arrow

स्मृतिमा गिरिजाबाबुः कस्को नजरमा कस्ता नेता ? 

logo
प्रमोदहरि गुरागाई,
प्रकाशित २०७६ चैत ७ शुक्रबार
pramodhari.jpg

सदाबहार अर्थात् सधै जवान तथा फूर्तिलो । आकर्षक व्यक्तित्व भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ले वातावरणलाई रमणीय बनाई राख्ने सूचना विभिन्न पाठ्य समाग्रीबाट प्राप्त हुन्छ नेपाली राजनीतिकर्मीहरुमा गिरिजाबाबुको राजनीतिक ग्राफ अकल्पनीय छ । मजदुर आन्दोलनदेखि पटक–पटक प्रधानमन्त्री र कार्यकारी प्रधानमन्त्री तथा राष्ट्र प्रमुखको भूमिकामा जिम्मेवार र सफल नेतृत्व गरेका गिरिजाबाबुको छाप “कम बोल्ने तर बोलेको विषयलाई टुङ्गोमा पुर्याउने अडिक नेताको छ । 

थुप्रै अतुलनीय कार्यको निरन्तरताले गिरिजा बाबुका राजनीतिक जीवनको “वासलात” सकारात्मक छ । गिरिजाबाबु ब्रम्ह्लिन भएपछि विभिन्न विद्याका अगुवा, नेपाली काँग्रेसका नेता तथा नेपाली काँगे्रस इतरका व्यक्तित्वहरुले उहाँको बारेमा प्रकट गरेका आ–आफ्नो धारणबाट प्रष्ट हुन्छ । गिरिजाबाबु साच्चिनै सदाबहार व्यक्तित्व हो ।

गिरिजाबाबुको २०६७ चैत ७ गते निधन भएको थियो । गिरिजाबाबुको निधनले तत्कालीन अवस्थामा नेपाली राजनीतिले नयाँ मोड लिएको थियो । दोस्रो जनआनेलनका कमाण्डर गिरिजाबाबुकै नेतृत्वमा नेपालमा २४० वर्षे इतिहास बोकेको निरंकूश राजसंस्था ढलेको थियो । गिरिजाबाबुकै कारण नेपालमा गणतन्त्र आयो । गिरिजाबाबुकै योगदानका कारण नेपालमा जनताले लेखेको संविधान पनि बन्योे –नेपालको संविधान २०७२ । गिरिजाबाबुका बारेमा विभिन्न नेताहरुका आफ्ना आफ्ना सोच छन् । कसले कसरी लिए त गिरिजाबाबुलाई । केही संकलन र केही नयाँ विचारलाई यहाँ समेट्ने प्रयास गरिएको छ । 
    
“मेरो परम मित्र”
–स्व. कृष्णप्रसाद भट्टराई

मैले र गिरिजाबाबुले काशी हिन्दू विश्वविद्यालयबाट शिक्षा ग्रहण गरेका हौं । उहाँको व्यक्तित्व अत्यन्त नरम, मिजासिलो र अनुकरणीय थियो । काँग्रेस पार्टीमा हामी दुई बीच धेरै विवाद र विरोधहरु थिए । कुनै कुरामा हामी दुई जनाले मानेपछि सबैले मान्थे । गिरिजाबाबुद्वारा लगाइएको गुनबाट फाइदा उठाउनेहरु देशमा जताततै छन् । हाम्रो देशमा र सम्भवतः भारतमा पनि । 

गिरिजाबाबुको नाजुक स्वास्थ्यको जानकारी पाएपछि भेट्न पुगें । गिरिजाबाबुलाई देख्नासाथ मेरो आँखा रसाए । मैले ठूलो स्वरमा “गिरिजाबाबु गिरिजाबाबु” भनेर बोलाए उहाँको सास फुलेर एकोहोरो घ्यार–घ्यारमात्र सुनिन्थ्यो । उहाँ मसँग बोल्न खोजेजस्तो लाग्थ्यो । तर बोल्न सक्नु भएन । टुलुटुल हेरिरहनु मात्र भयो । मलाई लाग्यो, उहाँ मलाई नै हेरिरहनु भएको छ । गिरिजाबाबुको त्यस्तो अवस्था देखेर असाध्यै माया लागेर आयो । त्यहाँ बसिरहन सकिन । म तुरुन्तै आफ्नो निवास फर्किए ।

