अध्यक्ष जालिमका बिरुद्ध भारतीय मिडियामा दुष्प्रचार भएको गाउँपालिकाको ठहर
भारतीय दुतावाससँग खेद प्रकट गर्न सरकारसँग माग
प्रकाशित २०७६ चैत २८ शुक्रबार
947
Shares
बिरगञ्ज। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया कोरोना संक्रमण फैलाउने संदिग्ध गतिविधीमा संलग्न रहेको भन्दै भारतीय सुरक्षा निकायको पत्रलाई उदृत गर्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेको विषयलाई गाउँपालिकाले तथ्यहिन आरोप भन्दै खण्डन गरेको छ। भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ सो बिषयमा समाचार प्रसारण गरेपछि भारत र नेपालमा यसले हलचल नै ल्याएको छ।
मुखियालाई कोरोनाले ग्रसित व्यक्तिहलाई भारत पठाउन तयारी गरेको आरोप लागेको छ। जगरनाथपुर गाउँपालिकाले प्रेस वक्तव्य जारि गर्दै भारतीय संचार माध्यमहरुमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मन्सुरीको नाम जोडी कोरोना संक्रमण फैलाउने योजना बनाउने भनि दुस्प्रचार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको बताएको छ।
भारतीय संचार माध्यमहरुले बिना कुनै प्रमाण नेपाली नागरिकको चरित्रहत्या गर्नु गैर जिम्मेवार कार्य भएको वक्तव्यमा भनिएको छ। मित्रराष्ट्र भारतको राष्ट्रियस्तरका संचार माध्यमहरुले अपुष्ट तथ्यका आधारमा लान्छना लगाउनु एकदमै निन्दनीय कार्य भएको गाउँपालिकाको वक्तव्यमा छ। नेपाली निर्वाचित जनप्रतिनिधिको चरित्र हत्याको कार्य गरेको सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले तुरुन्त नेपालस्थित भारतीय दुतावाससँग खेद प्रकट गरोस् भनेर जोडदार माग गर्दछौं वकतव्यमा भनिएको छ।
अध्यक्ष जालिमले फेसबुक पेजमा भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या गर्न खोजिएको बताए।‚ ‘मित्र राष्ट्र भारतसँग बेटी रोटीको सम्बन्ध छ। कोरोना रोकथाममा आफ्नो पनि साथ सहयोग रहेकाले यस्तो कुरा सोच्न पनि सकिदैन।’ उनले भने ‘म एक राजनीतिक मान्छे हुँ। यस्तो बेलामा समेत अफवाह फैलाएर भारतले मेरो राजनीतिक चरित्र हत्या गरेको छ। यसरी राजनीतिक चरित्र हत्या गर्ने विरुद्ध प्रहरी, प्रशासन र गृहमन्त्रालयसम्म पुग्छु। अफवाह फैलाउने व्यक्ति पहिचान गरेर कानूनी दायरामा ल्याएरै छाड्छु।’