arrow

नेपाल आमा तिमीले सुनिनौ कि मलाई चिनिनौ ?                                

logo
डा. विमला शर्मा 
प्रकाशित २०७६ चैत २३ आइतबार
dr-bimala-sharma.jpg

आमा म महाकालीको तिरबाट तिमीलाई बोलाई रहें तर तिमीले किन मेरो पुकार सुनिनौ कि मलाई चिन्दै चिनिनौ ? तिमीले आफैले त हो नि मलाई पठाएको जा गएर रगत पसिना बगाएर कमाएर आफ्नो जवानी बलि चढाएर अर्काको माटो मोलिलो हरियो भरिलो बनाएर आईज भनेर पठाएको । 

म त तिमीलाई छोडेर कहाँ जान चाहन्थेँ र । तिमी आफैले यहाँको शिक्षा, स्वास्थ्य, सडक, अर्थोपार्जनका निम्ति चाहिने श्रोत र साधन छैन भन्ने मेरो सानो दिमागमा घुसाई दियौ अनि म गएँ । 

म लगायत मेरा सबै दाजुभाइ दिदीबहिनीहरु विश्वका सबैजसो देशमा छरिएर आफ्नो जिविका चलाई राखेका छौं । हाम्रा चाडपर्व हामीले आमा तिमीले सिकाए जसरी नै मनाउने गर्दछौं। 

हामीले आफ्नो हुतिले भ्याएसम्म तिम्रो सिर झुक्न दिएका छैनौ । हो मैले पेटे भोटो, चोलो फरिया, नेपाली टोपी, दौरा सुरुवाल धोती कुर्ता लगाएको थिइन । तर मुटुभरि त्यो लगाउदा तिमी मुस्कुराएको सम्झना त झलझली थियो। विदेशमा बस्दा बस्दा मेरो रहनसहन बोलीभाषामा पनि स्थानीय झल्को आउन थालेकोले होला सायद आमा तिमीले मलाई चिनिनौ ?

उडेर वा गुडेर टाईसूट लगाएर हातमा कोषका लागि चन्दाको ठूलै रकमको चैक बोकेर आएको भए तिमीले मेरो स्वागतमा रेड कार्पेट बिछाउने थियौ तर म त उडेर वा गुडेर होईन हिडेर आफ्नो काखमा तीन महिने बालक च्यापेर एउटा झोला टाउकोमा अर्को झोला काँधमा बोकेर चार दिनको भोको पेट लिएर आउँदै थिएँ । आमा म भोको पेटमा कति चिच्याएँ कति कराएँ कति तिम्रो ढोका ढकढकाएँ ।  तर तिमीले सुनिनौ। आमा मैले नै रोजेर तिम्रो हेरचाह र सुरक्षाका निम्ति चयन गरेका हाम्रै दाजुभाइ दिदीबहिनी द्वारपालहरु कति निष्ठुरी मलाई तिम्रो काखमा आउन नै दिएनन् । म पनि तिम्रो सन्तान हुँ कहाँ कम छु र हाम फालेँ महाकालीमा पौडेर तिम्रो काखमा पुग्छु भनी ।

तिमीले विजय लामालाई पठाई मलाई यो महामारीका बेला चाईनाबाट प्लेनमा लिएर आयौ म कम्ता खुशी भईन त्यसका लागि आमा तिमीलाई शत शत नमन । सबैले अप्ठ्यारो परिस्थितिमा आआफफ्ना नागरिक र छोराछोरीलाई एयरलिफ्ट गरेर आआफ्नो काखमा लगेर सुरक्षित राख्दछन् । 

आमा तिमी मात्र किन यति कठोर ? के म तिम्रो सन्तान होईन र ? किन मेरो आवाज सुन्दिनौ र किन मलाई चिन्दिनौ ? मबाट के भूल भयो मेरी आमा मैले कुन कर्तव्यको पालना गरिन तिमिले जे भन्यौ त्यहि मानेँ तैपनि मसंग किन यस्तो व्यवहार ? मलाई तिमीले आफ्नो काखमा कमाउन, रमाउन त दिईनौ तर मरेर हराउन त दिउ । 

तिम्रा द्वारपालले तिम्रै सुरक्षा गर्न सकेका छैनन् सिमानामा अर्कैको रजाइँ छ । आफैले सबै साँचो जिम्मा लिएका छन तर आफैले ताल्चा फुटाई राखेका छन् । 

तैपनि तिमीले उनलाई कुनै सजाय दिइनौ । मैले तिरेको कर र पठाएको रेमिट्यान्सबाट तिम्रा द्वारपाल चिल्ला गाडी चढेका छन् र पालिएका छन् तैपनि तिनैले मलाई तिम्रो काखमा आउन दिन्नन् म के गरु आमा ?

केही बोल्यो भने विदेशमा बसेर खुब गुड्डी हाँक्छ हिम्मत भए यहीँ आएर गरेर देखाए हुन्छ भन्छन् । यहाँ नि मेरो कुन गति छ र ? लकडाउन भन्या छ बिहान बेलुका टुकुचा होस या कालीमाटी माघेसक्रातिको रिडीको मेला जस्तै मेला लाग्छ यहाँ नि मेरो कुन गति छ र ? साँझ बिहानको छाक टार्न धौ धौ छ हिजो त नसकेर पशुपतिमा गई असहायका निम्ति तयार गरिएको खाना खाए गाँस टिपेर मुखमा राख्दा भक्कानिए र बलिन्द्रधारा आँसु झरे म जस्तो हृष्टपुष्टले यहाँ खाने हो र ? चाईनामा त सरकारले आफै घरको दैलो दैलोमा आवश्यक खाद्यान्न र औषधि पुर्याएको मैले मोबाईलमा देखेको थिएँ र म पनि त्यही आशमा बसे र भोकै परें। 

अझ कति दिनको कारावास हो पत्तो छैन। चाईनाले कोरोनामाथि विजय प्राप्त गरे जसरि हामीले पनि विजय प्राप्त गर्ने छौं होईन र आमा ? 