“गिरिजाबाबु म्यान अफ एक्सन हो”
–स्व. सुशील कोइराला 

विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा र बिरामी परेका, दुःखमा परेकालाई जसरी पनि भेट्ने पुग्ने कार्य गिरिजाबाबुको प्राथमिक कार्यमा पर्दथ्यो ।  माता दिब्या कोइरालाले भन्नुहुन्थ्यो “यो गिरिजा जस्तोसुकै महामारीमा पनि हाम फालिहाल्छ ।” कर्ममा विश्वास गर्ने र निरन्तर अविचलित यात्रा गर्ने उहाँको स्वभावले गिरिजाबाबुले यो उचाई निर्माण गर्नु भएको हो । 

सुशिल कोइरालालाई स्मरण छ , २००७ सालमा गिरिजा दाजु, मनमोहन अधिकारी, गेहन्द्र शर्मा लगायतलाई विराटनगरबाट पक्राउ गरियो । उहाँहरुलाई हिडाएर काठमाण्डौं ल्याइयो र नख्खु जेलमा राखियो । तत्कालिन श्री ३ मोहन शम्शेरले जेल प्रखुमलाई (गिरिजा दाजुहरु)को सबै आवश्यकता पूरा गर्ने निर्देशन दिएछन् । खाना बस्नको मात्र नभई जुत्ता फाट्यो भने थुप्रै जुत्ता आदिको व्यवस्था हुन थालेछ । एकदिन गिरिजाबाबुले मनमोहनलाई भन्नु भएछ “हेर मनमोहन तिमीहरुको माग भनेको गाँस, बास र कपास हो  त्यो पूरा भयो । त्यसैले तिमीहरु यही बस । मलाई त स्वतन्त्रता चाहिन्छ ।” 

“शान्ति र संविधान गिरिजाबाबुकै परिकल्पना हो” 
–शेरबहादुर देउवा 

गिरिजाबाबु सिद्धान्तमा कसैसँग सम्झौता  नगर्ने, कसैसँग नदब्ने, आफ्नो अडान नछोड्ने र कहिल्यै नथाक्ने नेता हुनुहुन्थ्यो । नख्खु जेलमा भएका गिरिजाबाबुसँग २०२४ सालमा विद्यार्थी राजनीतिको कारण जेलमा नै भेट भएको शेरबहादुर देउवा सम्झनु हुन्छ । गिरिजाबाबु सबैसँग सरसल्लाह गरेर निर्णयमा पुग्नु हुन्थ्यो । गिरिजाबाबुको अभावमा हामी अझ बढी जिम्मेवार बन्नु पर्छ । 

“गिरिजाबाबु हाइट र लाइट दुवै भएको राजनेता हो” 
–केपी शर्मा ओली 

गिरिजाबाबु जहाँ जन्मनु भयो, जहाँबाट राजनीति थाल्नु भयो त्यो  इतिहास उहाँपछि मै हुँ भनेर कसैले सक्दैन । पदको जिम्मेवारी लिन सक्छ, सार्वजनिक जिम्मेवारीको ठाउँ लिन सक्छ । तर त्यो इतिहास, योगदान र प्रतिष्ठा अब म लिन्छु भन्यो भने त्यसलाई दशा लाग्छ । पदको उत्तराधिकार होला, वंश अधिकार प्रश्नको उत्तराधिकार होला तर इतिहासको उत्तराधिकार केही हुन सक्दैन ।

गिरिजाबाबुको क्याविनेटमा उप–प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको काम गर्ने अवसर प्राप्त भयो । दुवै जना “टफ स्वभाव”को व्यक्ति भएकोले सहकार्यमा मान्छेहरुको चासो थियो । अनेक पटक प्रधानमन्त्री भइसकेको , मेरो पिताजी भन्दा पनि जेष्ठ व्यक्ति तर पनि मैले उमेरको अन्तर अनुभव गर्नुपरेन । बरु आफ्नै पार्टीका साथीसँगको सहकार्य भन्दा कोइरालासँगको सहकार्य कतिपय अवस्थामा सहज भयो । समग्रमा गिरिजाबाबु टाडैबाट देखिने राजनीतिक उचाई र प्रकाश भएको राजनेता हो । 

