विराटनगर । नयाँ सालको आगमनसंगै तराइमा मनाइने सिरुवा पर्व प्रारम्भ भएको छ । पहिलो वर्षको रातीको भातलाई भोलीपल्ट नयाँ वर्षको पहिलो दिन खाने र पोखरी तलाउमा पुजा आजागरी मीठो खाने, सफा लुगा लगाउने तथा आफन्त इष्टमित्र कहाँ गएर आर्शिवाद थाप्ने सिरुवा पर्वको मुख्य विशेषता हो ।
विशेषगरी राजवंशी समुदायले मनाउने सिरुवा पर्व अहिले आएर तराइका थारु, धिमाल तथा अन्य मधेसी समुदायहरुले समेत भव्य रुपमा मनाउने गर्दछन् । राजवंशी समुदायले यो पर्वलाई विशेष महत्वका साथ लिएको मोरङ दादरवैरियाका चन्द्रराज राजवंशीले बताए । वैशाख दुइगतेबाट शूरु भएको सिरुवापर्व तिन दिनसम्म मनाइने गरिन्छ । विगतमा अस्पताल नभएको अवस्थामा सिरुवा मातालाई पुजा आजा गरेर रोग निकोपार्ने र गाउँघरमा सुख शान्ति कायम होस् भन्ने उदेश्यले यो पर्व मनाउन थालिएको राजवंशीको भनाइ छ ।
सिरुवा पर्वको प्रारम्भसंगै तराइमा सिरुवा मेला समेत प्रारम्भ भएको छ । यो मेलामा विवाहका लागी योग्य भएका राजवंशी समुदायका केटाकेटीहरुले एक अर्कालाई हेर्ने प्रचलन छ । केटाकेटी मन परेमा अभिभावकहरुले विवाहको कुरा अगाडी बढाउने गर्दछन् । मोरङ, सुनसरी झापा तथा तराईका जिल्लाहरुमा भव्य रुपले मनाउने यो पर्वको अवसरमा लाग्ने ऐतिहासिक मेलाभर्न नेपालका मात्र नभएर भारतका सिमावर्ती गाउँका मानिस समेत आएका छन् । मोरङ, सुनसरी झापा जिल्लाका मठ मन्दिर थानीहरुमा सिरुवा मेलाको लाग्ने गर्दछ ।
दादरवैरिया स्थित रन्काली देवीको थानी, गोविन्दपुर स्थित राजसुनवर्सी पोखरी, अमदहको काटामेला, डायनियाको भेडुवा तथा दर्वेशाको ऐतिहासिक र धार्मिक मेलाको शुरुआतसंगै सिरुवा मेला प्रारम्भ भएको हो । तीन दिन सम्म सिरुवापर्व मनाइए पनि सिरुवामेला भने वैशाख महिनाभरी लाग्ने गर्दछ । थानीमा रहेका देवी देवतालाई बली चढाउने र पुजा अर्चना गर्दा भाकल पुग्ने भएकाले सिरुवा मेलामा सर्वसाधारणको उल्लेखनिय भीड रहने गरेको छ ।
यो पर्व राजवशी समुदायले मुख्यगरी मनाउदै आए पनि मेलामा भने महाडे मधेशी, आदिवासी तथा मुस्लिम समुदायको उल्लेखनिय सहभागी हुने गरेको छ । यसरी सवै समुदाय सहभागी हुने सिरुवा मेलाले समाजिक सद्धभाव कायम गर्न सफल भएको छ । तराइमा आन्दोलका कारण जातजीबीच भएको मन मोटावलाई समेत सिरुवा मेलाले जोडन सफल भएको छ । मेलाको अवसरमा राजवंशी समुदायले आफनो घरमा वोलाएर गरिने मान सम्मानले समेत सद्भाव र सदाचार कायम भएको स्थानिय वासिन्दाको भनाइ छ । यसरी राजवंशी समुदायले एउटा धार्मिक उत्सवको रुपमा मनाइने सिरुवापर्वमा लाग्ने मेलालाई पर्यटकिय स्थानको रुपमा विकासगर्न सकिने मोरङ क्षेत्र नम्बर १ का सांसद ऋषिकेस पोखरेलको भनाइ छ ।