arrow

गाईभैँसी चराउँदै विद्यालयको गोठालो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
835497481.jpeg
(प्रकाश सिलवाल), वाल्टिङ (काभ्रेपलान्चोक) । “शिक्षाका लागि पछि पर्ने कुरा मेरो दिमागले सहन सक्दैन ।” यो भनाइ कुनै पठित वा विद्वान्को होइन । आपूm सामान्य साक्षर भए पनि शिक्षाको महत्व बुझेर नयाँ पुस्तालाई शिक्षाको मार्गमा डो¥याउन निरन्तर तल्लिन स्थानीयवासी वयोवृद्ध उद्धवराज मैनालीको हो । 

मुलुकमा प्रजातन्त्र स्थापनापूर्व स्थापित पञ्चकन्या उमाविका एक संस्थापक मैनालीमा बुढ्यौली उमेरमा पनि शिक्षा विकासका लागि कुनै थकानको अनुभूति छैन । “हाम्रो पालामा यहाँ पढ्ने वातावरण भएन तर यो संसार शिक्षाबिना निस्पट्ट अँध्यारो हुने रहेछ, मलाई यसमा गर्व छ कि यही ठाउँबाट कोही चिकित्सक र कोही इञ्जिनियर भए, मलाई यसमा धेरै खुसी छ ।” विद्यालय अगाडिको ठूलो घाँसे मैदान (कुण्ड) मा भैँसी चराइरहेका मैनालीले भने, “हामी गाईभैँसीका मात्र होइन, विद्यालयको पनि गोठालो भएका छौँ । हामीले जानेसम्मको काम विद्यालयका लागि गर्छौँ, शिक्षकले पनि त्यही प्रकारको जाँगर देखाऊन् भन्ने अभिभावकको चाहना छ ।” छ दसकअघि पानीको तलाउ रहेको सो कुण्ड हाल सुख्खा भएपछि चरण क्षेत्र भएको हो, जहाँ विद्यार्थीको खेल मैदान पनि हुने गरेको छ । 

उसबेला आठ कक्षा पास गरे जागिर खान सकिए पनि अहिले त्यसले केही नचल्ने बुझेका मैनालीका घरमा पञ्चकन्या उमाविमा पढाउने अन्य जिल्लाबाट आएका शिक्षक बस्ने पनि गर्छन् । शिक्षकले विद्यार्थी पढाउने सवालमा ख्याल ख्याल गरेको मैनालीलाई पटक्कै मन पर्दैन । विद्यालय व्यवस्थापन समितिका सदस्य मैनाली भन्छन्, “शिक्षा कसैले अंशबन्डा गर्नुपर्ने चिज होइन, यो मानिसको जीवन रहुन्जेल रहने विषय हो । 

जसरी बत्ती छैन भने निस्पट्ट अँध्यारो हुन्छ, त्यसै गरी शिक्षा नभए पनि अँध्यारो हुन्छ ।” अर्का अभिभावक नवराज चालिसेले पनि उद्धवराजको भनाइमा सहमति दिँदै विद्यालयका लागि आपूmहरु गोठालो हुन तयार रहेको बताए । 

विसं २००६ मा स्थापित सो विद्यालयमा ३९३ विद्यार्थी र १७ शिक्षक छन् । विनाशकारी भूकम्पले विद्यालयका अधिकांश भवन असुरक्षित बनेकाले अस्थायी सिकाइ केन्द्र र स्रोत केन्द्रको भवनका कक्षा सञ्चालन भइरहेको छ । 

कक्षा कोठाको अभावका कारण असुरक्षित भनिएको भवनमा पनि विद्यार्थी पढाउन बाध्य भएको प्रअ भक्तप्रसाद मैनाली बताउँछन् ।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सामाजिक अनुगमनको टोलीसँग प्रअ मैनालीले भने, “तत्काल भवन बन्ने सम्भावना नभएकाले खतरा मोलेर पनि पुरानो भवनमा पढाउनुपरेको छ ।” 

अनुगमनका सदस्य अभिभावक सङ्घ नेपालका केन्द्रीय सदस्य बद्री सञ्जेलले स्थानीय अभिभावक र समुदायको विद्यालयप्रतिको सहयोग देखेर आपूmहरु प्रभावित भएको बताए । उनले भने, “यस्ता विद्यालय र समुदायका लागि राज्यले आवश्यक पूर्वाधार निर्माणमा कञ्जुस्याइँ गर्नु हुँदैन ।” 

टोलीका अर्का सदस्य चाइल्ड नेपालका सचिव रत्न उप्रेतीले काभ्रे जिल्ला समग्रमा शिक्षामा अगाडि बढेको भए पनि पञ्चकन्या उमाविको नाजुक भौतिक स्थिति देख्दा राज्यले अझै प्राथमिकता दिन नसकेको बताउँदै इतिहास बोकेको सामुदायिक विद्यालय ओझेलमा पर्ने त होइन भन्ने चिन्ता आफूलाई भएको जनाए ।



नयाँ