बर्दिया । मानिसको खानपान विग्रिएपछि कुनै न कुनै रोग लाग्छ भन्ने कुरा सामान्य भैसकेको छ । तर माटोलाई पनि मानिसलाई जस्तै रोग लाग्छ भन्ने कुरा आश्चर्य हुन सक्छ । हिजोआज रासायनिक मल र कृषिमा भएको आधुनिकता सँगै माटोमा पनि ग्याष्ट्रिक, सुकेनास, डाईरिया लगायतका रोग देखिन थालेका छन् ।
पृथ्वीमा तिन भाग पानी र एकभाग माटोको मात्रा रहेको हुन्छ । माटोमै मानिसहरु विकास निर्माणका संरचना निर्माण गर्ने गरेको पाईन्छ । मानव सभ्यताको विकास सँगै कृषि युगदेखि नै मानिसहरु माटोलाई अनाज उत्पादनको कार्यमा प्रयोग गर्दै आईरहेका छन् । पछिल्लो समय विश्व भरिनै कृषि क्षेत्रमा रासायनिक मलहरुको प्रयोगमा अनवरत रुपमा बृद्धि हुने क्रम वढेपछि माटोमा समेत मानिसलाई जस्तै रोग भेटिएको हो ।
किसानहरुले खेतीपातीमा रासायनिक तत्वहरुको अत्याधिक प्रयोगका कारण माटोमा रोगहरु समेत देखा पर्न थालेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले वताए । बर्दियाको माटोमा ग्याष्ट्रिक सुकेनास र डाईरिया रोग देखिएको उनको दावी छ । ग्याष्ट्रिक भएको माटोमा अम्लियपन, सुकेनास भएको माटोमा कडापन र डाईरिया भएको माटोमा हिलेपन भएपछि माटोको गुणस्तर घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
माटोको गुणस्तर घटेपछि उत्पादनमा हसोन्मुख प्रतिफल आउन थालेको वताए । मानिसहरु एकै किसिमको कृषि प्रणाली अपनाउँदा माटोको उर्वराशक्ती समेत हराउँदै जान थालेको रावत वताउँछन् । उत्पादनलाई बृद्धि गर्दै माटोको गुणस्तर जोगाउन गोठेमलको प्रयोग गर्नु पर्ने उनको सुझाव छ । ग्रामीण समुदायमा प्रयोग गरिने गोठेमलको समेत गुणस्तरहिन रहेको उनी वताउँछन् ।
किसान हरुले अव्यवस्थित तरिकाले घाम र वर्षाको पानीमा फालिएको गोठेमल नाईट्रोजन र फोस्फोरस उडेर गुणस्तरहिन हुने गरेको उनको अनुभव छ । गोठेमल व्यवस्थापनका लागि जिल्ला कृषि विकास कार्यालय बर्दियाले १ सय किसानहरुलाई ५ हजार २ सय रुपैयाका दरले ५ लाख २० हजार रुपैया अनुदान दिएको उनले वताए ।
कृषि विकास कार्यालयले गोठेमल व्यवस्थापनलाई सहयोग गरेपछि किसानहरुले व्यवस्थित भकारो निर्माण गर्दै पशुहरुको मलमूत्र संकलन गर्न थालेको अनुदान पाएका मगरागाडी गाविस जब्जहवाका पशुकिसानहरुले वताए । मलमूत्रको व्यवस्थापन सँगै पशुजन्य फोहर व्यवस्थापन भै गुणस्तरयुक्त मल बनेपछि उनीहरुमा खुशी छाएको छ ।
नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांस मानिसहरु कृषि पेशामा आश्रित छन् । आधुनिक रासायनिक मलको प्रयोगका कारण माटोको क्षमता घट्न गै माटोमा विभिन्न रोग देखा पर्नु दुखद कुरा हो । ग्रामीण कृषकहरुलाई सचेत पार्दै माटोमा देखिएको रोगको यथाशिघ्र निराकरण गर्नु आवस्यक छ ।