arrow

मृत्युको समाचार 

logo
रामकृष्ण पुडासैनी, 
प्रकाशित २०७६ चैत २१ शुक्रबार
ramkrishna-pudasaini.jpg

दैविक विपत्ति आइरहे, 
कहिले सुनामी बनेर आए, 
कहिले आगो बनेर आए, 
कहिले बाढी बनेर आए, 
धेरै पटक सुख्खा खडेरी बनेर आए,  
जति पटक आए,
मृत्युको समाचार बनेर आइरहे। 

कहिले अमाजोनका जंगल डढे, 
बेहिसाब जनावर मृत्युका  समाचार बने, 
कहिले अस्ट्रेलियाका जंगल डढे, 
लाखौ जनावर मृत्युका समाचार बने, 
कहिले हैटी चिली अनि नेपालमा भुइचालो आए,
मृत्युका समाचार बनिरहे,
चन्दाले विकास हुन्थ्यो भने 
हैटी अहिले स्विट्जरल्याण्ड बन्नुपर्ने,
तर केवल मृत्युको समाचार बनिरहे। 

कट्रिना लगायत का हुरी आए, 
हुरीबतास–भुइचालो सहितका सुनामी आए,
कहिले प्लेग, कहिले हैजा, 
कहिले स्वाइन फ्लु–स्पेनिस फ्लु, कहिले इबोला,
जहिले जे नाम बोकेर आए, 
मृत्युका समाचार बनिरहे। 

अचेल त्यस्तै एउटा भाइरस बहुलाएर मर्त्यलोकमा ताण्डव गर्दैछ,
जो आए पनि यहि पृथ्वी मातालाई रुवाउने गर्छन्, 
मानव जातिलाई मार्दै मार्दै मृत्युको समाचार बनाईरहन्छन् । 

यो कस्तो त्रास, 
सारा दुनियाँ त्रास मा छ, 
तड्पाइ तड्पाइ मारेको छ,
घर बाहिर जान नदिइ, भित्र भित्रै मारेको छ,
अस्पताल समेत पुग्न नपाइ ओछ्यानमै ठहरै पारेको छ,
हिजोसम्म बोलेको मान्छे, आजै निस्सासिएर  मरेको छ। 

ए कोरोना कति मार्छौ ?
मथुरा, लंका, हस्तिनापुरका पनि राक्षस दुष्ट मात्रै मारिएका थिए, 
तिमिले त शृष्टि नै ध्वस्त पार्दै छौ,
यो संसार पापी–पापीको मात्रै पक्कै नहोला, 
पापको घडा अझै भरिएको छैन होला, 
पशुपतिका कलिको पनि अझै आधा भाग निक्लनै बाँकी छ,
तिमी त पुरै विश्व खान हिँडेकी छौ, मृत्युको समाचार बनाएकी छौ। 

एसियाबाट शुरु गरि, युरोप विध्वंस गर्दै, 
अमेरिकातिर लम्किएकि हे कोरोना, 
बाउले छोरीको अनि छोराले आमाको मलामी समेत जान पाएनन्, 
सेल्फ क्वारेनटाइनमा राखेकी छौ,
बहिनी मरेर दाइले रुँदै मलामी बोलाउदा, 
कोहि आएनन, 
पुरै देश लकडाउनमा राखेकी छौ,
नाक मुख नछोपी कोहि बोल्दैनन्, 
मृत्युको समाचार बनाई रहेकी छौ।  

युरोप अमेरिकामा सन्तान छन् भन्दै छाती फुलाउने 
बा–आमा आज झोक्र्याएका छन्,  
बुढा बा–आमा एक्लै पर्लान कि भनि छिमेकी पिच्छे फोन गर्दै अनुरोध गरेका छन्, 
परदेशिएका हरु नेपाल मा बा आमा केहि थाहा नपाए नि हुन्थ्यो झैँ गर्छन्, 
बा आमा पनि बुझ्ने भैसके, 
तिमीहरु संगै कि अलग अलग क्वारेनटाइनमा बसेको भनि सोध्नुहुन्छ, 
सानी छोरीले पनि बुझिछे क्यारे, 
बैठक कोठाको सिसाको ढोकाबाट चिहाएर बा भन्छे, 
भक्कानो फुट्छ, दौडिएर छोरी बोक्न मन लाग्छ,
अर्धांगिनी बेलाबेलामा पानी ल्याएर अलग्गै पर राखिदिन्छिन्,
आफु घोडा बनी छोरीलाई पिठ्युमा बोक्न मन लाग्छ, 
सार्है टिठ लाग्छ, आफ्नै घर जेल झैँ लाग्छ,
तर म एक्कासि डाक्टरले भनेको सम्झन्छु, 
क्वारेनटाइनमा अलग्गै बस्नु भनेको सम्झन्छु, 
त्यसैले छोरीलाई अंगाल्न दौडिनु अघि नै मेरा पाइला रोकिन्छन्, 
मृत्युको समाचार बन्न डर लाग्छ। 

हे कोरोना,
ब्रम्हा, बिष्णु, महेशले शृष्टि, सम्भार र संहार गरे, 
तर तिमी त नरसंहार मात्रै गर्दैछौ। 
अस्पतालमा खुट्टा राख्ने  ठाउँ छैन, 
८० काटेकालाई आइसीयुमा ठाउँ छैन, 
उपचार पनि के भन्नु, 
सिटामोल बाहेक अरु औषधि दिएको छैन। 

अस्ति जस्तो लाग्छ पेरिसमा साइकल छिचोल्दै हिम्डेको, 
भेनिसमा डुङ्गा छिचोल्दै हिँडेको, 
अनि लण्डनमा मान्छे छिचोल्दै घुमेको,
तर आज सृष्टिका ति सुन्दर सहर सियो खसेको सुनिने सुन्यतामा हराई रहेका छन्, 
डराइरहेका छन्, मृत्युका समाचार बनि बनि।

अब मृत्युको समाचार बन्ने पालो कोरोनाको, 
म घरैमा बस्दा पनि कुरुक्षेत्र युध्द जितेको आभाष गर्छु। 
किनकि यो जुटेर होइन, घरमा एक्लै बसेर लडिने लडाई हो, म दिनदिनै लड्दै छु।
म मेरी छोरीले जस्तै ब्राभो ब्राभो भन्दै,
बेलुका ८ बजे तालि बजाउँदै झ्यालबाट सम्झन्छु तिनैलाई, प्राथना गर्छु,
आज मेरा राम, कृष्ण र शिव, धनु, चक्र र त्रिशुल बोकेर आउदैनन् । 
मेरा राम, कृष्ण, र शिव आजकल  सेतो गाउन लगाएर,
 कुनै ल्याबमा तिमीलाई मृत्युको समाचार बनाउने भ्याक्सिन बनाउँदै छन्, 
८ बजे म तिनै डाक्टर नर्सलाई सम्झेर तालि बजाउँछु, 
जुन दिन मेरा भगवानले तिम्रा लागि त्यो सुइ बनाउलान्, 
त्यो दिन तिम्रो मृत्युको समाचार म पनि लेख्नेछु।



नयाँ