“गिरिजाबाबुले जे बोल्न हुन्थ्यो , त्यो गर्नुहुन्थ्यो ”
–पुष्पकमल दाहाल “प्रचण्ड” 

गिरिजाबाबु लामो नबोल्ने र सिधा आफ्नो कुरा राख्ने प्रवृत्तिको हुनुहुन्थ्यो । गिरिजाबाबु विश्वासयोग्य नेता हो । १२ बुँदे सझदारीमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको हो । शान्ति प्रकृयाको चरणसँगै “मेरो सेक्युरिटीको लागि ध्यान दिन थालेकोबाट मलाई एउटा गार्जियनले आफ्नो चेलालाई गरेजस्तो मायाको अनुभूती भयो” 

पहिलो संविधानसभाको निर्वाचन पछि आइजोलोजिको विषयबाट हामी निर्देशित भयौं । गिरिजाबाबुलाई राष्ट्रपतिको रुपमा स्वीकार गरेको भए देशलाई सहज ढंङ्गले निकासमा लान सकिने रहेछ । 

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषय नमान्नु हाम्रो गल्ति हो । “संयन्त्र पहिल्यै बनाएको भए यस्तो अवस्था आउने थिएन । हामीबाट ठूलो भूल भयो ।” गिरिजाबाबुले कहिल्यै धोका दिनु भएन । हामीले उहाँलाई चिन्न सकेनौं । 

“नन् डेमोक्रयाटलाई डेमोक्रयाट बनाउने यन्त्रशाला (कारखाना)” 
–रामचन्द्र पौडेल 

गिरिजाबाबुको स्वर्गारोहणले शान्ति प्रकृयाको एक प्रमुख साक्षी गुमाएका छौं । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि बहुदलवादमा विश्वास नगर्ने कम्युनिष्टहरुलाई क्रमशः बहुदलताको सँस्कृतिमा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदान छ । हतियारको बलबाट सत्ता कब्जा गर्ने अभिष्ट बोकेका माओवादीलाई प्रजातन्त्रिक पद्धतिमा ल्याउने प्रमुख पात्र गिरिजाबाबु नै हो । 
विपीको अन्तिम अवस्थामा रामचन्द्र पौडेलहरुले वीपीलाई प्रश्न गरे “हाम्रो प्रजातन्त्र के होला ? नेपालको भविष्य के होला ?” विपीले आश्वस्त पार्दै भन्नु भयो । “गणेशमान, कृष्णप्रसाद र  गिरिजाप्रसादलाई फुट्न नदिनु । यिनीहरुलाई फुटाउने प्रयास हुनेछ । यिनीहरुसँग तर्क गर्न, छलफल गर्न नडराउनु । यत्ति गर्न सक्यौ भने बेडा पार हुन्छ । नेपालमा प्रजातन्त्र आउँछ ।” 
गिरिजाबाबुले पनि “तपाईहरु मिल्नु पर्छ , एकता राख्नु पर्छ” भन्नु हुन्थ्यो । पार्टीको चुनावमा पनि “एकता गर्नुस” भन्नुहुन्थ्यो । अबको हाम्रो दायित्व पार्टी संस्थागत पद्धतिबाट चलाउनु हो । सामूहिक नेतृत्वबाट अगाडि बढ्नुपर्छ ।

“गिरिजाबाबु ठूलो नेता मात्र नभई राष्ट्रको अभिभावक हुनुहन्थ्यो” 
–प्रकाशमान सिंह 

गिरिजाबाबुको योगदान भनेको सहमती, सझदारी, मेल मिलाप, शान्ति र एकाता हो । उहाँ थाक्ने व्यक्तित्व होइन । यस्ता प्रजातान्त्रिक आन्दोलनका अथक योगदानको परिणाम हो । “माओवादीसँग भएको वृहत शान्ति सम्झौतादेखि निरंकुश राजतन्त्रको अन्त्य । यो चानेचुने रकम चुनौतीपूर्ण कार्य होइन” । हाम्रो परिवार र कोइराला परिवारले सँगसँगै प्रजातान्त्रिक आन्दोलनमा संघर्ष ग¥यो । ती कठिन र चुनौतीपूर्ण दिनमा सँग सँगै प्रवास र जेल जीवनको साझा अनुभव छ । हाम्रो ६० वर्ष लामो पारिवारिक सम्बन्ध छ । तसर्थ मैले नेता मात्र होइन अभिभावक पनि गुमाए । 

