका हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