काठमाडौं । लामो समय देखि महाधिवेशन हुन नसकेको नेपाल तरुण दलमा विधान संशोधन, निर्वाचनको पूर्वाधार तयार र विवादित जिल्लाको कार्यसमितिको टुंगो लगाउनेबारे केन्द्रीय कार्यसमितिमै विवाद चुलिएको छ । पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच विधानको विषयलाई लिएर विवाद भएको छ । आन्तरिक विवादकै कारण महाधिवेशन र जिल्ला अधिवेशनहरुको कार्यक्रमबारे जानकारी दिन विहिबार राजधानीमा भएको पत्रकार सम्मेलनमा नयाँ नेतृत्वका दावेदार टेकराज पौडेल सहित २२ जना सहभागि भएनन् । यद्यपि, तरुण दलका अध्यक्ष उदय शमशेर राणाले पत्रकार सम्मेलनमा सवै केन्द्रीय सदस्य उपस्थित हुनु पर्ने कुनै आवश्यकता नरहेको बताउँदै आफुहरुले निर्धारित कार्यक्रम तथा निर्णयहरु सार्वजनिक गरेको हाम्राकुरालाई बताए ।
हाल सम्म २८ जिल्लामा तरुण दलको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ, भने १८ जिल्ला अधिवेशनको तयारीमा छन् । अधिवेशन हुन बाँकी जिल्लामा जेठ २५ गते भित्र अधिवेशन गरिसक्ने निर्णय भइसकेको बताइएको छ । यद्यपि, महाधिवेशनलाई प्रभाव पार्ने तराइका केही जिल्लामा कार्यसमिति विवाद छ । सो विवाद नमिले सम्म महाधिवेशन हुन नसक्ने अधिकांश केन्द्रीय सदस्यहरुको मत छ ।
नयाँ नेतृत्वका दावेदार टेकराज पौडेलले यसअघि कयौं पटक महाधिवेशन गरौं भन्दा अध्यक्ष लगायत पदाधिकारीले चाँसो नदिएको बताएका छन् । उनले भने, ‘महाधिवेशनको मिति तोक्ने काम यसअघि पनि भएको थियो, तर निर्वाचन कार्यक्रममा चाँसो दिइएन, फेरि पनि केन्द्रीय समिति यसलाई भंग गराउने खेलमा लागेको छ ।’ विधान संशोधनको विषयमा चासो दिएको छैन, पौडेलले थपे, ‘हामीले संघीय संरचना अनुसार निर्वाचन गर्नका लागि विधान संशोधन हुनु पर्दछ , बरु महाधिवेशन एक दुई दिन ढिलो भए केही फरक पर्दैन ।’ उहाँहरुको भदौमा गर्ने भन्नु भा छ, हामीले त झन् असारमै गरौं भनेका थियौं । पौडेलले महाधिवेशनलाई प्रभाव पार्ने तराईसहित ८ जिल्लामा कार्यसमिति विवाद रहेको बताए ।
हाल सम्म पदाधिकारीहरुले निर्वाचन गराउने समितिलाई काम गर्न लगाउनेतिर ध्यान दिएको छैन । उनले भने, ‘संघीय संरचना अनुसार समावेशी विधान बनाउनुपर्छ, महाधिवेशनको पूर्वाधार पूरा गर्नपर्छ, विवाद रहेका जिल्लाको लफडा अन्त्य हुनु पर्दछ, खाली मिति मात्रै तोक्ने कार्यले केही हुँदैन ।’ आफुहरुको अन्य विषयमा विमत्ति नरहेको तर, विधान संशोधन, विवाद समाधान र महाधिवेशनको निर्वाचन प्रक्रियाबारेको बेवास्ताकै कारण समस्या भएको पौडेलले बताएका छन् ।
किन चिडाउनु भा ?