“दुई प्रति हस्ताक्षरित समझदारीमा एक प्रति माओवादीले राखे, एक प्रति गिरिजाबाबुले मलाई दिनुभयो” 
–कृष्णप्रसाद सिटौला 

होलेरी काण्डको घटना र गिरिजाबाबुको राजा ज्ञानेन्द्रसँगको भेट पछि गिरिजाबाबु उदास देखिनु भो । सिटौलालाई गिरिजाबाबुले भन्नुभयो “मलाई आज राजाले नराम्रो व्यवहार गरे”। राजाले भन,े “प्राइम मिनिष्टर, तपाई माथि भ्रष्टाचारको आरोप छ । राजिनामा गर्नु पर्दैन ?” मैले पनि भने “तपाई माथि पनि त दरबार हत्याकाण्डको आरोप छ ।” कसैलाई पत्तै नदिई दुई दिन पछि गिरिजाबाबुले राजिनामा गर्नु भो र निरंकुसताको नग्रा काट्न अन्दोलनको तयारी थाल्नु भयो । 

निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राजाले बर्खास्त गरे । २०५९ असोज १८ गतेको कमद विरुद्ध मंसिर १० मा बसन्तपुरमा आयोजित सभामा गिरिजाबाबुले प्रतिनिधिसभा पुनस्र्थापना गरेरै छाड्ने वाँचा गर्नुभयो । यसपछिको राजनीतिक उताड चडावमा तत्कालिन एमाले पनि राजाद्वारा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सामेल भए । चार दलको आन्दोलन जारी रह्यो । लगत्तै माघ १९ मा राजाले लोकतन्त्र खाए ।

पटक–पटकको बार्ता पछि गिरिजाबाबुले प्रचण्डजीसँग प्रश्न गर्नुभयो “तपाईहरु डेमोक्रेटिमा आउने हो कि होइन ? हतियार छाड्ने हो कि होइन ? होइन भने हामी एक साथ जान सक्दैनौं ।” प्रचण्डले उत्तर दिए “हामी आउँछौं गिरिजाबाबु तर संसद पुर्नस्थापना मान्दैनौं ।” गिरिजाबाबुले सम्झाउनु भयो । “राजाले घोषणा गरेको संविधानसभा जनताको हुन्छन?” पछि सहमती बन्यो निरंकुश राजतन्त्रको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्ने । 

आन्दोलनले क्रमशः उचाई हासिल ग-यो । प्रतिनिधिमा पुर्नस्थापना भयो । क्रमशः शान्तिपूर्ण मार्गबाट देश संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभियो । गिरिजाबाबु समयलाई सम्हाल्दै लक्ष्यमा पुगि छाड्ने राजनेता हो ,

“गिरिजाबाबु सेल्फ मेड म्यान हो”
–डा. शशांक कोइराला

डा. शशांक कोइरालाको स्मरणमा घरबाट साइकल, एउटा झुल, हाते माइक, एउटा झण्डा र एकजना साथी प्रायः (मनहरि बराल) सँगै आइतबार निष्केर शुक्रबार गिरिजाबाबु घर फर्कनुहुन्थ्यो । गिरिजाबाबु केटा केटि प्रिय हुनुहुन्थ्यो । हामी उहाँलाई देख्नासाथ झुम्मिन्थ्यौं रमाइलो कुराकानी र चकलेटहरुको स्वाद अझै स्मरणीय छ । 

