arrow

शून्य समयको  म लाचार मानिस

एउटा हाच्छिउँ काफी छ

logo
जय प्रसाद शिवाकोटी,
प्रकाशित २०७६ चैत २७ बिहिबार
jay-prasad-shiwakoti.gif

विज्ञानमा एक्सिलरेसनको सामान्य सिद्धान्त प्रतिपादन हुनु अगावै यसको अस्तित्व ब्रम्हाण्डमा कायम थियो । आदीकालदेखी प्रकृतीको कुनैपनि सिद्धान्त र नियमलाई न कसैले तोड्न सक्यो न जोड्न नै कसैले आँट गर्‍यो । प्रकृतीको धारसँग बग्न नजान्ने या नमान्ने जो कसैको पनि यस पृथ्वीमा अस्तित्व लोप भएर जान्छ । चाहे त्यो प्रागऐतिहासिक कालको बिशालकाय डायनासोर होस या एक कोषीय अमिवा। 

मैले पनि त्यसरी नै आफुलाई समाहित गर्नु थियो विज्ञानको सामान्य सिद्धान्त भन्दा एक माईक्रोमीटर पनि फरक नराखी आफुलाई त्यही गतिमा दौडाउनु थियो । दौडको गति समस्त पृथ्वीभर समान रहनु पर्ने हो तर अक्षांश र देशान्तर अनुसार त्यो गति पनि फरक पर्दोरहेछ । मलाई न गतिको वर्गीकरण गर्नु थियो न त मापन नै । पृथ्वीको जुन गोलार्द्धमा आफुलाई उभ्याएको थिएँ, त्यहींबाट त्यसैसँग समानुपातिक हुनेगरि गति लिनै पर्थ्यो, मात्र आफुलाई लोप हुनबाट बचाउन भनौ या आफ्नो अस्तित्व बचाईराख्न । सबै दौडिरहेको देखेर मैले पनि आफुलाई दौडाएँ । तरपनि सजिलो चाहिं थिएन । दौडको सुरुआती दिनहरुमा खुट्टा नठोक्किएका र हपहपी सास नफुलेको हैन तरपनि आफुलाई त्यो दौडको हरुवा बनाउनु थिएन । सुरुका दिनहरुमा आफ्नो अस्तित्व बचाई राख्न दौडे। अलिक पछि जित्नलाई दौडे। तर त्यसपछी किन दौडे आफैंलाई थाहा हुन छोड्यो । अब त शायद जिती पनि सकेको थिएँ होला या भनौं आफ्नो अस्तित्व वचाई राख्न सक्षम पनि भईसकेको थिएँ होला तर पनि म निरन्तर दौडिरहें । निरन्तर दिनहरुसँगै दौडें अनि रातहरुसँगै दौडें ।

हेर्थें, घडी दौडिरहेको हुन्थ्यो अनि म पनि त्यस सँगै दौडन्थें अब एकैछिन पनि म उसलाई नहेरी बस्न नसक्ने भइसकेको थिएँ, थाहा थिएन म खासमा अहिले चाहिं के को लागि दौडिरहेको छु तर पनि म निरन्तर दौडिरहेकै हुन्थें ।  यो मेरो दैनिकी बनिसकेको थियो,त्यसैले त म अब आफुले आफैंलाई रोक्न नसक्ने भईसकेको थिएँ । घडी मसँग थियो। म त्यसैसँग दौडन्थे मलाई। बाल मतलव थिएन पृथ्वी उल्टो घुमोस या सुल्टो।  अब त सबै बिर्सी पनि सकेको थिएँ, म को हुँ , मेरो उद्देश्य के हो । सँगै मेरा ईष्टमित्र, आफन्त र शुभचिन्तकहरु सबै सबै नै बिर्सिसकेको थिएँ । उनीहरुलाई फर्केर हेर्ने मसँग एक सेकेण्ड पनि समय थिएन। म त त्यो घडी जस्तै एउटा स्वचालित मेशीन भईसकेको थिएँ । बरु त्यो एक सेकेण्ड समयमा त म दौडेर त्यो घडीभन्दा अघि पुग्न खोज्थें । अब मलाई त्यो घडीको सेकेण्ड काँटा भन्दा एक सेकेण्ड अघि दौडनु थियो । ठूलो फड्को मारेर उ भन्दा अगाडि पाईला टेकीन लागेको के थियो झडङ् डङ् डङ् खै खसेर फुटेको आवाज आयो। हेरें, त्यो घडी पो झरेर चकनाचुर भएछ । बसेर हेरें । गालामा हात लगाएर घोत्लिएँ। जोडीन्छ कि भनेर हेरें। तर मैले त के अणुबम बनाउने बैज्ञानिक पनि ताजुब खाने गरी फुटेछ । सम्हालिंदै घुँडामा हातको सहारा लिएर उठें । कोही त छ बनाउने भनेर ग्लानी र आशा मिश्रित आँखाले छेवैको झ्यालबाट थोरै टाउको निकालेर बाहिर हेरें । बाहिर त झन भयावह अवस्था रहेछ । कति नै मै हुँ भन्नेहरुका भित्तैमा फलामका साङ्लाले बाँधेर राखेका घडीहरु पनि अस्तित्व नै समाप्त हुनेगरी फुटेछन् । 