तिमी आफै भन न आमा हामी यस महामारीलाई कसरी जित्न सक्छौ जब हाम्रा मन्त्रीका श्रीमानले सुरक्षा कवच पाउँछन फोटो खिच्नका लागि जबकि डाक्टर, नर्स र अन्य कोरोना युद्धका योद्धाहरु बिना हातहतियार युद्ध मैदानमा छन् ?

टेस्टका रिपोर्टको पनि के भर गर्नु एउटाले पास एउटाले फेल गरिदिन्छ । अझ अचम्म त म यो रोगले मरे भने आफुपनि बाँच्दैनन् भन्ने यिनी द्वारेले जान्दा जान्दै पनि चाईनाबाट नक्कली सामान त्यसमापनि भ्रष्टाचार गरेर ल्याएको देख्दा कोरोनाले पनि नखोल्न सकेका यिनका आखा कस्ले खोली दिने होला ? आफु त बिग्रे बिग्रे आफ्नो आउने पुस्तालाई पनि ताल्चा खोल्न होईन फुटाउन सिकाउँदै छन् भन्ने सुन्दा दिकदार लागेको छ आमा ।

मैले नै रोजेर यिनलाई पाँच वर्षका लागि ताल्चा चाबी सुम्पेको हुँ उनैबाट यस्तो लुटको त मैले कहिलेपनि कल्पना गरेको थिईन । अघिल्ला द्वारपालहरु ठीक भएनन् भनेर कति आन्दोलन, विद्रोह, व्यवस्था परिवर्तन गरियो तर झन पछि झन आमा हजुरको सीमाना, मान प्रतिष्ठामा नै आँच आउने काम बढ्दै गयो । 

आज पनि आमा न तिमी खुशी छौ न म खुशी छु लौ भन अब के गर्ने हो ? मेरी आमा तिमी सबै कुराको साक्षी छौ यहाँ सुनलाई कसरी पित्तल बनाईन्छ, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कसरी नियन्त्रण गरिन्छ, बलात्कारीलाई जोगाईन्छ, सरकारी जग्गा किनबेच र फिर्ता गरिन्छ, संसदमा विधेयक टेबल र फिर्ता, भ्रष्टाचारीलाई कसरी चोख्याईन्छ र मलाई कसरी गलहत्याईन्छ। 

आमा विदेशीद्वारपालहरु त चिन्तित छन् आफ्ना नागरिक कसरी सुरक्षित राख्ने सकभर कोशिशमा जुटेका छन् हामीकहाँ त भाइ अंश लाउँदै छन् कसले कति पाउछ भनेर । 

एक किसिमको होड नै चलेको छ कि महाभ्रष्टको ताज कसले पहिरने भनेर । आमा म सधैं तिम्रो मान राख्न तत्पर भए  हिमाल, पहाड, तराई सात प्रदेश र ७७ जिल्ला अनि सयौं म जस्ता थुङ्गा मिली बनेको आमा तिम्रो मुहार कति स्वच्छ र सुन्दर दखिन्छ माछापुच्छ्रे फेवातालमा देखिए सरि। म त अचम्ममा परेकी छु किन मलाई स्वयम्भूका आँखाले देखेनन् ।

र तिमीलाई खबर गरेनन् । पशुपतिनाथका त्यत्रा सिर र त्यस भित्रको दिमागले तिमीलाई मेरो बारेमा सोंच्न बाध्य गराएनन् । 

सगरमाथा जसको चुचुरोले विश्वको अवस्था देखि रहेको छ उसले पनि  म रोएको टुलुटुलु हेरेर बस्यो । पशुपति, स्वयम्भू , रामजानकी, लुम्बिनी, मुक्तिनाथ, हलेसी, कसैले पनि मलाई शरण दिएनन् । आमा यिनलाई मैले म नै सगरमाथा, मेचीमहाकाली, पशुपति, बुद्ध, दौरा सुरवाल, टोपी,चन्द्र सुर्य भएको तिकुने झणडा र वीर गोरखाली हुँ भनी विश्वलाई चिनाए तर आज यिनैले मलाई चिनेनन् मेरो पुकार सुनेन आमा ।

कोरोनाको चश्माले न हेर न आमा मलाई दोषी चश्मा मिल्काई मेरो अनुहार हेर न मेरो नाक, आँखा, कान, लवाई खवाई सबै तिमीसंग मिल्छ म तिम्रै सन्तान हुँ। 

अब त अस्ट्रेलिया सरकारले पनि मलाई जा भनि सक्यो सबैले आफ्ना सन्तानलाई लिन पुष्पक विमान पठाएका छन तिमी नि आउन मलाई लिन । आफ्ना द्वारेलाई भन न मेरो बाटो नछेक्न आमा म तिम्रै काखमा मर्न चाहन्छु एक चोटी मलाई चिनन एक चोटी मलाई सुनन। म मरे पनि मेरी आमा अमर रहुन् ।



नयाँ