मलाई लाग्छ “वीपीलाई वीपी बनाउन गिरिजाप्रसादले ठूलो योगदान गर्नुभयो तर गिरिजाप्रसादलाई वीपीले कहिल्यै अघि वढ्न दिनुभएन । गिरिजाबाबुको सांगठनिक कार्यले उहाँको हक थियो मोरङ्गको सभापति बन्ने । तर वीपीले भन्नुभयो “हेर गिरिजा म छँदै छु, अहिले नै तैले पदलिने होइन ।” तर सानुबाबुले कहिल्यै हार मान्नु भएन । धेरैजसो मानिसहरुमा एउटा निश्चित उमेर पछि सक्रियता र परिवर्तनप्रतिको लगाव घट्छ । तर गिरिजाबाबुमा यो सिद्धान्त लानु भएन । आफ्नै कर्मले उहाँ अमर हुनुभयो । 

“विपीले हामीलाई गिरिजाका मान्छे भन्नु हुन्थ्यो”
    –स्व.चक्रप्रसाद बास्तोला 

गिरिजाबाबु स्वभावैले दुस्साहसी हुनुहुन्थ्यो । मैले उहाँमा जहिले पनि जुझारु र संघर्ष गर्न रुचाउने नेताको रुपमा पाएँ । वास्तोला उल्लेख गर्नु हुन्छ “मैले एक पटक वीपीलाई भने, सान्दाजु खोइ तपाईसँग अब काम होला जस्तो छैन, कुरा मिल्दैन जस्तो लाग्यो, तपाईको पार्टी अब काम लाग्दैन ।”  विपीले सोध्नु भयो “ए तिमी मलाई छाडेर अब गिरिजाको पार्टीमा जाने ?”

चक्र वास्तोलालाई स्मरण ताजै छ । प्लेन हाइज्याकिङ्गको “मास्टर माइण्ड” गिरिजाबाबु नै हो । २०३० साल असार २९ गते बिहान ९ बजे पेस्तोल, ग्रिनेड बोकेर दुर्गा सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल विराटनगरमा प्लेन चडे । शुसिल कोइराला गाडी सिक्ने र गाडी बिग्रेको बहानामा फारविसगञ्जको चालु अवस्थामा नहेको एयरपोर्टमा थिए । हाइराज्यकारहरुले रेलको लिक पछ्याउदै शुसिलहरुले रातो झण्डा फराउँदै गरेको स्थानतिर प्लेन ल्याए ।  स्थानीय व्यापारी शर्माजीको घरमा चिया बहानमा बसेका चक्र बास्तोलको कानमा हवाई जहाजको आवाज सुनियो । चक्रले टेवल टक–टक गरी गिरिजाबाबुलाई संकेत गरे । गिरिजाबाबुले तुरुन्तै “शर्माजी मै चला”  भन्दै उठ्नु भयो । योजना अनुसार चक्र र गिरिजाबाबुको दार्जलिङ्गमा भेट भयो । दुवैले अल इण्डिया रेडियोबाट हाइज्याकिङ्गको समाचार सुने । गिरिजाबाबुले बिस्तारै भन्नुभयो “चक्र समाचार त आयो नी ।” 

“सानो बुबा मेरो आदर्श”
–सुजाता कोइराला 

सानो बुबा भन्नुहुन्थ्यो “राजनीति गर्न त्यति सजिलो छैन । कसैले सुख, समृद्धि र शक्तिको आशा राखेर राजनीति ग-यो भने त्यो व्यक्ति जनताको सच्चा नेताको रुपमा कहिल्यै स्थापित हुन सक्दैन । ऊ कसैको अनुयायी वा पिछलग्गु भएर रहन पुग्छ । राजनीतिमा लाग्ने व्यक्तिले सँधै आफ्नो आस्थामा अडिग हुन र जनताको बृहत्तर हित हेर्न सक्नुपर्छ । नेपालको स्वाधिनता र नेपालीको लागि के सही हो तथा नेपाली जनताको इच्छा के हो ? त्यो बुझेर अगाडि बढ्ने नेतामात्र सफल हुन सक्छ ।”  

सुजाता कोइराला १३ वर्षकी हुँदै आमा सुष्मा कोइरालाले सँधैका लागि छाडेर संसारबाट बिदा हुनुभयो । अरु छोरीहरुले झै पिताजी (गिराजीबाबु)लाई एकलौटी बनाउन पाइनन् । आफ्नो पिताको आफूप्रतिको स्नेह र प्रेम उहाँले कहिले जेलबाट र कहिले निर्वासनबाट पठाएका पत्रबाट अनुभव गर्नुपथ्र्यो । पिताजीले पठाईदिएको उपहारसँग खेलेर आफ्नो पिताको स्नेहको अनुभव गरेको स्मरण सुजाता कोइरालासँग छ ।