पहिले देखि पनि चाँसा दिएनन्, गुनासो गर्दै पौडेले भने, ‘अहिले पनि निर्वाचन पक्रियाको काम दिने कार्य भएको छैन । विगतमा अध्यक्ष लगायत पदाधिकारीहरु आफ्नो पक्षधरको नेतृत्व नभएका कारण डराए, अहिले आफ्नै पार्टी नेतृत्व भएका कारण बेवास्ता गर्दै अन्ततः विघटन गरी आफ्नो पक्षमा पार्ने मनसाय हो की ? ।’ यस्तै, ताल हो भने फेरि पनि महाधिवेशन हुँदैन । आफुहरु महाधिवेशनकै पक्षमा रहेको बताउँदै उनले सवै प्रक्रिया पुरा गर्नै पर्ने बताए ।
विधान फेर्ने कुरा हुँदैन : अध्यक्ष राणा
तरुण दलका अध्यक्ष राणाले विधान फेर्ने कुरा सम्भव नरहेको बताएका छन् । उनले भने, ‘प्रादेशिक संरचना अनुसार निर्वाचन हुन्छ, तर विधान नै फेरि परिमार्जन गर्ने कुरा हुँदैन ।’ अनि कसरी हुन्छ त संघीय संरचना अनुसारको निर्वाचन ? राणाले जवाफमा भने, ‘पार्टीको महाधिवेशन जसरी भयो त्यसरी नै हुन्छ, विधान फेर्ने कुरा हुँदैन ।’ पहिला पनि साथीहरुले साथ नदिएको गुनासो गर्दै राणाले महाधिवेशन गर्न सकेन भने राजीनामा दिनुको विकल्प छैन –भने । जिल्लाको विवाद मिलाउन पनि विधान समिति भएकाले केही समस्या नरहेको राणाले बताए । उनले भने, ‘कुनै जिल्लामा विवाद छैन, कार्यसमिति नमिलेका केही ठाउँमा साथीहरु गएर मिलाउँदै छन् ।’ सवैले चासो दिए महाधिवेशन हुन्छ । राणाले आफु नेतृत्वको दावेदारी नगर्ने प्रस्ट्याएका छन् । जेठ २५ गते भित्रमा सवै जिल्ला अधिवेशनहरु सम्पन्न गरेर भदौ २४ देखि २६ सम्म महाधिवेशन गर्ने तरुण दलले निर्णय गरेको छ ।
तरुण दलको महाधिवेशनको मिति तय भएसंगै दलको नेतृत्वका लागि दावी गर्दै आएकाहरु फेरी सक्रिय हुन थालेका छन् । तरुण दलको अध्यक्षका लागि पुर्व सचिव तिमिल्सीना, पुर्व केन्द्रीय नेताहरु नारायण भट्टराई, मेदेनी सिटौला, टेकराज पौडेल, लक्ष्मी खतिवडा, नागेश्वर यादव, निरन्जन केसी, राधा घले, दामोदर कोईराला, हुर्मत न्यौपाने, खिमानसिं रायमाझी लगायतका नेताहरुले उम्मेदवारी दिने बताउदै आएका छन् । उनीहरु मध्ये पौडेल र खतिवडाले पार्टी केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका थिए ।
तरुण दलको महाधिवेशनको मिति तोकिएपछि अन्य भातृ संगठनहरुलाई पनि महाधिवेशनको मिति तय गर्न दवाव परेको छ। काँग्रेसका नेविसंघ, महिला संघ लगायतका भातृ संगठनहरुको महाधिवेशन निधारित समयमा हुन सकेका छैनन् । हरेक तीन तीन बर्षमा महाधिवेशन हुनुपर्नेमा २०६४ साल देखि महाधिवेशन हुन सकेको छैन । समयमा तरुण दलको महाधिवेशन नहुदा कतिपय नेताहरु उमेरका कारण दल छाड्न वाध्य भएका छन । तरुण दलमा ४५ बर्ष नाघेपछि स्वतः सदस्यता खारेज हुने व्यवस्था रहेको छ । तरुण दललाई नेपाली कांग्रेसको नेतृत्व उत्पादनको उर्वर भूमीको रुपमा लिइन्छ । तरुण दलको नेतृत्व हाँकेर पार्टीको जिम्मेवारीमा गएकाहरुको अहिले पार्टीमा पनि राम्रो प्रभाव देखिन्छ ।