घडीले पृथ्वी चलाउँथ्यो की पृथ्वीले घडी ।र घडी रोकिएपछि मानव अस्तित्व रोकिएको झै भएको छ। तर पृथ्वी चलिरहेको छ । हो साँच्चै यहाँ सबै दुरुस्तै चलिरहेको छ। पृथ्वी आफ्नै गतिमा घुमिरहेको छ। माछाहरु समुन्द्रमा खेलिरहेका छन् र चराहरु जङ्गलमा गाइरहेका छन् । मात्र रोकिएको छ त त्यही घडी बनाउने मान्छे कति बज्यो भन्ने थाहा नपाएर रोकिएको छ । चन्द्रमामा बस्ती बसाउने त्यही मान्छे लास गाड्ने ६ फुट जग्गा नपाएर रोकिएको छ । अणुबम बनाउने त्यही मान्छे स्यानीटाईजरले हात धुन नपाएर रोकिएको छ । जेट प्लेनबाट संसार फन्को मार्ने त्यही मान्छे घरको सानो कोठामा निसास्सिएर रोकिएको छ। हो साँच्चै आज उ अदृश्य छ र पनि चलायमान छ र हामी भएर पनि मृतःप्राय छौं । यहाँ दोश्रो विश्वयुद्धमा अणुबमले हिरोसिमा र नागासाकी चुर्ण पार्ने महाशक्ति अमेरिकालाई तर्साउन एउटै हाच्छिउ काफी छ । यस्तो लाग्छ हामी यो एउटा बिशाल कालखण्ड या युगमा हुने प्रलयलाई प्रत्यक्ष देख्ने अभागी साक्षी बन्दैछौ। 

आज हामी सबैलाई कुदाउने त्यो घडी मृतःप्राय छ। उ सधै झै हामीलाई कुदाउन उठ्न सक्नेवाला छैन । त्यसैले त आज हामी प्रशस्त फुर्सदिला छौं । हिजोको जस्तो साथीभाई आफन्त र टाढाका शुभचिन्तकहरुले उनीहरुको मायाले भरिएको सन्देश पठाउँदा कयचचथ क्ष् बm दगकथ बत तजष्क mयmभलत भनेर अटोमेटेड म्यासेज पठाउनु परेको छैन । यति फुर्सदिला भएका छौं कि हामीले आफ्नै मृत्युलाई धेरै नजीकबाट नियाल्ने मौका पाएका छौं । सयौं लासहरु यत्रतत्र छरिएका छन्। आफुलाई ठिक्क हुने कफीन नाप्न पाएका छौं । साँच्चै भन्ने हो भने आज हामी आदिम युगका आदिमानव जस्ता फुर्सदिला भएका छौं, बस खाना खोजीको लागि समय चाहिएको छ। हिजो भएको त्यो रेसबाट कोही अछुतो थिएन। त्यो रेसको हिस्सामा म पनि सहभागी थिएँ । तर त्यो घडी फुटेको दिन देखी म पनि फुर्सदमा छु । हिजो आफ्नो लागि एक सेकेण्ड समय ननिकाली घडीलाई जित्न कुद्ने म आज नीब भाँचिएर मसी सुकेको कलम जसरी एउटा घर रुपी टोकरीमा थन्किएको छु । 

अब मलाई दिनको शुरुवात गर्न अलार्म लगाईराख्नु पर्ने जरुरत छैन । बस सुत्छु,उठ्छु अनी फेरी सुत्छु, घोप्टो परेर सुत्छु, उत्तानो परेर सुत्छु । भएको र जाने जति सबै आसन फेर्दै सुत्छु । त्यति बेला सोच्थें यो घडी भन्दा एक सेकेण्ड अघी जाने र त्यसलाई जित्ने हो भने समयलाई म आफ्नो बशमा राखेर मैले भने जसरी चलाउँथें र थोरै पनि समय निकाल्न पाएँ भने म एक्लै यो पृथ्वी बोकेर दौडन्थे । तर आज मसँग सुत्दा पनि पट्यार लाग्ने समय छ र पनि म लाचार छु। सिङ्गो पृथ्वी त के ओछ्यानमा पल्टिएको जिन्दगी उठाउन निकैबेर तङ्ग्राउनु पर्छ । जे होस जिन्दगीलाई पछाडी फर्केर हेर्ने मौका पाएको छु । खोजी खोजी आफन्त देखी पराई र पराईका पनि आफन्तसँग सामाजिक संजालमा जोडिने मौका पाएको छु । अस्ति आफुले जवाफ नफर्काएका आफन्तहरु टेढिई सकेका छन् उनीहरुलाई फकाउँदैछु । पराईहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाई दिनभरी लगाएर आफ्नो परिचय बाँड्दैछु र पराईका आफन्तहरुलाई त्यही पराईको नाम भँजाएर गफमा जोत्दैछु । पृथ्वी नै बोकेर नघुमेपनि दिनचर्यालाई सहज बनाउने प्रयास गर्दैछु ।  

(सामाजिक क्रियाकलापहरुमा रुची राख्ने र पेसाले पारामेडिक लेखक शिवाकोटी युरोपका स्थायी बासीन्दा हुन। पश्चिमा व्यस्त दैनिकी र त्यसले मानव जीवनमा ल्याएको एक्लोपनलाइ चित्रण गर्दै तयार पारिएको यो लेख तयार पार्न किशोर रिजालले सहयोग गरेका छन्। )



नयाँ