गिरिजाबाबु सुजाता कोइरालालाई “सोचेर काम गर ! राजनीति एकदमै गाह्रो काम हो, धेरै कठिन छ अघि बढ्न, धेरै आत्तिएर र धेरै मात्तिएर काम गर्ने मान्छे असफल हुन्छ ” भन्नुहुन्थ्यो । पिताजीलाई बाचुन्जेल सहयोग पु-याएँ र अब पनि उहँको अन्तिम इच्छा भनौं वा सपना साकार बनाउन आफ्नो जीवन अर्पण गर्ने अठोट लिएकी छु । 
     
“टेवुल कुर्सीमा बसेर होइन, व्यवहारबाट प्रजातन्त्रको अध्यापक” 
–डा. शेखर कोइराला “

दिल्लीको कालकाजी भन्ने स्थानको घरमा गिरिजाबाबुको प्रत्यक्ष नेतृत्वमा १२ बुँदे समझदारी निर्माण भएको हो । भारतीयहरु संलग्न भएर १२ बुँदे बनाएको भन्ने गलत हो । कृष्ण सेनको माध्यमबाट प्रचण्डसँग सम्पर्क भएको हो । गिरिजाबाबु कृष्ण सेनलाई लुकेुर काम गर्न भन्नुहुन्थ्यो । पछि राज्यले कृष्ण सेनजीलाई बेपत्ता  पा¥यो । गिरिजाबाबुकै निर्देशनमा मलाई र गोबिन्दराज जोशीलाई माओवादीसँग कुरा गर्न दिल्ली पठाउनु भयो । त्यसबेला बाबुराम भट्टराई, कृष्णबहादुर महरा, देव गुरुङ्ग, बामदेव क्षेत्री हुनुहुथ्यो । २०५९ जेठ ८ मा राजा ज्ञानेन्द्रबाट संसद विघटन भयो । बाबुरामजीले यस्तो अवस्थामा कुरा गरेर फाइदा छैन भन्ने जवाफ दिए । माघ १९ पछि डा. शेखर कोइराला दिल्ली पुग्नु भयो । पछि कृष्णप्रसाद सिटौला, महन्थ ठाकुर र रामवरण यादव पनि दिल्ली पुग्नु भयो । त्यसपछि गिरिजाबाबु, डा. शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, माधवकुमार नेपाल, केपी शर्मा ओली, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, प्रचण्ड, बाबुराम भट्टराई, कृष्ण बहादुर महरा लगायतको उपस्थितिमा १२ बुँदे समझादारीमा हस्ताक्षर भएको हो । माओवादी बहुदलीय प्रतिस्पर्धामा आउने र काँग्रेस गणतन्त्रमा जाने सहमती पश्चात् देशले निकास पाएको हो । 

“प्रजातान्त्रिक इतिहासको प्रतिक व्यक्तित्व”
–निलाम्बर आचार्य

गिरिजाबाबुले सामान्य अवस्थामा भन्दा पनि अप्ठेरो अवस्थामा नेतृत्व दिनसक्ने, पछि नहट्ने र नडग्ने नेताको रुपमा भूमिका खेल्दै आउनुभयो । गिरिजाबाबु नेपालको इतिहासमा एउटा लक्षनिष्ठ उच्च व्यक्तित्व र व्यवहार कुशल नेताको रुपमा सम्झीइरहनु हुनेछ । गिरिजाबाबुको अनुपस्थितले “एउटा जाने ठाउँ छ, भन्ने ठाउँ छ, सुनाउने ठाउँ छ अर्थात् साझा सम्मानित मार्गदर्शकको अभाव नेपाली राजनीतिमा रहिरहने छ । 

“विश्वविद्यालयमा हस्तक्षेप नगर्ने प्रधानमन्त्री”
–केदारभक्त माथेमा (पूर्व उपकुलपती त्रि.वि.)

