- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर। पाँचथरका कृषकले लगाएको मकैवालीमा फौजी किराको आतंक सुरु भएपछि कृषकहरु चिन्तित भएका छन्। जिल्लाको कुम्मायक, फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिकाका किसानले लगाएको मकै बालीमा यो किराको प्रकोप देखा परेको हो। किराको प्रकोपबाट मकै बारीमै मर्न थालेपछि किसान चिन्तित भएका हुन्।
गत बर्ष फौजी किराको प्रकोपले मकै उत्पादनमा ठुलो क्षति पुर्याएको थियो। अमेरिकन जातका मिचाह फौजी किराले छोटो समयमा ठुलो क्षति पुर्याएपछि नियन्त्रणमा चुनौती देखिएको छ। बारीमा गोड्ने अवस्थाका मकै फौजी किराले मार्न थालेको कुम्मायक गाउँपालिका-५ का अगुवा कृषक महेन्द्रबहादुर खड्काले बताए।
गत वर्ष दुबै गाउँपालिकामा खडेरी र फौजी किराको प्रकोपका कारण आधा उत्पादन घटेको थियो। मकै र बदामको बिउनै मासिएपछि गाउँपालिकाले मकै र बदामको बिउ बितरण गर्दै आएको छ।
यो वर्ष पनि मकै बालीमा किराको प्रकोप देखा पर्न थालेको कुम्मायक-३ का वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताए। किराले मकैको पात र गुबो खाएर मार्ने गरेको छ।
अहिले स्थानीयतहहरुले नै यसको रोकथामको प्रयास स्वरुप कृषकलाई विषादी वितरण गर्न थालिसकेको र आफूहरुले पनि कृषकहरुलाई प्राविधिक र आवश्यक परामर्श दिइरहेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए।