रत्ननगर (चितवन)। आठजनाको परिवारका अगुवा लीलाबहादुर विक फलामलाई खुर्पाको आकार दिंदै छन् । फलाम सेलाउँदा ताप दिन छोरा लोकबहादुर पछाडि उभिएका छन् । “छोराले आरन मेसिन (हावा दिने मेसिन) चलाउँछ, म घन ठोक्छु हजुर, यस्तै छ काम,” घन हानिरहेका लीलाबहादुरले हेर्दै नहेरी जवाफ फर्काए । श्रीमती फूलमायाको मेलापात र ज्याला मजदुरी गर्दैमा दिन बित्छ । उनलाई बुहारी शान्तिले बेलाबेलामा ज्याला मजदुरी गर्न सघाउछिन् ।
छोरा यमबहादुर तामाको काम गर्छन् । मजदुरी पनि गर्छन् । “यो एक वर्षमा जति सकस कैल्यैँ भएन,” लीलाबहादुरले सम्झिए – “भूकम्पले बास त उठायो, अब त आस पनि हरायो ।” भूकम्पले घर पूरै ध्वस्त बनाएपछि र गाउँ नै उच्च जोखिममा पारेपछि चितवनको विकट काउलेको गोछिवाङको मलिलो जग्गा चटक्कै छाडेर रत्ननगर नजिकैको जुटपानीको सुख्खा चौरमा आउनुपर्यो उनलाई । त्यसपछि क्षणिक समयका लागि अस्थायी टहरामा राखिएका उनिहरुलाई स्थायी बास कहिले बन्ने हो पत्तो छैन । साँघुरो क्षेत्र चारैतर्फ तारबारले घेरिएको ठाउँमा उनिहरु बस्छन् । खुर्सानी लगाउने जग्गा पनि छैन ।
रोजीरोटीका लागि कुनै विकल्प नहुँदा कतैबाट रोजगार मिल्ला भन्ने आशा पनि छैन । “जग्गा जमिनमा काम गरौँ जग्गा छैन, नगरौँ खाने अन्न छैन,” छिमेकी सूर्यबहादुर विकले दुखेसो पोखे । छाडेर आएको गाउँ बाँझिइसकेको छ ।
लीलाबहादुर विकले आरनमा घन ठोक्दै गर्दा आफ्नो पालो कहिले आउँछ भनेर सूर्यबहादुर विक आरन कुरिरहेका छन् । एउटा आरनमा चार-पाँच परिवारले काम गर्नुपर्छ । स्थानान्तरण भएका २४ घरधुरीलाई दैनिक खर्चको जोहो गर्न यहाँ तीन वटा आरन दिइएको थियो । त्यही आरनमा पालो गरेर भूकम्पपीडितले हँसिया, कोदालो, कोदाली, करौती दाउ, खुकुरीलगायत सामग्री तयार गर्छन् । त्यही कमाइले चुलो बल्छ । कहिलेकाहीँ कमाइ नै नहुने र कुनै महिना आठ-नौ हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ ।
तर आरनका लागि चाहिने गोल नहुँदा उनीहरु समस्यामा छन् । प्रतिबोरा एकहजार २०० पर्ने गोल जम्मा पार्न उनीहरुलाई गाउँभर घुम्नुपर्छ । वनबाट ल्याउन पाइँदैन । “यही आरन चलाउने, कुल्ली गर्ने, ज्याला मजदुरी र मेलापात गर्ने नै हो,” सूर्यबहादुरले भने – “यो एकवर्ष खानलाई पनि धौधौ हुने गरी दुःखमा बित्यो ।”
कुल्ली काममा खटिन्छन् भूकम्पपीडित टीकाबहादुर विक । बालुवा लोड अनलोड गर्ने काममा सक्रिय हुन्छन् । खाने अन्नको जोहो गर्न परिवारका सदस्य उमेर अनुसारको काम गर्न बाध्य भएको टीकाबहादुरले बताए । भूकम्पपीडित युवालाई राज्यले कुनै रोजगारी दिए अलि सहज हुने भनाइ छ उनको । चितवन काउलेको डाँडाको टुप्पोमा रहेको गाउँ । उत्तरमा रिग्दी खोला, दक्षिणमा मौवा खोलाको शिर, पञ्चचुलीको काखमा थियो सानो सुन्दर बस्ती । कच्ची सडक धादिङ्गको हुग्दी हुँदै पुग्नुपर्ने ठाउँ गोछिवाङ गाउँ ।
हल्का भिरालो तर सम्म परेको बस्ती । बस्तीको माथि पञ्चचुली । बस्तीको पुछारमा भिर र माथि पछाडीपट्टि पनि भिर छ । त्यही भिरको अघिल्तिर काखमा थियो गोछिवाङ गाउँ । चौबिस घरधुरी विकहरुको बस्ती । तल्लो भागमा पहिरो खस्न थालेको र माथि पञ्चचुलीबाट मौवाखोला तर्फ ढुङ्गा माटोको चट्टान खस्न थालेकाले यो बस्तीलाई स्थानान्तरण गरेर जुटपानी ल्याइएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेल बताए ।
रासस