विश्व बैंकमा काम गरिरहेका केदारभक्त माथेमाको घरमा एकाबिहानै बालुवाटारबाट फोनको घन्टि बज्छ । गिरिजाबाबुले सोध्नुभयो “के गर्दै हुनुहुन्छ ? भेट्न मिल्छ ?” घरमा सरसल्लाह गरेर माथेमा सर बालुवाटार जानुहुन्छ । गिरिजाबाबुले उपकुलपतिको प्रस्ताव राख्नु हुन्छ । राजनीतिक हस्ताक्षेप नगर्ने, सरकारको साथ चाहिने र पार्टीको झण्डा बोकेर विश्वविद्यालय नजाने माथेमा सरको शर्त स्वीकृत हुन्छ । गिरिजाबाबुकै सहयोगमा माथेमा सरको पालामा त्रिविको २० वर्ष पुरानो शुल्कबाट शत्प्रतिशत शुल्क वृद्धि गरेरनै टाट उल्टिन लागेको त्रिवि जोगिएको थियो । 

डा.रामशरण महतको पुस्तक “इन डिफेन्स अफ डेमोक्रेसी” पुस्तकको लोकार्पणको दिन माथेमा सरको मानसपटलमा ताजै छ । गिरिजा बाबु र माथेमा सरको विकासको बारेमा बिचार बाझियो । गिरिजाबावुको बुझाईमा देश विकासको लागि “सडक पहिलो हो” माथेमा सरको बुझाईमा “शिक्षा हो” । कार्यक्रममा गिरिजाबाबुले भन्नुभयो “बाटो नभएको भए काठमाण्डौंमा छठको सँस्कृति भित्रिन्थ्यो ?” 

“उहाँ कमालको हुनुहुन्थ्यो”
वीएल शर्मा

गिरिजाबाबुसँग सरकारी र निजी गरी ८ वटा दिल्ली भ्रमण्डाको यात्रा गरेको वि.एल. शर्माले अन्तिम पटक चार टुक्रा दुधमलाई सुजता कोइरालाको निवासको सयन कक्षको टेवुलमा छोडेर निराश भई घर फर्केका थिए ।

त्यसको दुई दिन पछि गिरिजाबाबु यस धर्तिमा रहेनन् । बी.एल. शर्मा १५ वर्षकै छँदादेखि आफ्नै दुकान महाराजजीको दुकानमा बनेको मिठाई बोकेर राणा र राजाका दरबार पुग्थे । बी.एल. शर्मा दरबार भित्रका गतिविधिबारे सूचना प्राप्त गर्ने स्रोत थिए । आफ्नै निवासमा गिरिजाबाबुसँगै आफ्नै हातले बनाएको राजस्थानी खाना, मिठाई, अमलाको अचार आदि सहभोजन गरेको बी.एल. शर्माको दृष्टिमा “गिरिजाबाबुसँग साथ गर्न र बात गर्न खुब मजा लाग्थ्यो, उहाँ वास्तवमा कमालको हुनुहुन्थ्यो । हँसाउन पनि खुब सिपालु हुनहुनुन्थ्यो ।” 

अन्तमा २०६५ आविश्वन २ गते काठमाण्डौंको सिटी हलमा लौह पुरुष गणेशमान सिंहको ११ औं स्मृतिमा “वर्तमान सन्दर्भमा गणेशमान सिंह र प्रजातन्त्रिक आन्दोलन” विषयक बिचार गोष्टि आयोजना भएको थियो । प्रदीप पौडेलजी देश बाहिर भएकाले म नेपाल विद्यार्थी संघको कार्यबाहक सभापति थिए । प्रमुख अतिथि गिरिजाबाबु हुनुहुन्थ्यो । अतिथिहरु सुशिल कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह आदि नेताहरु हुनुहुन्थ्यो । गिरिजाबाबुले उक्त कार्यक्रममा भन्नु भयो “म बिराटनगर गएर चना खेति गरेर बस्न सक्छु । फेरी मिहेनत गरेर प्रधानमन्त्री पनि बनौला । तर यो राजा नाम केरे ? केरे ? मासले भन्यो ज्ञानेन्द्र । अँ बेलामा वुद्धि फिरोस् एक पटक ढलेको राजतन्त्रले पुनः टाउँको उठाउन सक्दैन ।”
(लेखक एवं संकलक गुरागाई नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य हुन्।) 



नयाँ